लुभुमा औद्योगिकग्राम स्थापना गर्न माग



नेपाल समाचारपत्र
ललितपुर
८० वर्षदेखि सञ्चालित लुभुको कपडा बुन्ने उद्योगलाई व्यवस्थित गर्न औद्यिगिकग्राम स्थापना गर्नुपर्ने माग अघि सारेका छन्।

उद्यमी व्यवसायीले जिल्लाकै पहिलो औद्योगिक गाउँको पहिचान बनाएको लुभुमा उद्योग र त्यसको पूर्वाधार बनाउन सो माग अघि सारेका हुन्। ललितपुर उद्योग वाणिज्य संघ क्षेत्र नं २ नम्बर शाखाको चौंथो वार्षिक साधारणसभामा उनीहरूले सो माग अघि सारेका हुन्।

सो अवसरमा शाखाका अध्यक्ष केशव श्रेष्ठले सयौं वर्षदेखि आत्मनिर्भर क्षेत्रको रुपमा पहिचान बोकेको लुभुमा औद्योगिकग्राम घोषणा गर्नसके यहाँका उद्योग प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष श्रेष्ठका अनुसार अहिले लुभुबाट सुती कपडा, पश्मिना सल, बुटे सल सक्कली ढाका, उनी सल, मफलर, हाकुपतासी उत्पादन गर्दै आएको छ।

अध्यक्ष श्रेष्ठका अनुसार हाल एक सयका हाराहारीमा कपडा बुन्ने उद्योगअन्र्तगत १५ सयभन्दा बढी कपडा बुन्ने तान सञ्चालनमा रहेका छन्। त्यहाँबाट उत्पादित कपडा अमेरिका, फ्रान्समा समेत निर्यात हुँदै आएको छ।

‘हाल रहेका अधिकांश उद्योग आफ्नो घरसंँगैका टहरामा बनाइएका छन्। त्यस्ता उद्योग अव्यवस्थित र छरिएका छन्। उद्योगबाट ध्वनी प्रदुषण हुने भएकाले छरछिमेकी असन्तुष्टि व्यक्त गर्छन्।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘ती उद्योगलाई स्थानान्तर गरी एकीकृत गर्न, आधुनिक प्रविधिको प्रयोगलाई जोड दिन, वैकल्पिक ऊर्जाको सहज व्यवस्था, उचित पूर्वाधार बनाउन औद्योगिक ग्राम बनाउनु टड्कारो भइसकेको छ।’

सो अवसरमा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले संविधानले स्वायत र अधिकार सम्पन्न स्थानीय तह भने पनि व्यवहारमा अत्यन्त केन्द्रिकृत, ऐन कानुन बाँझिएकाले नगरपालिकाले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो। ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले औद्योगिकग्राम बनाउन संघले पनि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्षमा फेरि श्रेष्ठ

सोही सभाले केशव श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गरेको छ। समितिको निर्वतमान अध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्षमा जुजुकाजी महर्जन, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा नवीनदेव महर्जन रहनुभएको छ। त्यसैगरी कार्यसमिति सदस्यमा सन्तराम महर्जन, हरिकुमार श्रेष्ठ, अञ्जुनाथ श्रेष्ठ, आशामान महर्जन, श्याम मोहन श्रेष्ठ, रवि श्रेष्ठ, रामशरण सुवाल र रक्षेश्वर श्रेष्ठ हुनुहुन्छ।

ज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञ

टेलिकमद्वारा लोमान्थाङमा थ्रिजी सेवा सञ्चालन
काठमाडौं, (नेस)
नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमान्थाङ गाउँपालिका–५ मा थ्रिजी बीटीएस राखेको छ। मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत् बीटीएससँग सम्पर्क कायम गरिएको छ।
लोमान्थाङ गाउँपालिकाका सबै स्थान र दालोमे गाउँपालिकाका केही स्थानमा समेत थ्रिजी सेवाको कभरेज कायम भएको छ। यसबाट यो क्षेत्रमा रहेका ४ सय ५० भन्दा बढी घरधुरीका साथै लोमान्थाङ, छोसेर र कोरला नाकासम्म घुम्न जाने पर्यटकले समेत थ्रिजी सुविधाको उपभोग गर्न सक्नेछन्। अब सो क्षेत्रमा फोन सम्पर्क गर्न मात्र नभई तीव्र गतिमा डाटा चलाउन र भिडियो कल गर्न समेत सहज हुने भएको छ।
लोमान्थाङ मुस्ताङको सदरमुकाम जोमसोमदेखि करिब १ सय किलोमिटर दूरीमा पर्छ। सो क्षेत्रमा गत जेठ १ गतेदेखि जीएसएमअन्तर्गत टुजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको थियो।
सीडीएमए प्रविधिको सेवा भने योभन्दा पहिलेदेखि नै उपलब्ध थियो। पहिले स्याटेलाइट लिंकबाट टुजी र सीडीएमए सेवा उपलब्ध गराइएकोमा अब ती सेवालाई पनि माइक्रोवेभ लिंकमार्फत् अपग्रेड गरिएको छ। त्यसकारण टुजी र सीडीएमएको क्षमता र गुणस्तर पनि बढेको छ।

त्यसैगरी नेपाल टेलिकमले म्याग्दी जिल्लाको ओखरबोटमा पनि गत शुक्रबारदेखि टुजी बीटीएस टावर सञ्चालनमा ल्याएको छ। म्याग्दी जिल्लाको मालिका गाउँपालिकाको डाँडागाउँ किटेनीमा सो टावर स्थापना गरिएको हो। म्याग्दीको सदरमुकाम बेनीदेखि करिब ४६ किलोमिटर टाढा रहेको सो स्थानमा पहिले सीडीएमए सेवा मात्र उपलब्ध थियो। सो टावरमार्फत् अब मालिका गाउँपालिकाकाअन्तर्गत रुमा, जेमा, बिलवाङ र खवाङ’ झागाउँ, अउला र पातले तथा ओखरबोटका ७ सयभन्दा बढी घरधुरी लाभान्वित हुने छन्।

प्रतिक्रिया दिनुहोस्