दक्षिण अफ्रिकी सुन्दरी डेमी नयाँ ब्रह्माण्ड सुन्दरी



दक्षिण अफ्रिकी मोडल डेमी ले नेल पिटर्सले मिस युनिभर्स २०१७ को ताज चुमेकी छिन्। अमेरिकाको लस भेगसमा आइतबार राति सम्पन्न ब्रह्माण्ड सुन्दरी प्रतियोगितामा संसारभरका करिब ९२ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।

६६औं मिस युनिभर्स विजेता डेमी ले नेल पिटर्स दक्षिण अफ्रिकाबाट मिस युनिभर्सको उपाधि जित्ने दोस्रो सुन्दरी भएकी छिन्। यसअघि सन् १९७८ मा मार्गरेट गार्डिनर मिस युनिभर्स भएकी थिइन्। नर्थ वेस्ट युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेसनमा डिग्री हासिल गरेकी २२ वर्षीया डेमी मिस साउथ अफ्रिका २०१७ की विजेतासमेत हुन्।

स्पर्धाका क्रममा मिस युनिभर्स डेमीले आफ्नो प्रेरणको स्वरूप सौतेनी बहिनी भएको बताइन्, जो शारीरिकरूपमा अशक्त छिन्। फुर्सदको समयमा महिलालाई कसरी आफ्नो आत्मरक्षा गर्ने भनेर सिकाउने गरेको उनले बताइन्। ‘केही वर्षअघि मात्र मलाई एक जनाले बन्दुक देखाएर धम्काएको थियो र त्यति नै बेला म आत्मरक्षालाई लिएर सजग भएको थिएँ’ –आफ्नो अनुभव शेयर गर्दै मिस युनिभर्सले भनिन्।

प्रतियोगिताको निर्णायक प्रश्नमा ‘तपाईंलाई आफ्नो कस्तो प्रकारको विशेषतामा गर्व छ र मिस युनिभर्स भएको खण्डमा त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ?’ भनेर सोधिएको थियो। प्रतिउत्तरमा उनले भनिन्– ‘मिस युनिभर्स भएको खण्डमा तपार्इं जस्तो हुनुहुन्छ, व्यक्तिगतरूपमा आफैंमा आत्मविश्वास हुनु जरुरी छ। मिस युनिभर्स त्यो महिला हो, जसले अनेक कठिन परीक्षा पार गरेकी हुन्छिन्। जसका कारण अरूको मद्दत गर्न सक्षम हुन्छिन् र म त्यही मिस युनिभर्स हुँ।’

प्रतियोगितामा मिस कोलम्बिया लौरा गोन्जालेज फस्ट रनर्सअप र मिस जमैका डभिना बेनेट सेकेन्ड रनर्सअप भए। प्रतियोगितामा थाइल्यान्ड, श्रीलंका, घाना, स्पेन, आयरल्यान्ड, क्रोयसिया, ग्रेट ब्रिटेन, युएसए, ब्राजिल, क्यानडा, फिलिपिन्स, भेनेजुएला र चीनका सुन्दरी क्रमशः अन्तिम १३ मा स्थान बनाउन सफल भए। मिस युनिभर्स २०१७ मा यो वर्ष तीन देशले डेब्यु गरेका थिए। नेपालबाट नगमा श्रेष्ठ, लाओसबाट सोफैफोन सोमविच्थ र कम्बोडियाबाट सोथेरी पहिलोपटक आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै मिस युनिभर्समा सहभागी भएका हुन्। यी ३ सुन्दरीले अन्तिम १६ मा स्थान बनाउन नसके पनि पहिलोपटक देशको प्रतिनिधित्व गर्दै इतिहास रचे। २६ वर्षीया नगमा श्रेष्ठ मिस युनिभर्स नेपाल २०१७ की विजेता पनि हुन्।

एसियाकै अर्काे देश भारतको कुरा गर्ने हो भने यो वर्ष २१ वर्षीया श्रद्धा शशिधरले प्रतियोगितामा भाग लिएकी थिइन्। यसपटक उनी पनि शीर्ष १६ मा पर्न सकिनन्। यद्दपि यसअघि सन् १९९४ मा सुस्मिता सेन र सन् २००० मा लारा दत्तले यो उपलब्धि हासिल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्