हटलाइनमार्फत् २ हजार बढी उजुरी



 

सुरेश तामाङ, काठमाडौं
अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा सञ्चालित हटलाइन टेलिफोन सेवामार्फत् २ हजार १ सय ३५ उजुरीका लागि दर्ता भएको छ। उक्त उजुरीमध्ये अधिकांश भ्रष्टाचार, आर्थिक अनियमितता, अकुत सम्पत्ति आर्जनलगायतका रहेको अख्तियार स्रोतले जनाएको छ।

राष्ट्रसेवक कर्मचारीले सेवाग्राहीसँग विभिन्न बहानामा घूस मागे तुरुन्त फोन गर्न अख्तियारले हटलाइन टेलिफोन सेवा शुरु गरिसकेको छ। यो निःशुल्क सेवा २४ सै घण्टा सञ्चालनमा छ।

२०७२ माघदेखि सञ्चालनमा ल्याएको यस सेवा प्रचारप्रसारको अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन सकेन। पछिल्लोपटक गएको साउनदेखि भने यसै सेवामार्फत् उजुरी गर्न भन्दै सेवाग्राहीको उच्च चाप हुने सरकारी कार्यालयहरूलाई लक्षित गर्दै उजुरी गर्ने बढेको हटलाइन सेवामा खटिएका एक प्रहरीहरूले बताए।

प्रहरीका अनुसार धेरैजसो उजुरीहरू मालपोत कार्यालय, नापी कार्यालय, श्रम कार्यालय, यातायात कार्यालय, तराईका विद्यालयलगायतका ठाउँबाट अनियमितता, तथा आर्थिक हिनामिना भएको विषयमा आउँने गरेको छ। हटलाइन सेवामा दिनमा २ सय बढी फोन आउने गरेको अख्तियारको हटलाइनमा खटिएका प्रहरीले बताए। जसमध्ये दिनमा ३० उजुरी अनुसन्धान गर्नुपर्ने खालका आउँछन्।

प्रायःजसो उजुरी दिउँसोको समय आउने गरेको छ भने गोप्य ठाउँ खोज्ने र बेलुका उजुरी गर्दा सुरक्षित ठान्नेहरूले बेलुका पनि उजुरी गर्ने गरेको प्रहरीको भनाइ छ। निःशुल्क टेलिफोन सेवा भएको हुनाले कतिपयले त दुःख दिने दिने मनसायले पनि फोन गर्ने गरेको गुनासो प्रहरीहरूको छ।

यो सेवा २४ सै घण्टा सञ्चालन गर्न अख्तियारको प्रहरी महाशाखामा १ जना प्रहरी निरीक्षकको कमान्डमा १ प्रहरी नायब निरीक्षक, १ प्रहरी सहायक निरीक्षक, ३ प्रहरी हवल्दार र १ प्रहरी जवानलाई खटाइएको छ।

प्रतिक्रिया दिनुहोस्