सबै मतदान स्थलमा कर्मचारी पुगे, सुरक्षा स्थिति मजबुत



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङमा पहिलो चरणमा मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । आवश्यक निर्वाचन सामग्रीसहित मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीका साथमा मतदान स्थालमा पठाइएको हो ।

जिल्लामा एक हजार २ सय ६६ जना कर्मचारी चुनावका लागि खटिएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचर्यले बताउनुभएको छ । उहाँका अनुसार उनीहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदानकार्यमा चाहिने ६४ प्रकारका सामग्री, नियुक्तिपत्र, मतपत्र र पेस्की रकम लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका दिएर खटाइएको हो ।

जसमा मतदानका लागि मतदाता नामावली, मतपत्र, भोट हाल्न स्वस्तिक छाप, मसी, मतपेटिका, मतदान सकिएपछि मतपेटिका बन्द गर्ने लाहा, त्यसलाई बाँध्ने डोरी, मैनबत्ती, कागज टाँस्ने ग्लुस्टिक, डोरी काट्न कैंची वा ब्लेड, सुरक्षण सिल, मतपेटिका हाल्न कपडाको थैलो, थैलो बन्द गर्न सियो धागो लगायतका निर्वाचन सामग्री छन् । साथमा बोरा सिलाउन सियो, नामावली रुजु गर्न डटपेन, कागजी तथ्यांक संकलन गर्न स्ट्याप्लर, स्ट्याप्लर पिन, नाप्ने टेप, लाइटर, सलाई, टर्च लाइट, झोला, प्राथमिक उपचारका सामान र औषधी, प्लास्टिकका थैला, बोरा, कपडा, नउड्ने मसी लगायत मतदान केन्द्रमा हुन्छ ।

टाढा जानुपर्ने कर्मचारी बुधबार बिहानै पठाइएका र नजिकको केन्द्रमा जाने कर्मचारी बिहीबार विहान हिडेको आचार्यले बताउनु भयो । उहाँका अनसार जिल्लाका १ सय ६५ मतदान केन्द्रमा ८ जना कर्मचारी रहनेगरी १ हजार २ सय ६६ जना कर्मचारी खटाइएको छ ।

जिल्लामा मतदान केन्द्रको संख्या १ सय ६५ रहेको हुँदा हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमील्सीनाले बताउनु भयो । उहाँका अनुसार जिल्लाका १ सय ६५ मतदान केन्द्रमा ६ सय ४७ जना सहायक कर्मचारी र २ सय ८९ जना कार्यालय सहयोगी निर्वाचनको लागी खटिएका छन् । जिल्लाका १ सय ६५ मतदान केन्द्रमा १० जना महिला मतदान अधिकृत र ४० जना सहायक मतदान अधिकृत गरी जम्मा ३ सय ७० जना महिला र ८ सय ९६ जना पुरुष कर्मचारी निर्वाचनमा खटिएका छन् । मतदान अधिकृतमा १३ जना जिल्ला शिक्षा कार्यालयका स्रोतब्यक्ति, २३ जना मावि शिक्षक र २ सय ३१ जना प्रावि शिक्षक निर्वाचनमा खटीएका छन् ।

यसैविच, जिल्लाका एकसय २३ मतदानस्थलमध्ये १८ वटा मतदान स्थललाई अति संवेदनशिल क्षेत्र तोकेको छ । सुरक्षा समितिका अनुसार जिल्लामा ८० वटा मतदानस्थल संवेदनशिल र बाँकी २५ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताउनुभयो । उहाँका अनुसार निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउनको लागि सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन नदिने गरी तयारी गरिएको छ । उहाँले भन्नुभयो सुरक्षा स्थिति मजबुद छ ।

निर्वाचन सुरक्षाका लागि लमजुङमा तीन हजार सुरक्षाकर्मी परिचालन भएको प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले बताउनु भयो । उहाँका अनुसार ७ सय ६२ जना जनपथ प्रहरी र ९ सय ३९ जना म्यादी प्रहरी , एकहजार नेपाली सेना र सात सय सशस्त्र प्रहरी परिचालित छन् ।

प्रतिक्रिया दिनुहोस्