मतपेटिकामा एसिड हाल्न खोज्ने माओबादी केन्द्रका नेता



धनवीर दाहाल, रुकुम । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको क्रममा आठविसकोट नगरपालिका–३ को मतदानकेन्द्र हिमालय मावि खदीको मतपेटिकामा एसिड हाल्न खोज्ने महिला रुपा विक सोही वडाकी माओबादी केन्द्रको तर्फबाट निर्वाचित वडा सदस्य रहेको पुष्टी भएको छ । नेकपा माओवादी केन्द्रबाट आठविसकोट नगरपालिका प्रमुखमा निर्वाचित गोर्खबहादुर केसीले रुपा निर्वाचित वडा सदस्य रहेको पुष्टि गर्नूभएको छ । वडा सदस्य बि.कलाई कसैले उक्साएको के.सीको दावी छ । पक्राउ परेकी महिला जनप्रतिनिधि रहेको हल्ला सुनिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । रुपालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा पुर्याएर अनुसन्धान भइरहेको पनि धमलाले बताउनुभयो ।
प्रहरी नायव उपरिक्षक धमलाका अनुसार मतपेटिकामा खसाउन थालेको मतपत्र उनको हातमै जलेको अवस्थामा प्रहरीले देखेको थियो । मतदान अधिकृत तथा कर्मचारीहरुबाट सबै प्रक्रिया पूरा गरेर मतपत्रमै एसिड राखी सोही मत पत्र मतपेटिकामा खसाउने प्रयास प्रहरीले सफल हुन नदिएको उहाँले बताउनुभयो । यस्तै बाँफिकोट गाउँपालिका–५, को रत्न आधारभुत विद्यालयका क मतदान केन्द्रको प्रतिनिधि सभा तर्फको मतपेटिकामा र आठविसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गतसैनाको ख मतदान केन्द्रको समानुपातिक तर्फको मतपेटिकामा पनि एसिड हालेकै कारण त्यस भित्रका मतपत्र जलेका थिए ।
ति मतदान केन्द्रमा फेरी मतदान हुने भएको छ । दुवै मतपेटिकामा एसिड हालेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बाँफिकोटको मतपेटिका एसिड हालेको आशंकामा सोही ठाउँकी कल्पना केसी र आठविसकोटको मतपेटिकामा एसिड हालेको भन्दै सोही चुनावमा खटिएका कांग्रेसका प्रतिनिधि केशव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई पनि अनुसन्धान भइरहेको र अनुसन्धानपछि दोषी ठहरिए कानुन अनुसार कार्वाही हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्