डेंगुका रोगी ६ सय ५४ 



– अझै पत्ता लागेन डेंगुको भ्याक्सिन
– बजेट अभावमा रोग नियन्त्रण भएन

प्रशान्त वली, काठमाडौं
मौसम परिवर्तनसँगै पछिल्लो समय डेंगु रोगको संक्रमण उच्च देखिएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ६ सय ५४ जनामा डेंगुको लक्षण देखापरेको छ। जसमध्ये अधिकांश पुरुष रहेका छन्।

यद्यपि अझै डेंगु रोगपश्चात् निवारणका लागि भ्याक्सिन बनेको छैन। डेंगु रोग नियन्त्रणका लागि १÷२ वटा देशमा भ्याक्सिन परीक्षणका रूपमा प्रयोग भए पनि विश्व स्वास्थ्य संगठनले आधिकारिकता दिएको छैन।

अहिलेसम्म यो आर्थिक वर्षमा १८ जिल्लामा ६ सय ५४ जनामा डेंगु देखापरेको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले जानकारी दिनुभयो। जसमध्ये सबैभन्दा बढी महोत्तरीमा संक्रमण देखापरेको मन्त्रालयको दाबी छ। पछिल्लो १० महिनाभित्र १८ जिल्लामा डेंगुका बिरामी देखापरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘मुख्यतः नगरोन्मुख शहरी क्षेत्रमा बिहान र बेलुकीको समयमा लामखुट्टेले टोक्दा यो रोगले आक्रमण गर्ने गरेको छ। त्यसैले सरसफाइमा ध्यान दिनुपर्छ। ३५ जिल्ला डेंगुबाट प्रभावित छन्।’ अहिलेसम्म डेंगु भएकै कारण कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।

सरकारले यस आर्थिक वर्षमा डेंगु रोग निवारणका लागि ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। जोखिमको प्रकृति हेरेर कम जोखिम भएका जिल्लामा २ लाख र उच्च जोखिम भएका जिल्लामा १० लाख रुपियाँसम्म बजेट विनियोजन गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

सरकारले बजेट छुट्याए पनि बजेट न्यून मात्रामा विनियोजन गरिँदा र जोखिम आउन नदिने कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन हुन नसक्दा जोखिम बढ्दै गएको छ। सर्लाही, धादिङ, चितवन, झापा, रूपन्देही, नवलपरासी, धनुषासहित तराईका जिल्लामा डेंगुको संक्रमण देखापरेको स्वास्थ्य मन्त्रालयका जोखिम नियन्त्रण निरीक्षक उत्तमराज प्याकुरेलले बताए।

जोखिम नियन्त्रणका लागि के काम भइरहेको छ भन्ने जिज्ञासामा मन्त्रालयका जोखिम नियन्त्रण निरीक्षक उत्तमराज प्याकुरेलले भन्नुभयो– ‘डेंगु रोग सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरिरहेका छौं। साथै जनचेतनामूलक कार्यक्रमलाई समेत अघि बढाएका छौं।’

उहाँका अनुसार यो वर्ष स्वास्थ्य मन्त्रालयले जोखिम नियन्त्रणका लागि ३५ जिल्लामा बजेटसमेत छुट्टयाएको छ।
जोखिम नियन्त्रणका लागि सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरिरहेको बताएको छ। डेंगु ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रणअन्तर्गत बजार क्षेत्रमा पानी राख्ने भाँडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाइँ रहे नरहेको हेरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका प्रवक्ता डा. गिरीले बताउनुभयो। गत आर्थिक वर्ष १ हजार ५ सय २९ जनामा डेंगु भेटिएको थियो भने २ जनाको ज्यान गएको थियो। यो वर्ष भने यो रोगले अहिलेसम्म कोही पनि नमरेको मन्त्रालयको दाबी छ।

डेंगु एक प्रकारको ज्वरो हो, जुन रोग ‘एडिस एप्टिई’ जातको संक्रामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यो संक्रामक सरुवा रोग हो। यो रोग सार्ने लामखुट्टे शहरोन्मुख क्षेत्रमा बढी पाइने भएकाले शहरी रोग पनि भन्ने गरिन्छ। यस जातको लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा अन्डा पार्ने गर्दछ।

खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बाहरू, थोत्रा टायरहरू, मट्टितेलका खाली ड्रमहरू, फूलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा यसले फुल पार्दछ। यस लामखुट्टेले धेरैजसो दिउँसो मात्र टोक्ने बताइएको छ।

एक्कासि उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरू दख्नु, शरीरमा बिमिरा आउने, रक्तश्राव हुने लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिने शुक्रराज ट्रपिकल टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘डेंगुविरुद्ध हालसम्म कुनै भ्याक्सिन आएको छैन। वैज्ञानिकहरूले खोज अनुसन्धान गरिरहेका छन्।’ २००६ मा भारतबाट आएका एक जनामा डेंगु रोग भेटिएको थियो। सन् २००६ मा काठमाडौंमा पहिलो डेंगु रोगी फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्