पहिलो चरण निर्वाचन, १ लाख सुरक्षाकर्मी परिचालन



ईश्वरराज ढकाल, काठमाडौं
पहिलो चरणको निर्वाचनमा तीनवटा सुरक्षा निकायका १ लाख ७ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन्। म्यादी प्रहरीको संख्याबाहेक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ती सुरक्षाकर्मी परिचालन भएका हुन्।

निर्वाचनका लागि नेपाली सेना २८ हजार, नेपाल प्रहरी ६५ हजार र सशस्त्र प्रहरी १४ हजार गरी १ लाख ७ हजार सुरक्षाकर्मी परिचालन भएका हुन्। सरकारले निर्वाचनका लागि ९८ हजार म्यादी प्रहरी भर्ना गरेको छ।

तीमध्ये आवश्यकताअनुसार परिचालन हुने प्रहरी मुख्यालयले जनाएको छ। सरकारको तीनघेरे सुरक्षा रणनीतिअनुसार सुरक्षाकर्मी परिचालन भएका छन्। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना परिचालित हुने भएका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले आवश्यक पर्दा थप सेना परिचालन गर्ने गरी पहिलो चरणको निर्वाचनमा २८ हजार सेना परिचालन गरिएको जानकारी दिनुभयो। नेपाली सेनाले दुवै चरणको निर्वाचनमा ६४ हजार सेना परिचालन गर्ने भएको छ।

सुरक्षाको अवस्था हेरेर थप सेना परिचालन गर्ने योजना रहेको जानकारी गराउँदै प्रवक्ता दाहालले निर्वाचन सुरक्षाका लागि नेपाली सेना तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। उहाँले पहिलो चरणको निर्वाचनका सबै क्षेत्रमा सेना परिचालन भइसकेको जानकारी दिनुभयो।

नेपाल प्रहरीले कार्यालय र महत्त्वपूर्ण काम गर्नेबाहेक सबै प्रहरी पहिलो चरणको निर्वाचनमा खटाएको छ। ‘सबै निर्वाचन क्षेत्र, निर्वाचन कार्यालय र मतदान स्थलमा प्रहरी खटाइसकेका छौं।’ –प्रहरी प्रवक्ता डीआइजी मनोज नेउपानेले भन्नुभयो। उहाँले अति संवेदनशील, संवेदनशील र सामान्य अवस्था भएका निर्वाचन क्षेत्रमा अवस्था हेरेर प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो।

निर्वाचन सुरक्षा रणनीतिअनुसार पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। सशस्त्र प्रहरीले भने पहिलो चरणको निर्वाचनमा १४ हजार सशस्त्र प्रहरी परिचालन गरिएको जनाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी बाबुराम पाण्डेले दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा २८ हजार सशस्त्र प्रहरी खटाउने निर्णय भएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘निर्वाचन कार्यालय, मतदाता र मतपेटिकाको सुरक्षाका लागि ती जनशक्ति परिचालन गरेका हौं। सुरक्षाको आवश्यकता हेरेर थप जनशक्ति परिचालन गर्ने तयारी गरेका छौं।’ सशस्त्रले सबै निर्वाचन क्षेत्रको सदरमुकाममा सुरक्षा बेस क्याम्प, क्षेत्रमा क्षेत्रीय सुरक्षा बेस क्याम्प स्थापना गरिसकेको छ।

प्रवक्ता पाण्डेले अति संवेदनशील, संवेदनशील र सामान्य निर्वाचन क्षेत्रको आधारमा सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभयो।

सशस्त्रले मतदाता, उम्मेदवार र मतदानस्थलको सुरक्षार्थ परिचालन गरिएको जानकारी दिनुभयो। दोस्रो घेराको सुरक्षाको जिम्मा लिएको सशस्त्रले निर्वाचनपछि मतपेटिका र मत गणनास्थलको समेत सुरक्षा दिने भएको छ। यसैगरी प्रहरीले निर्वाचन कार्यक्रम बिथोल्ने मनसायले उम्मेदवार लक्षित बम प्रहार गर्ने हालसम्म ४ सय ९७ जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएकामध्ये अधिकांश नेकपा विप्लवका कार्यकर्ता र नेताहरू रहेको प्रहरीले जनाएको छ। प्रहरीले विप्लवका सबै नेता र कार्यकर्तालाई निगरानीमा राखेको छ।

ती पार्टीका सबै कार्यकर्ता अहिले भूमिगत शैलीमा बम विस्फोट गराउँदै हिँडेका छन्। हालसम्म ५० स्थानमा बम विस्फोट र आगजनी भएको प्रहरी प्रवक्ता नेउपानेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्