बम विस्फोटनका घटना बढ्दै, “ढुक्क भएर मतदान गर्न आग्रह”



ईश्वरराज ढकाल, काठमाडौं
मंसिर १० को पहिलो चरणको मतदान गर्ने दिन नजिकिँदै जाँदा देशका विभिन्न भागमा विस्फोटको घटना बढ्दै गएको छ।

राजधानीबाट मतदाता बाहिरिने क्रम शुरू भइसकेको छ तर उनीहरूको मनमा कतै बाटोमा विस्फोटक पदार्थ पड्किने त होइन भन्ने शंका जीवितै रहेको छ। विस्फोटनमा संलग्न नेकपा विप्लवलगायतका समूहले देशको विभिन्न भागमा मुख्य सडक, उम्मेदवार आवत–जावत गर्ने स्थानमा विस्फोट गर्न थालेका छन्।

फितलो सुरक्षा व्यवस्थाका कारण निर्वाचनको अभियान शुरू भएयता दिनहुँजसो विस्फोट र बम आक्रमणको घटना बढ्न थालेको छ। हिजो सोमबार बारामा बम विस्फोट भएकोे छ। तर, सुरक्षा निकायले यस्ता घटनालाई सामान्य भन्दै ढुक्क भएर मतदान गर्न अपिल गरेको छ। गृह मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीले देशैभर सुरक्षा व्यवस्था मजबुत भएकाले सबैलाई आ–आफ्नो स्थानबाट मतदान गर्न आग्रह गरेको छ।

‘हामीले सबै सुरक्षा व्यवस्था मिलाइसकेका छौं, सबैलाई ढुक्क भएर मतदान गर्न आग्रह गर्दछांै’ –गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले भन्नुभयो। निर्वाचनमा घर जाने यात्रुको सुरक्षार्थ राजमार्ग गस्ती, ठाउँ–ठाउँमा यात्रुलाई ओरालेर चेकजाँच गर्ने, शंकास्पद व्यक्ति भए सोधपुछ गर्ने, सामान चेकजाँच गर्नेलगायतका काम शुरू गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराउँदै दुवाडीले भन्नुभयो– ‘सुरक्षाको सम्पूर्ण तयारी भइसकेको छ कुनै समस्या हुन दिँदैनौं।’

उहाँले पुल, कल्भर्टलगायत राजमार्गनजिक पर्ने गाउँमा समेत गस्ती बढाएको जानकारी गराउँदै निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘हामीले जिल्लास्थित सुरक्षा समितिलाई समेत कडा निर्देशन दिइसकेका छौं। कुनै घटना हुन लागे नजिकैको अन्य सुरक्षा निकायसँग समेत समन्वय गर्न अनुरोध गरेका छौं।’

नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले नेपाली सेनाले निर्वाचनमा विशेष सुरक्षा रणनीति अपनाएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘निर्वाचन सम्पन्न गराउन नेपाली सेनाको मुख्य ५ वटा भूमिका रहनेछ। तीबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा आवश्यक सुरक्षा व्यवस्था गर्न सेनालाई तयारी अवस्थामा राखिएको छ।’

मतपत्र छपाइ र ढुवानी, निर्वाचनमा विमानस्थल, कारागार, नेपाल टेलिकम, रेडियो नेपालको टावरलगायतका विशेष महत्वपूर्ण संरचनाको सुरक्षा गर्ने, विस्फोटक पदार्थ डिस्पोज गर्ने, मतदानको दिन तेस्रो घेरामा रहेर सुरक्षा गर्ने र मतपत्र सम्बन्धित स्थानमा सुरक्षित तवरले पुर्याउनेलगायतका महत्वपूर्ण काम सेनाको रहेको उहाँले जानकारी दिनुभयो।

पछिल्लो समयमा उम्मेदवार लक्षित विस्फोटको घटना बढ्न थालेपछि सेनाले सम्भावित स्थानमा विशेष सुरक्षा व्यवस्था शुरू गरेको छ। सेनाले ३२ वटै जिल्लामा सेना परिचालन गरिसकेको छ भने सबै पृतनामा हवाई साधन पुर्याइसकेको छ।

‘हामीले सबै निर्देशन दिइसकेका छौं, निर्वाचनको केही दिन अघिदेखि हवाई गस्ती गर्नेछौं, क्षेत्रीय र जिल्ला सुरक्षा समितिले आवश्यकता ठानेमा पृतनापतिको निर्देशनमा तत्काल हेलिकोप्टर पुर्याउने व्यवस्था गरेका छौं। मतदान दिन मतदानस्थलमा जाने मतदाताको सुरक्षाका लागि नेपाली सेनाले विशेष योजना तयारी गरेको छ’ –सहायक रथी एवं प्रवक्ता दाहालले जानकारी दिनुभयो।

नेपाल प्रहरीले निर्वाचन लक्षित विशेष योजनाअनुसार सम्पूर्ण तयारी गरी सम्बन्धित क्षेत्रमा प्रहरी परिचालन गरिसकेको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले मतदानमा घर जाने यात्रुको सुरक्षाका लागि राजमार्गमा चेकपोस्ट खडा गरिएको, राजमार्ग गस्तीलाई तीव्र पारिएको जानकारी दिनुभयो। अधिकांश स्थलमा विप्लव समूहले बम विस्फोटका घटना बढाएको जानकारी गराउँदै उहाँले यी घटनामा संलग्नमाथि कारबाही गरिएको बताउनुभयो।

निर्वाचन यता विस्फोटनका घटनामा संलग्न रहेको आशंकामा हालसम्म २ सय ६१ जनालाई पक्राउ गरिएको, नेकपा विप्लवका चितवनका इन्चार्ज लालबहादुर बीसीलाई पक्राउ गरिएको, हिजो मात्रै चितवनमा दीपक भुसाल र अरूण गिरीलाई पक्राउ गरेको, हिजै रोल्पामा ४३ वटा सकेट बम पक्राउ गरिएको, धनुषामा कटुवा पेस्तोलसहित केहीलाई पक्राउ गरिएको छ।
त्यसै गरी रोल्पामै रेडबुल बम पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो। राजधानीमा सुरक्षा व्यवस्था कडाइ गरेको, अधिकांश दोबाटो, चौबाटोमा प्रहरीको चेकप्वाइन्ट खडा गरी सुरक्षा जाँचलाई तीव्रता दिएको उहाँले बताउनुभयो।

दुईवटा निर्वाचन सम्पन्न गरिसकेको प्रहरीले यो निर्वाचनमा कुनै सुरक्षामा कमी हुन नदिने दाबी गर्दै उहाँले प्रत्येक उम्मेदवारलाई सुरक्षा दिएको र आवश्यकताको आधारमा थप सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो। ‘हामीले ९० प्रतिशत प्रहरीलाई निर्वाचन सुरक्षामा खटाइसकेका छौं, निर्वाचन हुने क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिसकेका छौं, ढुक्क हुनुहोस् निर्वाचनमा कुनै अप्रिय घटना हुन दिदैनौं’ –उहाँले भन्नुभयो।

तथापि सुरक्षा निकायले दाबी गरेजस्तो देशमा सुरक्षा व्यवस्था मजबुत भएको भन्न सक्ने अवस्था छैन। गृह मन्त्रालयका प्रवक्ता दुवाडीले भने सुरक्षामा कुनै कमी आउन नदिने दाबी गर्नुभयो।

मतपत्र छपाइ र ढुवानी, निर्वाचनमा विमानस्थल, कारागार, नेपाल टेलिकम, रेडियो नेपालको टावरलगायतका विशेष महत्वपूर्ण संरचनाको सुरक्षा गर्ने, विस्फोटक पदार्थ डिस्पोज गर्ने, मतदानको दिन तेस्रो घेरामा रहेर सुरक्षा गर्ने र मतपत्र सम्बन्धित स्थानमा सुरक्षित तवरले पुर्याउनेलगायतका महत्वपूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्