माथिल्लो तामाकोसीको‘ब्रेक थ्रु’



चिरञ्जीवी मास्के, दोलखा

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य सुरुङको आइतबार ‘ब्रेक थ्रु’ भएको छ। यससंँगै सबैभन्दा लामो समय लाग्ने एक्टिभिटीको रुपमा रहेको ८ दशमलव ५ किलोमिटर लामो मुख्य सुरुङको सम्पूर्ण खन्ने कार्य सकिएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताउनुभयो।

मुख्य सुरुङको ब्रेक थ्रुसँंगै आयोजनाको काम ९२ प्रतिशत सकिएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ। भूकम्पका कारण मुख्य सुरुङ खन्ने कार्य डेढ वर्ष ढिला भएको आयोजनाले जनाएको छ। यसअघि २०७० साउन ३० गते मुख्य सुरुङको बाँधदेखि भैंसे अडिटसम्म ३ किलोमिटर सुरुङ खण्ड खन्ने कार्य सकिएको थियो भने आयोजनाको अत्यन्त कठिन मानिएको दुई वटा ठाडो पेनस्टकको यसअघि नै ब्रेक थ्रु भइसेकेको छ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार आयोजनाको हेडवर्कसको काम ९० प्रतिशत, भूमिगत विद्युत गृहको सिभिल निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ।
आयोजनाबाट उत्पादित विद्युत् लैजान २२० केभी प्रसारणलाइनमा निर्माण गरिने १२७ वटा टावरमध्ये ९७ वटा टावरको जडान कार्य सकिएको र करिब ७ दशमलव ५ किलोमिटर तार तान्ने कार्यसमेत सकिएको आयोजनाले जनाएको छ।

४५६ मेगावाट क्षमता रहेको आयोजनाले सुख्खा मौसममा पनि दैनिक ४ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताउनुभयो। अबको ९ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको दोस्रो चरणमा ६ दशमलव ८ किमी सुरुङ निर्माण गरी रोलवालिङ खोलाको पानीलाई आयोजनाको जलाशयमा पुर्याई सुख्खा मौसमको ८ महिना थप करिब १७ करोड युनिट ऊर्जा उत्पादन गर्ने लक्ष्यसमेत लिइएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

मुख्य सुरुङको ब्रेक थ्रकुको अवसरमा आइतवार ऊर्जासचिव अनुपकुमार उपाध्याय, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाका पूर्वप्रमुख मृगेन्द्रबहादुर श्रेष्ठलगायतले आयोजनाको निरीक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्