युएईले नेपाललाई दियो ८० रनको लक्ष्य



काठमाडौं । आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा युएईले नेपाललाई ८० रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७९ बनाएको थियो ।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १० रन हुँदा ४ विकेट गुमाएको थियो । पहिलो ओभरमा नै कप्तान रुविना क्षेत्रीले युएईको १ रन हुँदा विकेट झारेकी थिइन् । रुविनाले शुभा भेन्कतरामनलाई शून्य रनमा आउट गरेकी थिइन् ।

युएईको ८ रन हुँदा कप्तान रुविनाले नै अर्को विकेट लिएकी थिइन् । त्यसपछि बलिङमा आएका रितु कनौजियाले आफ्नो दोस्रो ओभरमा २ विकेट झार्दै युएईलाई दबाब दिएकी थिइन् ।

युएईका लागि नतासा चरियथले २३, इशा रोहितले २२ र निशा अलिले १७ रन बनाएका थिए । नेपालका लागि कप्तान रुविना क्षेत्रीले ३, रितु कर्नौजियाले २ र नेरी थापाले १ विकेट लिए ।

अघिल्ला दुई खेलमा वर्षा बाधक बनेपछि नेपालले दुबै खेलमा आयोजक थाइल्याण्ड र हङकङसँग अंक बाँडेको थियो । ६ टोली सहभागी छनोटमा नेपाल २ अंकसहित पाँचौं स्थानमा छ । यस्तै युएई २ अंक जोडेर नै तेस्रो स्थानमा रहेको छ । छनोटमा थाइल्याण्ड र हङकङ समान ५ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । यस्तै २ अंक जोडेको मलेसिया चौथो स्थानमा रहेको छ । दुवै खेल हारेको चीन अंकबिहीन रहेर पुछारमा रहेको छ ।

नेपालले आफ्नो चौथो खेलमा मलेसियासँग शुक्रबार र अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्