इन्ट्याग्रिटी आइडल उत्कृष्ट पाँचको नाम सार्वजनिक



नेपाल समाचारपत्र
काठमाडौं
इन्ट्याग्रिटी आइडलको चौथो संस्करण इन्ट्याग्रिटी आइडल नेपाल–२०१७ का उत्कृष्ट पाँचको नाम सार्वजनिक भएको छ। यस वर्षको उत्कृष्ट पाँचमा जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग बबरमहलका सहायक वन अधिकृतको रूपमा कार्यरत सबनम पाठक, पञ्चदेव मावि, मान्म कालिकोटका गणित शिक्षक सबराज बम, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी रहेका छन्।

मनोनयनमा परेकामध्ये उत्कृष्ट पाँच जनाको नाम चयन गर्नका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका भूतपूर्व प्रमुखआयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समितिमा पूर्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधीमन्त्री गणेश शाह रहनुभएको थियो।

जनताप्रति सरकारी कर्मचारीलाई जवाफदेही बनाउने उद्देश्यले सन् २०१४ देखि इन्ट्याग्रिटी आइडलको शुरूआत गरिएको थियो। सन् २०१४ मा पाँचथरका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटी आइडल हुनुभएको थियो भने सन् २०१५ मा गुल्मीका तात्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल विजेता हुनुभएको थियो। त्यसै गरी सन् २०१६ को विजेता सिद्धबाबा मावि गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीस हुनुहुन्थ्यो। नेपालबाट शुरू भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा, लाइबेरिया, पाकिस्तान, माली, नाइजेरिया र दक्षिण अफ्रिकालगायतका देशमा विस्तार भइसकेको छ।

अन्तिम पाँचको छनोटपछि एसएमएस र वेबसाइटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रिटी आइडल २०१७ को छनोट गरिनेछ। एसएमएस र वेबसाइटबाट भोटिङका लागि उत्कृष्ट पाँच जनालाई बेग्लाबेग्लै भोटिङ कोड निर्धारण गरिएको छ।

सिंगो संयन्त्रभित्र रहेर काम गर्ने अन्य राष्ट्रसेवक कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण जवाफदेही बनाउनुका साथै नागरिक र सरकारबीचको सम्बन्ध विश्वसनीय, सकारात्मक र पारदर्शी बनाउने उद्देश्यका साथ यस अभियानको थालनी गरिएको आयोजक संस्था एकाउन्टबिलिटी ल्याबका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्