नेपालगञ्जको बजेट पौने तीन अर्ब



बाँके, (नेस)
नेपालगञ्ज उपमहानगरपालिकाको प्रथम नगर सभाले पौने तीन अर्बको बजेट प्रस्तुत गरेको छ।

नगर सभामा १३ करोड ५१ लाख ७५ हजार आन्तरिक र दुई अर्ब ५७ करोड ५८ लाख ५६ हजार बाह्य स्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान गरी दुई अर्ब ७७ करोड ९ लाख १ हजार ५ सय ९६ रुपियाँको बजेट प्रस्तत भएको छ।

नगरसभाले वातावरण तथा विपद् व्यवस्थापनमा आधा बढी बजेट छुट्याएको छ। वातावरण तथा विपद् व्यवस्थापनमा कुल बजेटको ६० दशमलव १७ प्रतिशत छुट्याइएको छ। त्यस्तै पूर्वाधार विकासमा २० दशमलव ८०, सामाजिक विकासमा १० दशमलव १० प्रतिशत बजेट छुट्याइएको छ।

कुल आम्दानीको अधिकांश भार बाह्य स्रोतमै नै देखिएकाले नगर सभाले आन्तरिक वृद्धि तथा राजस्व सुधारलाई अभियानको रूपमा अघि बढाउने जनाएको छ। आन्तरिक आय बढाउन करमा कडाई गर्ने नीति लिइएको छ। करदाताले बुझाउनु पर्ने कर नबुझाएसम्म उपमहानगरपालिका र वडा कार्यालयले उपलब्ध गराउने सेवा सुविधा रोक्का गर्ने रणनीति बनाइएको छ। त्योसँगै नियमित कर तिर्नेलाई प्रोत्साहन स्वरूप पुरस्कृत एवम् सम्मान गरिनेछ।

उपमहानगरपालिकाले घरधनी र व्यवसायीहरूको अभिलेखीकरण गरी करको दायरा बिस्तार गरी करदाताको अभिलेखक अद्यावधिक गर्ने, खाली जग्गाहरूलाई अधिकतम प्रयोगमा ल्याउने, औद्योगिक विकास क्षेत्रबाट एकीकृत सम्पत्ति कर तथा व्यवसाय कर असुली गर्ने, बसपार्क निर्माण गरेर प्रवेश शुल्क, रात्री विश्राम शुल्क, टिकट काउन्टर, खाली जग्गामा रहेको टहरासमेतको राजस्व परामर्श समितिको बैठकबाट दररेट निर्माण गरी ठेक्का दिने, बहाल कर संकलन गर्दा विभिन्न विभिन्न स्थानहरूको मापदण्ड तयार गरी बहालको दररेट सूची तयार गर्ने नीति अघि सारिएको छ।

उपमहानगरपालिकाले नेपालगञ्जलाई स्मार्ट सिटीका लागि रूपमा विकसित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाई सम्भाव्यता अध्ययन गर्ने, डुवानमुक्त शहर, चक्रपथ, नगरभित्रका सडकहरू कालोपत्रे र नाली निर्माण, त्रिवेणीमोडदेखि न्यूरोड जाने बाटोको पूर्व र पश्चिमतर्फ मेन नालाको दक्षिणतर्फ अन्डरग्राउन्ड पार्किङसहित सुविधा सम्पन्न विशाल बजार, भवन आचार संहिताको पूर्णपालना, सडकको दायाँ–बायाँ ग्रिनबेल्टको अवधारणा अनुरूप वृक्षारोपण, कृषि यान्त्रीकरणमा विशेष जोड, अर्गानिक उत्पादनमा जोडलगायतका विभिन्न कार्यक्रम गर्ने भएको छ।
ज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञ

प्रतिक्रिया दिनुहोस्