फोटो प्रदर्शनी शुरू



काठमाडौं, (नेस)।
अन्तर्राष्ट्रियस्तरको फोटो प्रदर्शनी थापागाउँको लेखन कुञ्जमा शुरू भएको छ। गुम्बा ग्लान्स नामक फोटो प्रदर्शनीमा नेपाली फोटोग्राफर सुरञ्जन कोइरालाले खिचेका पाँच दर्जन फोटो राखिएका छन् भने फोटोलाई म्यानेज गर्ने काम इजरायली नागरिक सोहाम सेफिले गरेका हुन्।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति रागिनी उपाध्यायले नेपालमा यसखाले फोटो प्रदर्शनी आयोजना गरेर आयोजक घोस्ट राइटिङ नेपाले असाध्यै राम्रो शुुरुआत गरेको बताइन्। ‘लेखन क्षेत्रमा लागेको संस्थाले आर्ट, फोटोलाई स्थान दिएर आयोजना गर्नुु सुन्दर कुरा हो’ –उनले भनिन्।

गुम्बाका बच्चाको फोटो राखिएको त्यो प्रदर्शनीबाट उठेको रकम गुम्बाका बच्चालाई प्रदान गरिने फोटोग्राफर सुरञ्जन कोइरालाले बताए। ‘मानवीय कार्यका लागि फोटो पनि एक कारक बन्न सक्छ, यही प्रयास हामीले यहाँ गरेका हौं’ –उनले भने।

इजरायली नागरिक सोहामले इजरायली नागरिकले पनि गुम्बाको फोटोमा बहुत रुचि देखाएकाले इजरायलमा पनि छिट्टै यो प्रोग्राम गरिने र लगत्तै फ्रान्समा पनि त्यस्तै कार्यक्रम राखिने बताए। उनले भने– ‘संसारभरका सहयोगी हातबाट आफूले भूकम्पमा परेका यी बालबालिकाका लागि फोटोमार्फत मानवीय सहयोग गर्न पाउँदा म निकै खुसी छु ।’

कार्यक्रमको सञ्चालन घोस्ट राइटिङ नेपालका विनोद कुलुङले गरेका थिए। कार्यक्रममा घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, वरिष्ठ पत्रकार टंक पन्तलगायतले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्