कामदार अभावका कारण, भुकम्पपीडित थप मर्कामा



नेपाल समाचारपत्र, हेटौंडा ।
भुकम्प गएको करिब दुई वर्षपछि जसोतसो घर पुनर्निर्माणमा लागेका मकवानपर थाहानगरस्थित बज्रबाराहीका पीडित थप मर्कामा परेका छन् । स्थानीय बैंक तथा सहकारीले पर्याप्त ऋण दिन नसक्नु र बजारमा श्रमिक र निर्माण सामग्री अभाव भएपछि उनीहरु हायलकायल भएका हुन् ।

मंसिरभित्र घरको जग हालिसक्नुपर्ने सरकारी कडाइका कारण पुनर्निर्माणमा तीव्रता आएको थाहानगर–६ का अध्यक्ष शशिधर सुबेदी बताउनुहुन्छ । तोकिएको समयावधिभित्र घर निर्माण नभए थप किस्ता नआउने र स्थानीय वडाबाट प्रदान गरिने सुविधा रोक्ने बताइएपछि स्थानीय बाध्यतावश घर निर्माणमा जुटेका हुन् । तर, पर्याप्त रकम, श्रमिक र निर्माण सामग्री अभावमा कतिपयले कामसमेत सुरु गर्न सकेका छैनन् । कतिपयले भने महंगो ब्याज दरमा ऋण लिएर काम सुरु गरेका छन् ।

बज्रबाराहीमा रहेको एकमात्र बैंक अल्पाइन बैंकले ऋण दिन रोकेको छ । सेञ्चुरी बैंकसँग मर्ज भएपछि बैंकले केही समयदेखि ऋण रोक्का गर्दै आएको बैंकका मेनेजर राधाकृष्ण लामिछानेले बताउनुभयो । साना किसान बैंकले बढीमा ५ लाखसम्म मात्र ऋण दिँदै आएको छ । उक्त बैंकले आफ्ना सदस्यहरुलाई मात्र प्राथमिकतासाथ ऋण दिने गरेको स्थानीयको गुनासो छ ।

स्थानीयस्तरमा प्यासिफिक बचत तथा ऋण सहकारी संस्थालगायत सहकारीमा रकम अभाव छ । पर्याप्त रकम नहुँदा सबैलाई समयमा ऋण दिन नसकिएको सञ्चालकहरु बताउँछन् । ‘ऋण लिन आउनेहरु धेरै छन्, सकभर चाँडो दिने प्रयासमा छौं,’ प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाका मेनेजर राजन श्रेष्ठले भन्नुभयो ।

ऋणका लागि दुई महिनादेखि सहकारी धाइरहेकाहरुले अझ ऋण पाउन सकेका छैनन् । सीमित रकम र बढ्दो मागका कारण ब्याजदर बढेको स्थानीयको गुनासो छ । जसरी पनि घर बनाउनैपर्ने बाध्यताका कारण स्थानीय चर्को ब्याज तिर्न बाध्य छन् ।

रकममात्र होइन, स्थानीयस्तरमा निर्माण सामग्री र श्रमिक अभाव छ । पर्याप्त निर्माण सामग्री नहुँदा स्थानीयले जस्तो पायो त्यस्तै सामग्री प्रयोग गरेर घर बनाउन बाध्य छन् । ईंटा, रोडा, ढुंगा, गिट्टी, छड र सिमेन्टलगायत निर्माण सामग्रीका ब्यापारीहरु स्थानीयको माग धान्न गाह्रो परेको बताउँछन् ।

स्थानीयस्तरमा श्रमिकको अभाव छ । एकैपटक ३÷४ वटासम्म घर निर्माणको जिम्मा लिनुपरेको तर कामदार नपाइएको निर्माण व्यवसायी बताउँछन् । ‘पैसा र सामानमात्र होइन, काम गर्ने मान्छेसमेत छैनन्,’ निर्माण व्यवसायी दिलकुमार बलामीले भन्नुभयो । श्रमिक अभावका कारण कतिपयले आफ्ना बालबालिका विद्यालय नपठाएर घर बनाउने काममा लगाउने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्