३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदान सुरु



काठमाडौं । पहिलो चरण अन्तर्गत आज आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव सुरु भएको छ ।

मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नङमा लगाउने मसीलगायत ६४ प्रकारका सामान मतदान स्थलमा पुर्‍याइसकिएको र बिहान सातबजेदेखि मतदान सुरु भएको आयोगले जनाएको छ ।

आयोगले हरेक मतदान केन्द्रमा ९ देखि १२ जना कर्मचारी खटाएको छ । २ सय ५० जना मतदाता भएको केन्द्रमा ९ जना, ५ सय सम्म मतदाता भएको केन्द्रमा १० जना र ५ सय भन्दा बढी मतदाता भएको केन्द्रमा १२ जनाका दरले कर्मचारी खटाइएको छ ।

पहिलो चरणमा चुनाव हुने क्षेत्रमा प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्रमा २ सय ८२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश नम्बर १ मा ६२ जना, ३ मा ९७ जना, ४ मा ५० जना, ५ मा १४ जना, ६ मा ३९ जना र प्रदेश नम्बर ७ मा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेशसभाका लागि ७२ निर्वाचन क्षेत्रमा ४ सय २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । पहिलो चरणमा चुनाव हुने क्षेत्रमा ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदाता रहेको आयोगले जनाएको छ । २ हजार ९ सय १९ मतदानस्थलमा ४ हजार ४ सय ६५ मतदान केन्द्र रहेका छन् ।
कुन प्रदेशमा कति मतदाता ?

प्रदेश नम्बर– १

पहिलो चरणमा प्रदेश नम्बर एकका सातवटा जिल्लामा चुनाव हुँदैछ । पहिलो चरण अन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, पाँचथर र संखुवासभामा चुनाव हुँदैछ ।

यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एकरएक वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभाका लागि दुई/दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । दोश्रो चरणमा आउँदो २१ गते सात जिल्लाका २१ वटा निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।

प्रदेश नम्बर एकमा २९ लाख ९३ हजार ७ सय ७४ जना मतदाता छन् । यसमध्य पहिलो चरणमा चुनाव हुने क्षेत्रमा ७ लाख १९ हजार १ सय ७६ जना मतदाता रहेका छन् । दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा २२ लाख ७४ हजार ५ सय ९८ जना मतदाता छन् । प्रदेश नम्बर एकका १ हजार ८ सय ६१ वटा मतदान स्थलमा ३ हजार ७ सय ४३ वटा मतदान केन्द्र रहेका छन् । यी मध्ये ६ सय ९६ मतदानस्थलका १ हजार २५ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुन लागेको हो ।

प्रदेश नम्बर–३

प्रदेश नम्बर तीनका छ वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । प्रदेश तीनका १३ जिल्लामा ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ९ वटा निर्वाचन क्षेत्रमा पहिलो चरण चुनाव हुँदैछ ।

प्रतिनिधिसभाका लागि नुवाकोट, धादिङ र सिन्धुपाल्चोकमा दुईरदुई वटा निर्वाचन क्षेत्र रहेका छन् । रसुवा, दोलखा र रामेछापमा प्रतिनिधिसभाका लागि एक/एक वटा निर्वाचन क्षेत्र छन् ।

यो प्रदेशमा जम्मा ३० लाख ७४ हजार ३ सय ८४ मतदाता रहेका छन् । यी मध्ये पहिलो चरणमा १० लाख १ हजार ४० मतदाता छन् । २० लाख ७३ हजार ३ सय ८४ जना मतदाता दोश्रो चरणमा चुनाव हुने क्षेत्रका हुन् । प्रदेश तीनमा १ हजार ७ सय ८० वटा मतदान स्थलमा ३ हजार ७ सय ८५ वटा मतदान केन्द्र छन् । यीमध्ये ६ सय मतदान स्थलका १ हजार २ सय ४६ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।

प्रदेश नम्बर–४

प्रदेश नम्बर चारका ६ वटा जिल्लामा चुनाव भैरहेको छ । प्रदेश नम्बर चारका ११ जिल्लामा १८ वटा निर्वाचन क्षेत्र छन् । मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लमजुङ र गोरखामा चुनाव हुँदैछ । बागलुङ र गोरखामा दुई/दुई तथा अन्य जिल्लामा एकरएक गरी ८ वटा निर्वाचन क्षेत्रमा पहिलो चरणमा चुनाव भैरहेको छ ।

यो प्रदेशमा जम्मा १५ लाख ६८ हजार ९ सय २४ जना मतदाता छन् । यीमध्ये पहिलो चरणमा ५ लाख ६३ हजार २४ जना र दोश्रो चरणमा चुनाव हुने क्षत्रमा १० लाख ५ हजार ९ सय जना मतदाता रहेका छन् ।

प्रदेश नम्बर चारका १ हजार २ सय ४७ मतदान स्थलमा २ हजार ९१ वटा मतदान केन्द्र तोकिएको छ । यीमध्ये ५ सय ७६ मतदान स्थलका ८ सय १७ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुँदैछ ।

प्रदेश नम्बर–५

प्रदेश नम्बर पाँचका रुकुम पूर्वी भाग र रोल्पामा पहिलो चरणमा चुनाव हुँदैछ । यी जिल्लामा दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेका छन् । पहिलो चरणमा सबैभन्दा कम क्षेत्र पनि प्रदेश नम्बर पाँचमै छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र छन् ।

यो प्रदेशमा २७ लाख ४० हजार ८ सय ६४ जना मतदाता छन् । पहिलो चरणमा चुनाव हुने क्षेत्रमा १ लाख ५५ हजार ५ सय ५७ जना मतदाता छन् । यो प्रदेशमा १ हजार ६ सय १२ वटा मतदान स्थलमा ३ हजार ३ सय ६८ वटा मतदान केन्द्र छन् । यसमध्य पहिलो चरणमा १ सय ११ वटा मतदान स्थलमा २ सय २ वटा मतदान केन्द्र छन् ।

प्रदेश नम्बर–६

प्रदेश नम्बर ६ का सातवटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । यो प्रदेशमा १० वटा जिल्लामा १२ वटा मात्रै निर्वाचन छन् । यीमध्ये रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा पहिलो चरणमा चुनाव भैरहेङ्को हो ।

यी सबै जिल्लामा प्रतिनिधिसभाका लागि एक/एक वटा निर्वाचन क्षेत्र छन् । सल्यान, सुर्खेत र दैलेखमा भने दोश्रो चरणमा चुनाव हुनेछ । बाँकी जिल्लामा ५ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश नम्बर ६ मा जम्मा मतदाता ८ लाख ४६ हजार ९ सय ४१ जना छन् । यीमध्ये ३ लाख ६८ हजार २ सय ७ जना पहिलो चरणमा चुनाव हुने क्षेत्रका रहेका छन् । ५ सय ११ वटा मतदान स्थलमा ६ सय ४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश नम्बर ५ का ८ सय ९६ वटा मतदान स्थलमा १ हजार २ सय ४३ वटा मतदान केन्द्र छन् ।

प्रदेश नम्बर–७

प्रदेश नम्बर ७ का चार वटा जिल्लामा पहिलो चरणमा चुनाव हुँदैछ । दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणमा चुनाव भैरहेको  हो । यी जिल्लामा एकरएक वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र छन् ।

बाँकी ५ जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमा दोश्रो चरणमा चुनाव हुनेछ । पहिलो चरणमा ३ लाख ८४ हजार ९ सय ४१ जना मतदाताले भोट हाल्न पाउने छन् । प्रदेश नम्बर ७ मा १४ लाख ३५ हजार ६ सय ७३ जना मतदाता रहेका छन् । प्रदेश नम्बर ७ का १ हजार १ सय ९ वटा मतदान स्थलमा १ हजार ९ सय वटा मतदान केन्द्र तोकिएको छ । यीमध्ये ४ सय २५ मतदान स्थलका ५ सय ७१ वटा मतदान केन्द्रमा पहिलो चरणमा चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्