कुख्यात माफिया बोसको कारागारमा मृत्यु



रोम, (एजेन्सी)
‘बोसहरूका पनि बोस’को उपनामले कुख्यात सिसिलियन माफिया साल्भातोर ‘टोटो’ रिनाको ८७ वर्षको उमेरमा क्यान्सरका कारण इटालीको एक कारागारमा मृत्यु भएको छ। १ सय ५० जनाभन्दा बढी व्यक्तिको हत्या गर्न आदेश दिएको अभियोगमा उनले २६ वटा आजीवन कारवास सजाय भोग्दै आएका थिए।

कोसा नोस्ट्रा नामक अत्यन्तै खतरनाक आपराधिक समूहका नाइके सन् १९९३ मा प्रहरीले पक्राउ गर्नुअघि करिब २५ वर्ष फरार रहन सफल भएका थिए। उनले कारागारबाट समेत मानिसहरूको हत्याका लागि आदेश दिने गरेको बताइएको छ। मुख्यतया किड्नी क्यानसर पीडित उनलाई मुटु र पार्किन्सन रोग पनि लागेको कारगारका स्वास्थ्य सूत्रले जनाएको छ।

उत्तरी इटालीको पार्मास्थित कारगारको अस्पतालमा चिकित्सकीय रूपमा अचेत अवस्थामा पुगेका रिनालाई भेट्न उनका परिवारलाई सरकारले अनुमति दिएको थियो। रिनाको सन् १९३० मा सिसिलीको कोर्लियोनस्थित एउटा गरिब कृषक परिवारमा जन्म भएको थियो।

सो स्थान फ्रान्सिस फोर्ड कोप्लाको माफियासम्बन्धी काल्पनिक फिल्म गड फादर डन कोर्लियोनको जन्म स्थान पनि हो। उनी १३ वर्ष छँदा उनका पिता मारिएका थिए। १९ वर्षको उमेरमा एउटा स्थानीय माफियामा प्रवेश गर्नकै लागि उनले हत्या गरेका थिए। फलतः उनी ६ वर्ष जेलमा परे। जेलबाहिर आएपछि उनले कोर्लियोनका माफिया बोसको हत्याका लागि स्थानीय गुण्डा लुसियानो लेगिगयोलाई मद्दत गरेका थिए।

त्यसपछि आफ्नो बाल्यकालको साथी बनार्डो प्रोभेनजानोसँग मिलेर पालेर्मोको क्याभाताइयोमा माफिया बोस मिचेले ‘दि कोब्रा’लाई आक्रमण गर्न थाले। सन् १९७४ मा लेग्गियोलाई प्रहरीले गिरफ्तार गरेपछि रिना बोस बने। सत्तरीको दशकमा उनको नेतृत्त्वमा रहेको कोसा नोस्ट्रा समूहले उत्तर अमेरिकामा हेरोइन ओसार प्रसार व्यापार थालेको हो। उनको क्रूरताकै कारण उनले ‘दि बिस्ट’ उपनाम पाएका थिए।

प्रतिक्रिया दिनुहोस्