कम्युनिस्ट व्यवस्थामा लोकतन्त्र रहँदैनः प्रधानमन्त्री



कालीबहादुर मल्ल, कालिकोट
देशको समृद्धि र विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ। कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकास्थित कोटबाडा विमानस्थलमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो।

देशमा अहिले कम्युनिस्टहरूले बर्बाद पार्न खोजेकाले लोकतान्त्रिक गठबन्धनले देशको समृद्धि र विकास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभयो। ‘कम्युनिस्टहरू मिलेर देशलाई बर्बाद पार्न खोजेका छन्।’ उहाँले भन्नुभयो– ‘देश विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको छ।’

देशमा समृद्धि र विकास लोकतन्त्रमा रहने र कम्युनिस्ट शासन व्यवस्थामा लोकतन्त्रको कुनै स्थान नरहने प्रधानमन्त्री देउवाले बताउनुभयो। ‘देशमा कम्युनिस्ट शासन व्यवस्थामा लोकतन्त्रको कुनै स्थान रहँदैन’, उहाँले भन्नुभयो– ‘समृद्धि र विकास लोकतन्त्रमा सम्भव रहेको छ।’

प्रधानमन्त्री देउवाले नेपालकै पछाडि परेको कर्णाली क्षेत्रको विकासका लागि आफूले धेरै प्रयास गरेको त्यसका लागि अब आफू लागिपर्ने प्रधानमन्त्री देउवाले बताउनुभयो। ‘कर्णाली सबै क्षेत्रमा पछाडि परेको छ’, उहाँले भन्नुभयो– ‘यसको विकासका लागि मैले धेरै प्रयास गरेको छु।’
प्रधानमन्त्री देउवाले कोटबाडा विमानस्थलको चाँडै कालोपत्रे गर्ने र विमानस्थलमा नियमित उडान गरिने समेत बताउनुभयो। ‘यो विमानस्थलको कालोपत्रे चाडै गरिने छ’, उहाँले भन्नुभयो– ‘नियमित उडानको समेत तयारी थालेका छौं।’

प्रदेश नं. ६ र ७ मा पर्ने रामारोसन, बडिमालिका पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनका लागि बडिमालिका रामारोसन कोटबाडा विमानस्थलमा सडक सञ्जालले जोड्ने गुरुयोजना निर्माण गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो। ‘रामारोसन, बडिमालिका पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनका कोटबाडा विमानस्थलबाट ती क्षेत्र जोड्ने सडक निर्माण आवश्यक रहेको छ’, उहाँले भन्नुभयो– ‘त्यसका लागि सबै प्रक्रिया पूरा भएका छन्।’ देउवा प्रधानमन्त्री हँुदा ०५८ सालमा विमामानस्थलमा काम गरिरहेका ३६ जना सर्वसाधारण कामदारहरू तत्कालीन सुरक्षाकर्मीबाट मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्