खोटाङमा ऐतिहासिक राष्ट्रिय कराते प्रतियोगिताको तयारी



रामधन राई, खोटाङ ।
खोटाङमा जिल्लाकै ऐतिहासिक राष्ट्रिय कराते प्रतियोगिताको तयारी गरिएको छ । जिल्लाकै इतिहासमा पहिलो पटक केपीलासगढी गाउँपालिकामा ‘प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगीता’ को तयारी गरिएको हो ।
गाउँपालिकाको केन्द्रस्थित नेपाल सितोरियो कराते संघ बाक्सिला डोजोले गाउँपालिकाको सहकार्यमा मंसिर २६ र २७ गते ऐतिहासिक प्रतियोगिता गर्ने जनाएको छ । संघले बुधबार सदरमुकाम दिक्तेलको संगमपार्कस्थित ईन्द्रेणी होटलमा पत्रकार सम्मेलन गरेर केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा दुई दिवसिय आमन्त्रित राष्ट्रिय कराते प्रतियोगीताको तयारी गरेको जानकारी दिईएको हो ।
कराते खेललाई जिल्लाको गौरबको आयोजना बनाउने मुख्य उदेश्यका साथ आयोजना तयारी गरिएको प्रतियोगिताको बिजेतालाईनगद पुरस्कारको समेत ब्यवस्था गरिएकोले प्रतियोगिताको फरक महत्व रहेको नेपाल सितोरियो कराते संघका जिल्ला अध्यक्ष सञ्जयकुमार राईको भनाई छ । राईको अनुसार हालसम्म कराते प्रतियोगिताका बिजेतालाई नगद पुरस्कारको ब्यवस्था गर्ने गरिएको छैन ।
उक्त प्रतियोगिताबाट प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद ५० हजार, दोश्रो हुने टिमलाई ३० हजार र तेश्रो हुने टिमलाई २० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी गराईएको छ । १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि विभिन्न तौल समुहमा महिला÷पुरुष कुमिते तथा महिला÷पुरुष एकल काँतातर्फ २ सय ४ जना खेलाडीले प्रतिष्पर्धा गर्ने सितोरियो कराते बाक्सिला डोजोका प्रशिक्षक देउधन राईले बताउनुभयो । प्रतियोगितामा कास्की, सोलुखुम्बु, उदयपुर, ओखलढुंगा, सिराहा, ते¥हथुम, संखुवासभा, कैलाली, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ र आयोजक गरी १२ टिमले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।
बालबालिकालाई सैद्घान्तिक मात्र नभईब्यवहारिक शिक्षाको बिकास गर्न, खोटाङे माटोबाट उत्पादित कराते खेलाडीहरुद्वारा आगामी १५ बर्षभित्रमा ओलम्पिक खेलबाट पदक भित्र्याउन तयार बनाउने, जिल्लालाई खेलकूदको माध्यमबाट राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने लगायत प्रतियोगिताको उदेश्य राखिएको छ । करातेका संस्थापक थानेश्वर राई जन्मेको जिल्लामा आयोजना हुन लागेको कराते प्रतियोगितालाई भब्य रुपले सफल बनाउन सबै पक्षको सहयोग चाहिएको आयोजकले जनाएको छ ।
साँढे नौ लाखको खर्चमा आयोजना तयारी गरिएको प्रतियोगिता सञ्चालनको लागि गाउँपालिका तथा दाताहरुबाट रकम संकलन गर्न शुरु गरिएको छ ।
यस अघि, सितोरियो कराते संघ जिल्ला कार्य समितिको पहलमा ऐतिहासिक रुपमा अन्र्तराष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्