मनांगाग्वाले राष्ट्रपतिको शपथ लिने देशमा पर्याप्त रोजगारी सृजना गर्ने प्रतिबद्धता



हरारे, (एजेन्सी)
जिम्बावेका भावी नेता एमर्सन मनांगागवाले विदेशबाट फर्केपछि देशभित्र धेरै रोजगारी सृजना गर्ने र जिम्बावेको खस्केको स्थितिमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले राजधानी हरारेमा आफ्ना समर्थकहरूलाई भने– ‘हामी अर्थव्यवस्थालाई मजबुत गर्न चाहन्छौं। हामी शान्ति चाहन्छौं। हामीलाई रोजगार चाहिएको छ, अत्यन्त धेरै रोजगारी।’

जिम्बावेमा करिब ९० प्रतिशत नागरिक बेरोजगार रहेको अनुमान छ। देशको दुई तिहाइ जनताले साढे ५ डलरमा एक दिन गुजार गरिरहेका छन्।

दुई हप्ताअगाडि दक्षिण अफ्रिका भागेका मनांगाग्वाले शुक्रबार देशको राष्ट्रपति पदको शपथ लिने सरकारी टेलिभिजनले जनाएको छ। मनांगाग्वालाई उपराष्ट्रपतिबाट बर्खास्त गरेपछि सत्तारूढ दल र सेनाले हस्तक्षेप गरेका थिए। जसको परिणामस्वरूप रोबर्ट मुगाबेको ३७ वर्ष लामो शासनको अन्त्य भएको थियो।

मनांगाग्वाले सत्तारूढ पार्टी जानु पीएफको मुख्यालयमा आफ्नो समर्थकलाई देशमा नयाँ लोकतन्त्र थालनी भएको बताए। आफ्नो हत्या गर्न कयौं षड्यन्त्र रचिएको पनि उनले बताए। मुगाबेलाई शान्तिपूर्ण तरिकाबाट हटाएकोमा सेनालाई पनि उनले धन्यवाद दिए।

सत्तारूढ पार्टीका एक प्रवक्ताले ७१ वर्षीय मनांगाग्वाले मुगाबेको बाँकी रहेको कार्यकाल पूरा गर्ने र अर्को वर्ष सेप्टेम्बरमा चुनाव गर्ने जानकारी दिए। शुक्रबार हुने शपथ ग्रहण समारोह टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने सरकारी टेलिभिजनले जनाएको छ।

आफ्नो कूटनीतिक चालका लागि प्रख्यात मनांगाग्वा क्रोकोडाइल अर्थात् गोही उपनामले चिनिन्छन्। उनले जिम्बावेबाट फर्कनुअगाडि दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमासँग पनि भेटेका थिए।

जिम्बावेको संविधानअनुसार राष्ट्रपतिको राजीनामापछि उपराष्ट्रपतिलाई सत्ता प्राप्त हुनुपर्ने व्यवस्था छ। फेलेकेजेला एमफोको उपराष्ट्रपति हुन्। तर पार्टीले उनलाई बर्खास्त गरेको छ र अहिले उनी देशभित्रै बेपत्ता भएका छन्।

संसद्का सभामुखले सत्तारूढ पार्टीले एमर्सन मनांगाग्वालाई राष्ट्रपति पदका लागि मनोनित गरेको जानकारी दिएका छन्।

मनांगाग्वा सन् १९८० को दशकमा देशको सुरक्षा प्रमुख थिए। स्वतन्त्रतापछिको यो अवधिमा हजारौं नागरिकको मृत्यु भएका थियो। यद्यपि उनले ती मृत्यका घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आइरहेका छन्।

जिम्बावेका कडा विपक्षी नेता मार्गन त्सावेगिराइले जिम्बावे नयाँ मार्गमा हिँड्ने आफूले अपेक्षा गरेको बताउँदै अब निष्पक्ष र स्वतन्त्र चुनाव गराउनेछ भन्नेमा आशावादी रहेको बताए। अर्का एक विपक्षी नेता डेविड कोल्टार्टले ट्विटमा भने– ‘हामीले तानाशाहलाई हटायौं तर तानाशाही अहिले पनि विद्यमान छ।’

प्रतिक्रिया दिनुहोस्