किन बन्यो चुनावी इपिसेन्टर भच्चेक ?



कृष्णउदास खनाल
भच्चेक, गोरखा
इतिहासको पाना पल्टाउँदा गोर्खा जिल्लाको नाम जहिले पनि अग्रस्थानमा आउने गर्दछ। पछिल्लो समय फेरि पनि गोर्खा जिल्ला चर्चामा रहेको छ। खासगरी गोर्खाको क्षेत्र नम्बर २ अहिले बढी चर्चामा रहेको छ। यसो हुनुको कारण भने डा.बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठ नै हुन्।
यही चुनावका कारण २ नम्बर क्षेत्रको उत्तरी भेगमा रहेको भच्चेक अहिले निकै तातेको छ। चुनावी इपिसेन्टरका कारण भच्चेक बजारको तापक्रम घट्दै गए पनि चुनावी माहौल भने तातेको छ। अजिरकोट गाउँपालिकाको भच्चेक बजार धेरै हिसाबले महत्त्वपूर्ण छ। भौगोलिक रूपमा नै निकै रमणीय रहेको भच्चेकलाई अहिले दलले चुनाव प्रचार केन्द्र बनाएका छन्।

अहिलेसम्म भच्चेक पाइलोसमेत नटेकेका नेताहरूको निकै दौडधुप छ अहिले यहाँ। खास गरी वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचारको केन्द्र भच्चेक बजार बनेको हो। झट्ट हेर्दा भच्चेक अजिरकोटको मात्रै केन्द्र भएपनि यसले गोर्खाको सिरानचोक र सुलीकोटको प्रतिनिधित्व रामै्रसँग गर्ने गरेको छ। यी दलहरूले आयोजना गर्ने चुनावी कार्यक्रममा पनि गोर्खाको दुई नम्बर क्षेत्रका अधिकांश नेता कार्यतर्काहरू सहभागी थिए। १० गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा चुनावका लागि डा.भट्टराई र नारायणकाजीले प्रतिष्ठाको विषय बनाएका कारण यहाँ शीर्ष नेताको दौडाहा चलेको हो।

कात्तिक २९ गते भच्चेकमा वाम गठबन्धनले चुनावी सभा गरेको थियो। त्यहाँ प्रचण्ड र केपी शर्मा ओली आएर नारायणकाजीलाई भोट मागे। केपीले बाबुरामलाई खासै गाली नगरे पनि प्रचण्डले भने आफ्ना सहकर्मी भए पनि बुद्धि नभएका नेता भन्दै काजीलाई जिताउन आग्रह गरे। प्रचण्ड र केपीको भच्चेक दौडाहाले नारायणकाजीलाई जित्न सजिलो भएको तर्क वाम गठबन्धनको बुझाइ छ।

त्यसो त मंसिर ४ गते लोकतान्त्रिक गठबन्धनले पनि सोही स्थानमा चुनावी सभा आयोजना गरेको थियो। सभालाई कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, बालकृष्ण खाँण र गगन थापाले सम्बोधन गर्दै डा.भट्टराईलाई खुलेर भोट मागे। हिजो युद्धको बेलामा माओवादीबाट प्रताडित भएकाहरूले डा. बाबुरामलाई भोट दिन्नन् कि भन्ने थियो ४ गते कांग्रेसका शीर्ष नेताको सम्बोधनले अब बाबुरामलाई सबै कांग्रेसीको भोट पर्ने विश्वासमा बाबुराम समर्थक छन्। बाबुराम कांग्रेसको समर्थनमा नयाँ शक्तिबाट र नारायणकाजी एमालेको समर्थनमा माओवादीबाट चुनावी मैदानमा उत्रिएका कारण यो क्षेत्र निकै रोचक बनेको हो।
बहुदलको उदयपछि शुरूमा यो क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट मैयादेव श्रेष्ठ र कमला पन्त निर्वाचित भए तर माओवादी शान्ति सम्झौतामा आएपछि २०६४ सालमा भएको संविधानसभामा डा. भट्टराई र त्यसपछि २०७० को माओवादीकै हितराज पाण्डे विजयी भए। विकासको फड्को यस क्षेत्रमा बाबुरामको पालामा बढी भएको हो भन्नेहरूको जमात धेरै छ यद्यपि उनको पार्टी अहिले फरक ढंगबाट चुनावी मैदानमा उत्रिएका कारण सजिलै जित हुने अवस्था छैन। स्थानीय तहको चुनावी आँकडा हेर्दा थोरै करिब ५ सय मतले मात्रै वाम गठबन्धन अगाडि छ। यद्यपि अहिले यही क्षेत्रबाट ६ हजार नयाँ मतदाता थपिएका छन्।

देशभरकै लगभग रोचक भिडन्त मानिएको यो क्षेत्र कसको कब्जामा जाने छ त्यसका लागि भने चुनावको परिणाम नै हेर्नुपर्दछ तर अहिले चुनावका कारण क्षेत्र नम्बर २ को भच्चेक भने साँच्चैको ‘इपिसेन्टर’ बनेको छ।

प्रतिक्रिया दिनुहोस्