६ प्रतिनिधिका लागि ५२ उम्मेदवार



अनिल खत्री, गुल्मी

मंसिरमा २१ हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनका लागि गुल्मीबाट ६ जना निर्वाचित प्रतिनिधिका लागि ५२ जना उम्मेदवार बनेको गुल्मीका मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए। २ निर्वाचन क्षेत्र र ४ प्रदेशसभा क्षेत्र रहेका छन्। जिल्लाबाट ७ राजनीतिक दलबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार बनेका छन्। क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि ११ जनाको उम्मेदवारी रहेको छ। जसमध्ये ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सोही क्षेत्रबाट प्रदेशसभा क्षेत्र नम्बर १ बाट ९ जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये ३ जनाको स्वतन्त्र उम्मेदवारी रहेको छ। प्रदेशसभा क्षेत्र नम्बर २ बाट ७ जनाको उम्मेदवारी रहेको छ। जसमध्ये २ जना स्वतन्त्र उम्मेदवार बनेका छन्। निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ ९ जनाको उम्मेदवारी रहेको छ। जसमध्ये ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। सोही क्षेत्रबाट प्रदेशसभा क्षेत्र नम्बर १ बाट ८ जना उम्मेदवार बनेका छन्। जसमध्ये ३ जना स्वतन्त्र उम्मेदवार बनेका छन्।

प्रदेशसभा क्षेत्र नम्बर २ बाट ८ जना उम्मेदवार बनेका छन्। जसमध्ये २ जना स्वतन्त्र उम्मेदवार बनेका छन्। जिल्लामा कुनै पनि दलका बागी उम्मेदवारको रूपमा छैनन्। अन्य स्वतन्त्रबाट उम्मेदवार बनेका पनि कुनै दललाई प्रभाव पार्दैनन्।

जिल्लामा मुख्य गरी वाम गठबन्धन र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। जिल्लामा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार प्रदिप ज्ञवालीसँग कांग्रेसबाट चन्द्र भण्डारी क्षेत्र नम्बर २ मा गोकर्ण विष्टसँग कांग्रेसबाट चन्द्र केसीबीच प्रतिस्पर्धा हुँदै छ।

झण्डै २ लाख मतदाता
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुल्मीमा झण्डै २ लाख मतदाता रहेका छन्। जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा १ लाख ९६ हजार ३ सय ३७ कुल मतदाता रहेका छन्। जसमध्ये महिला १ लाख १ हजार ६ सय ६१ पुरुष ९४ हजार ५ सय ७५ र १ जना तेस्रो लिङी रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी कृष्ण पन्थीले जानकारी दिए। जिल्लामा महिला मतदाताहरूको संख्या बढी रहेको छ।

पुरुष मतदाताभन्दा झण्डै ७ हजार महिला मतदाता बढी रहेका छन्। जिल्लामा ६ हजार ९ सय ८६ महिला मतदाता बढी रहेका छन्। रोजगारीको सिलसिलामा नेपालबाहिर पुरुष रहेकाले पनि महिला मतदाताभन्दा पुरुष मतदाता कम रहेका छन्। प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा १ लाख ५ हजार ४ सय २३ जना जम्मा मतदाता रहेका छन्।

कुल मतदातामध्ये महिला ५५ हजार ५ सय ७३ जना र पुरुष ४९ हजार ८ सय ५० जना रहेका छन्। क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १४ जना जम्मा मतदाता हरेका छन्। जसमध्ये महिला ४६ हजार ८८ जना, पुरुष ४४ हजार ८ सय २५ जना र तेस्रो लि·ी १ जना रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा ५१ हजार ५ सय ३८ जना रहेका छन्। कुल मतदातामध्ये महिला २७ हजार ४२ जना र पुरुष २४ हजार ४ सय ९६ जना रहेका छन्। प्रदेशसभाअन्र्तगत क्षेत्र नम्बर २ मा ५३ हजार ८ सय ८५ जना जम्मा मतदाता रहेका छन्।

कुलमध्ये महिला २८ हजार ५ सय ३१ जना र पुरुष २५ हजार ३ सय ५४ जना रहेका छन्। प्रदेशसभा क्षेत्र नम्बर ३ मा ४४ हजार ७ सय ७६ जना जम्मा मतदाता हरेका छन्। जसमध्ये महिला २३ हजार २ सय १५ जना र पुरुष २१ हजार ५ सय ६१ जना रहेका छन्। प्रदेशसभा क्षेत्र नम्बर ४ मा ४६ हजार १ सय ३८ जना जम्म मतदाता रहेका छन्। कुलमध्ये महिला २२ हजार ८ सय ७३ जना र पुरुष २३ हजार २ सय ६४ जना रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय गुल्मीले विभिन्न तालिमसँगै मतदाता शिक्षा कार्यक्रमहरू गर्ने तयारी गरेको जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए।

१ सय ३८ मतदान स्थल कायम
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मीमा १ सय ३८ मतदानस्थल रहने भएका छन्। जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गता स्थानीय तह निर्वाचनमा कायम भएका मतदान स्थललाई कायम गरिएको जिल्ला निर्वाचन अधिकृत गुल्मीका प्रमुख गणेशबहादुर खत्रीले जानकारी दिए। २ वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा जिल्लाभर २ सय ५१ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा २ सय ४० वटा मतदान केन्द्र कायम थिए। मतदाता संख्याको आधारमा ११ वटा केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकृत खत्रीले जानकारी दिए।

प्रत्येक मतदान केन्द्रमा करिब १ हजारभन्दा बढी मतदाता भए अर्को केन्द्र थपिने व्यवस्था रहेको छ। मतदाताहरू थप भएसँगै केन्द्र थपिएको अधिकृत खत्रीले बताए। निर्वाचन शिक्षा प्रभावकारी बनाउन जिल्लामा २ सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकहरू सिफारिस गर्ने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चारजगत्, नागरिक समाज, राजनैतिक दलहरूले सहयोग गर्न आग्रह गरेको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले मंसिर २१ मा हुने निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न सबैपक्षले सहयोग गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्