पाँच प्रतिशतले धान उत्पादन बढ्ने



रविन भट्टराई⁄ताप्लेजुङ

जिल्लामा यस वर्ष धान उत्पादन पाँच प्रतिशतले वृद्धि हुने भएको छ। धान रोप्ने समयमा पर्याप्त वर्षा भएको र रोग किराको प्रकोप नदेखिएकाले गत वर्षभन्दा पाँच प्रतिशतले वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ।

धान लगाउन असार साउनको समयमा पर्याप्त पानी परेकाले जिल्लाका कृषकले धेरै स्थानमा धान खेती गरेको हुँदा यस वर्ष जिल्लामा २२ हजार ४ सय २४ मेट्रिक टन धान उत्पादन हुने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख नरेशचन्द्र घिमिरेले बताउनुभयो।
यस वर्ष ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको उहाँले जानकारी दिनुभयो।

अघिल्ला वर्षमा धान रोप्ने समयमा पानी नपर्दा थोरै क्षेत्रफलमा मात्र धान खेती हुँदै आएको थियो भने असिना र रोग किराको संक्रमण पनि बढी हुने हँुदा धान उत्पादनमा कमि आउने गरेकोमा यो वर्ष यस्तो समस्या नभएको घिमिरेको भनाइ छ।

यस वर्ष धान उत्पादनमा वृद्धि भए पनि जिल्लामानै उत्पादित धानले जिल्लाको मागलाई भने धान्न नसक्ने कार्यालयको भनाइ रहेको छ। ताप्लेजुङ हिमाली जिल्ला भएको र सबै क्षेत्रमा धान खेती नहुने हुँदा यस वर्ष पनि करिब पाँच मेट्रिक्टन धान आयात गर्नुपर्ने सम्भावना रहेको प्रमुखको भनाइ छ।

ताप्लेजुङको नगरपालिकासहित नाङ्खोल्याङ, थेचम्बु, हाङ्पाङ, चाँगे, खोक्लिङ, फुलबारी, सिनाम, हाङ्देवा, फुरुम्बुलगायत स्थानलाई धान उत्पादनका लागि पकेट क्षेत्र मानिदै आएको छ।

यी क्षेत्रमा उत्पादित धानले जिल्लाको ६० प्रतिशत माग धान्दै आएको छ। अन्य स्थानमा पनि केही प्रतिशत धान उत्पादन हुने भए पनि पछिल्लो समय अलैंची खेतीबाट राम्रो आम्दानी हुने देखेका कृषकले धान खेती मासेर अलैंची खेती गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्