आचार संहिताविपरीतका प्रचार सामग्री हटाइयो



????????????????????????????????????

कुमार श्रेष्ठ, बाँके
जनीतिक दलले चुनाव प्रचारप्रसारका लागि सडकमा टाँगिएका प्रचार सामग्री प्रमुख निर्वाचन अधिकृतको कार्यालयले प्रहरीको सहयोगमा हटाएको छ।

आचार संहिताविपरीतका प्रचार सामग्री तीन दिनभित्र हटाउने दलहरूले सहमति गरे पनि पालना नभएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार प्रहरीको सहयोगमा त्यस्ता सामग्री हटाएको हो। जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदी, प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रहरीका प्रमुखहरूको उपस्थितिमै सडकमा छ्याप्छ्याप्ती टाँगिएका चुनाव चिह्नको तोरण, फ्लेक्स, होडिङबोर्ड हटाइएको छ।

टोलीले जमुनाहादेखि सुर्खेतरोड र सदरलाइनमा टाँगिएका प्रचार सामग्री हटाएको छ। मुख्य निर्वाचन अधिकृत सुवेदीले आचार संहिताविपरीतका प्रचार सामग्री हटाउने अभियानमा निस्केको बताउनुभयो। ‘हामीले हटाइरहेका छौं। कति हटे त्यसको अनुगमन पनि भइरहेको छ’, मुख्य निर्वाचन अधिकृत सुवेदीले भन्नुभयो– ‘सबै हटाउँछौं।’

भोट माग्नेसँगै प्रचार सामग्री सार्वजनिकस्थलमा टाँस्ने प्रतिस्पर्धाले गर्दा केही दिन यता गाउँ, शहर रंगिएका छन्। नेपालगन्जको सुर्खेतरोड, सदरलाइन, एक्लैनी बजार चुनाव चिह्नको तोरणले रंगिएको थियो। चोकचोकमा मात्रै नभएर पोल–पोलमा तोरण लगाइएका छन्। सबै ठाउँका प्रचार सामग्री हटाउने अभियानमा टोली निस्केको छ।
निर्वाचन आयोगले चुनाव चिह्न अंकित टीसर्ट, टोपी लगाउन प्रतिबन्ध लगाएपछि राजनीतिक दलहरूले फ्लेक्स बोर्ड, तोरण, स्टीकर, पर्चा, पम्प्लेट छ्याप्छ्याप्ती गराएका थिए। सार्वजनिकस्थलमा प्रचार सामग्री टाँस्ने एकप्रकारको होडबाजी सिधिएको छ। मुख्य सडकका साथै भित्रीसडक र गाउँतिर पनि टोली पुग्ने सम्बद्धहरू बताउँछन्।
यसैबीच, बाँकेमा उम्मेदवारहरू आफ्ना प्रतिबद्धता लिएर जनताका घरदैलोमा मत माग्न पुगेका छन्। कतिपय उम्मेदवारले पहिलो चरणको घरदैलो सिध्याएका छन्। घरदैलो सिध्याएका उम्मेदवारहरू व्यक्तिगत भेटघाटमा निस्किन थालेका छन्। वामगठबन्धन क्षेत्र नं. २ ले नेपालगन्जमा घरदैलो सम्पन्न गरेको छ। कात्तिक २८ गते वडा नं. २ बाट शुरू भएको घरदैलो सोमबार वडा नं. १ मा पुगेर समापन भएको छ। अन्य दल र अन्य ठाउँमा पनि घरदैलो र भेटघाट चलिरहेको छ।
चुनाव नजिकिँदै जाँदा घरदैलो र समाजमा प्रभाव पार्ने व्यक्तिका साथमा उम्मेदवारहरू मतदाताका घर–घरमा पुगेका छन्। पहिलो चरणको प्रचारप्रसार सकिएका र अन्तिम चरणमा पुगेका उम्मेदवार तथा दलहरू दोस्रो चरणको रणनीति बनाउन व्यस्त रहेका छन्। बाँकेमा वाम र लोकतान्त्रिक गठबन्धन आ–आफ्नै दाबीका साथ अगाडि बढेका छन्।

प्रतिक्रिया दिनुहोस्