३ जिल्लाको सीमा ३ दिन बन्द गरिने



यमलाल भुसाल, बुटवल ।
यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भारतसँग जोडिएका रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको सीमा नाका ३ दिन बन्द गरिने भएको छ। ३ जिल्लाका सीमा नाका यही मंसिर १९, २० र २१ गतेसम्म बन्द हुने भएको छ।

त्यस्तै भारतको उत्तर प्रदेशमा पनि यही मंसिर १३ गते हुने स्थानीय तह निर्वाचनअघि पनि तीनै जिल्लाका सीमा नाका मंसिर १२ र १३ गतेका लागि बन्द गर्ने सहमति भएको रूपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो। उहाँले नेपाल भारतको सुरक्षा समितिको नियमित बैठकमा दुवै देशका अधिकारीहरूबीच सीमा नाका बन्द गर्नेलगायत विभिन्न निर्णयहरू भएको बताउनुभयो।

उहाँका अनुसार नेपाल भारतको दुवै देशका नागरिकता लिएका व्यक्तिहरू उपर निगरानी गरी प्रमाणसहित आवश्यक कानुनी कारबाही गर्ने, खुला सीमाका कारण निर्वाचनको समयमा हातहतियारको ओसारपसार हुन सक्ने सम्भावना रहेका कारण नाकामा कडाइका साथ चेकजाँज गर्ने, नाकाबाट हुने लागूपदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने निर्णय भएको छ।

त्यस्तै निर्वाचनलाई लक्षित गरी सीमाबाट हुने अपराध नियन्त्रणका लागि सीमामा दुवै देशको सुरक्षाहरूकर्मीको ज्वाइन्ट पेट्रोलिङ, सूचना आदानप्रदान गर्ने लगायतको निर्णयसमेत भएको सहायक प्रजिअ रेग्मीले बताउनुभयो।

सीमा बन्द भएको अवस्थामा घटना हेरेर आपतकालीन अवस्थामा रहेका व्यक्ति, विरामी, विदेशी पर्यटकहरूलाई आवातजावतमा रोक नलगाइने उहाँले बताउनुभयो।

‘सीमा बन्द रहेको अवस्थामा यदि बिरामी, नाकामा अलपत्र परेका विदेशी पर्यटकजस्ता कोही आपत्कालीन अवस्थामा रहेको जानकारी प्राप्त भएमा घटना हेरेर त्यसका लागि आवातजावतमा रोक नलगाइने व्यवस्था मिलाएका छौँ’ –उहाँले भन्नुभयोे आपत्कालीन अवस्थामा सीमाबाट आवाजावत गर्नुपरेमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
बैठकमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, साहयक प्रजिअ शम्भुप्रसाद रेग्मी, नवलपरासीका प्रजिअ उदयबहादुर राना मगर, कपिलवस्तुका सहायक प्रजिअ रामेश्वर अर्याल, इकाइ प्रहरी कार्यालय भैरहवाका प्रमुख एसएसपी दीपक थापा, भारतको महाराजगन्ज, सिद्धार्थनगर, बलरामपुर जिल्लाका डीए, एसडीमको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्