अस्तित्वको लडाइँमा केसी र विष्ट



अनिल खत्री, गुल्मी

आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा फरक खालको बन्ने देखिएको छ। केन्द्रमा र जिल्ला तहमै चर्चित वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले केन्द्रीय सचिव गोकर्ण विष्टसँग कांग्रेस गुल्मीका पूर्वजिल्ला सभापति चन्द्र केसीबीच प्रतिस्पर्धा हुँदै छ।

जिल्ला तहमा बसेर पार्टीको सभापति चलाएका केसी र विष्टबीच हुने प्रतिसस्पर्धा खासै रोचक नबन्ने एमाले कार्यकर्ता तथा कांग्रेसमा पनि छलफल चल्न थालेको छ। विष्ट दुई पटकसम्म सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी उक्त क्षेत्रमा विकासका कामहरूले जनतामाझ लोकप्रिय मानिन्छन्।

केसी पार्टी सभापति हुँदा केही काम गरे पनि उक्त क्षेत्रमा खासै लोकप्रिय मानिँदैनन्। २०५६ सालमा सम्पन्न निर्वाचनमा साविकको २ नम्बर क्षेत्रबाट एमालेका प्रदीप ज्ञवालीसँग प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा उनी पराजित भएका थिए। केसी २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा जिविस सभापतिमा निर्वाचित भएका थिए।

केसीले २०५१ सालदेखि कम्युनिस्टले जित्दै आएको निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन्। २०५१ सालमा एमालेबाट टंक पोखरेल, २०५६ सालमा गोकर्ण विष्ट, २०६४ सालका माओवादीबाट चन्द्रबहादुर थापा ‘सागर’, २०७० सालमा पुन गोकर्ण विष्ट निर्वाचित भएका थिए। झण्डै २५ वर्षको अवधिमा कम्युनिस्टले किल्ला जमाउँदै आएको क्षेत्र वाम गठबन्धनले झनै बलियो बनाएको कार्यकर्ताको कर्त रहेको छ।

केसी चुनावी प्रतिस्पर्धा गर्ने क्षेत्रमा रहेका ४ वटै स्थानीय तहमा कम्युनिस्ट उम्मेदवार निर्वाचित भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा विष्टले सबै उम्मेदवारको मत र उनले पाएको मत हिसाब गर्दा अझ बढी मतले विजयी भएका थिए। यसपटक झनै वाम गठबन्धन र उनको लोकप्रियताले विष्टको विजयी यात्रा घोषणा गर्न बाँकी रहेको आँकलन गर्न थालेका छन्।

१८ वर्षे कम्युनिस्ट शासन तोड्छु

विष्टसँग प्रतिस्पर्धी चन्द्र केसीले यसपटक १८ वर्षे कम्युनिस्ट शासन तोड्ने बताए। उनले पनि आफू जिविस सभापति हुँदा गुल्मीमा धेरै विकासका योजना शुरुआत गरे पनि ती अझै पूरा नभएकाले पूरा गर्ने लक्ष्यले आफू लागिपर्ने बताए।

उनले यस क्षेत्रमा कम्युनिस्टले साशन गर्दै आए पनि विकासले गति लिन नसकेकाले अब जनताले परिर्वतनको पक्ष रोजेको बताए। ‘तत्कालीन जिविस सभापति हुँदा गुल्मी जिल्लामा डोजर भिœयाउने म नै हुँ’, उनले भने– ‘विकासको शुरुआती पनि मबाट नै शुरू भएकाले जनताले मलाई मत दिन्छन्।’ उनले प्रतिपक्षी आँधि बनेर आए आफू तुफान बनेर लाग्ने बताए। आफ्ना पालामा ठूल्ठूला बहुवर्षीय योजनामार्फत यस क्षेत्रमा काम भएपछि अहिले कामै हुन नसकेको बताए। उनले प्रतिपक्षीले विकासभन्दा पनि हल्ला बढी गरेको आरोप लगाए।

लामो समयसम्म कम्युनिस्ट निर्वाचित हुँदा सडकदेखि लिएर शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मुख्य विकासका पूर्वधारहरूमा कुनै गति लिन नसकेको बताए। केसीले उच्च शिक्षा लिनेखालको कलेज नहुनु, ५ शैøयाको पनि हस्पिटल नभएकाले यस क्षेत्रका जनताले परिर्वतन रोजेको कारण यसपटक आफूलाई मत दिने बताए।

उनले मुख्य गरी शिक्षा स्वास्थ्य, खानेपानी, मोटरबाटो विकासका योजनाहरू जनतासमक्ष पुर्याउने प्रतिबद्धता गरेको बताए। यस क्षेत्रमा छल्दीखोला र निस्तीखोलाका खेत निकै उर्वर रहेकाले उक्त क्षेत्रमा कृषि क्षेत्रको अध्ययन गरी धेरै युवालाई रोजगारी दिने गरी कृषि गर्न सकिने बताए।

उनले कहालीलाग्दो वैदेशिक बेराजगारी अत्य गर्न कृषि क्षेत्रसँगै धेरै क्षेत्रमा रोजगारीका अवसरहरू दिएर युवा पलायन रोक्ने आफ्नो अर्को मुख्य उद्देश्य रहेको बताए। यस क्षेत्रमा कृषिसँगै पर्यटन क्षेत्रको पनि धेरै सम्भावना रहेकाले त्यसको मुख्य विकासका लागि जोड दिने बताए।

विष्टको आर्थिक समृद्धिका लागि नयाँ योजना

विष्टले गुल्मी जिल्लालाई आर्थिक समृद्धिका लागि नयाँ योजना सार्वजनिक गरेका छन्। आर्थिक, सामाजिक, शैक्षिक, तथा कृषि पर्यटनको क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेका हुन्। ‘जनताका छोराछोरीलाई शैक्षिक हिसावले माथि उठाउने, जनताको स्वास्थ्य प्राप्त गर्ने अधिकरलाई सुरक्षित गर्ने, खानेपानी बिजुली सडक आदिको भरपर्दो व्यवस्था गर्ने र रोजगारी नपाएर विदेशमा भौतारिनुपर्ने अवस्था अन्त्य गर्नका लागि नयाँ योजना ल्याएका छौं’, उनले भने– ‘केन्द्रीय सरकारसँग समन्वय गरी नयाँ ढंगले रोजगारी, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुली, कृषिलगायतका क्षेत्रमा विकास गर्छौं।’

उनले आफूले बनाएका केही विकासका योजना सार्वजनिक पनि गरे। जसअनुसार बुल्ममा शहीद लखन थापा अन्तर्राष्ट्रिय रंगशाला निर्माणाधीन अवस्थामा रहेको, छल्दीखोलालाई दायाँ–बायाँ तटबन्ध गरी बोटिङ गर्ने व्यवस्थाका लागि सर्वेक्षण भइसकेको र बढिगाढमा र्याफ्टिङ तथा पर्यटक विकासका लागि कार्यक्रम बनेको जानकारी दिए।

त्यसबाहेक कँकेदेउराली र रेसु·ामा पर्यटन विकास, २ नम्बर क्षेत्रमा एउटा प्राविधिक शिक्षालय, ४० वटा ठाउँमा अंग्रेजी माध्यममा आधारभूत तहमा पढ्न पाउने गरी सामुदायिक विद्यालय स्थापना गर्ने, कम्तीमा एउटा गाउँ नगरपालिकामा गम्भीर किसिमका उपचार हुनसक्ने गरी स्वास्थ्य संस्थाको स्तरोन्नति, सदरमुकामको अस्पताल सुविधासम्पन्न अस्पताल निर्माण गरी सामान्य उपचारका लागि बाहिर जानुपर्ने बिडम्वनापूर्ण अवस्थाको अन्त्य, क्याम्पसको थप व्यवस्था गर्ने उनले बताए।
‘अबको केही समयभित्र सम्पूर्ण परिवारमा विद्युत्, प्रत्येक घरमा धारा, प्रत्येक वडालाई कालोपत्रे सडक, उन्नत प्रविधिको सिँचाइको सुविधा र यो क्षेत्रमा एउटा पनि घरको खरको छाना नरहने, सुरक्षित भरपर्दो आवास बनाउने गरी काम गर्छौं’, उनले भने– ‘एउटा पनि बच्चा कपीकलम किन्न नसकेर वा फि तिर्न नसकेर विद्यालय जान नपरोस् भनेर नयाँ प्रकारको योजना ल्याएका छौं।’

त्यसै गरी रेसु·ा, मदाने, कँके, छाप, इस्मा दरबार, शालिमे, मालिका, धुर्कोटलगायतका पर्यटकीयस्थलमा पर्यटन विकासका कार्यक्रम, केही ठाउँमा कृत्रिम ताल, र्याफ्टिङ, कफीखेती व्यवस्थित गर्ने, चिया, रुद्राक्ष, अलैंचीलगायत कृषि र नगदेबालीको विकास गर्ने उनले बताए। ‘कल्पना गरेभन्दा राम्रा पर्यटन विकास, उत्तरगंगालाई बढीगाडमा खसालेर विद्युत् उत्पादन, अहिले भएका सडक भन्दा उन्नत सडक निर्माण गर्ने योजना छ’, उनले भने– ‘बुटवल पाल्पा तम्घासको सडकमा हरेक वर्ष दर्जनौंपटक सडक अवरुद्ध र दुर्घटना हुने भएकाले वैकल्पिक मार्गका लागि छलफल गरिरहेका छौं।’

उनले सिमीचौर विमानस्थल अवको एक वर्षभित्र पूर्ण हुने गरी काम अगाडि बढेको र बुटवल तम्घास सडका लागि सुरुङमार्गलगायतको भरपर्दो विकल्प दिने प्रतिबद्धता जनाए। गुल्मीको सदरमुकाम विकासका लागि कुन योजना उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरेर ठूलो योजना ल्याइने उनको भनाइ छ।

निर्माणका योजना मात्र विकास भन्ने संस्कार भएको भन्दै उनले जनताको चेतनालाई उन्नत बनाउने गरी विकासका बहुआयामिक योजना बनाउने बताए। आफू कुनै पार्टीको मात्र उम्मेदवार नभई जनताको साझा प्रतिनिधि भएको भन्दै उनले सबै जनतालाई साझा विकासका योजना ल्याइने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्