स्वेदश तथा विदेशबाट प्रचण्डलाई सहानुभूति



काठमाडौं, (नेस)
हृदयघातबाट सुपुत्र प्रकाश दाहाल गुमाउनुभएका पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादी केन्द्रका सल्लाहकार सीता दाहाललगायत परिवारलाई चीन, भारत, राष्ट्रसंघलगायतका विभिन्न देश, कूटनीतिक नियोगका प्रतिनिधिरूले समवेदना प्रकट गर्नुभएको छ।

आइतबार बिहान माओवादी केन्द्रका नेतासमेत रहनुभएका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएपछि दिउँसो नेपालमा रहेको चिनियाँ दूतावासले अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरेको थियो।

समवेदनामा चीनले दाहालको निधनले चीन मर्माहत भएको बताउँदै प्रचण्डको पीडामा चीन साथमा रहेको उल्लेख गरिएको छ। सोमबार बिहान नेपालका लागि चिनियाँ राजदूत यू होङले अध्यक्ष प्रचण्डलाई भेटी समवेदना प्रकट गर्नुभयो।त्यसै गरी संयुक्त राष्ट्रसंघको आवासिय कार्यालयबाट अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरिएको छ। आवासिय प्रतिनिधि भलेरी जुलिन्डले पठाउनुभएको समवेदना–पत्रमा प्रकाश दाहालको अल्पायु र अकल्पनीय निधनले संयुक्त राष्ट्रसंघ मर्माहत भएको उल्लेख गरिएको छ।

सोमबार नै रुसी दूतावासबाट अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गर्दै राजदूत एन्ड्री बुडनिकले अध्यक्ष प्रचण्डका छोरा तथा युवा नेता प्रकाश दाहालको आकस्मिक निधनले आफू स्तब्ध भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्