मनकामना केबुलकारमा थप, तीन केबुलकार जडान गरिँदै



काठमाडौं, (नेस)
मनकामना केबुलकार २०औं वर्षमा प्रवेश गरेको छ। २०५५ साल मंसिर ८ गतेबाट व्यवसायिक रूपले सञ्चालनमा ल्याइएको केबुलकारले चितवनको चेरेसबाट गोरखास्थित मनकामनादेवीको मन्दिरसम्म भक्तजन, पर्यटकलगायत स्थानीय बासिन्दाहरूलाई सेवा दिँर्दै आएको छ।

करिब ३ दशमलव ०१ किलोमिटर लम्बाई रहेको ३१ वटा केबुलकारले ६ सय यात्रु प्रतिघण्टा ओसारपोसार गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ। वाषिक करिब १० लाख भक्तजन तथा यात्रुहरू केबुलकारद्वारा मनकामना जाने गरेको कम्पनीको भनाइ छ।

अष्ट्रियाको कम्पनी डोपलमायरको मेसिनरी जडान गरेको यस केबुलकार शतप्रतिशत सुरक्षित रहेको कम्पनीको छ। यात्रुको बढ्दो चापले गर्दा कम्पनीले यस आर्थिक वर्षमा ३ वटा केबुलकार थप गर्ने तयारी गरेको छ। नयाँ केबलकारको आयातको लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको कम्पनीले जनाएको छ। यसबाट दैनिक करिब ९ सय यात्रुलाई थप सुविधा दिन सकिनेछ। हाल मनकामना मन्दिरको पुनर्निमाणसमेत अन्तिम चरणमा रहेकाले भक्तजन तथा यात्रुको संख्यामा उल्लेखनीय वृद्धि हुने कम्पनीको विश्वास छ।

केबुलकारमा रेष्टुरेन्ट, फास्टफूड, आईसक्रिम स्टल र पार्किङ सुविधा रहेको कम्पनीले जनाएको छ।हालसम्म करिब १ करोड २९ लाख यात्रुलाई केबुलकार सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्