लिङ्देनसँग सिटौलाको सोझो भिडन्त



उत्तम नेपाल, भद्रपुर

मंसिर २१ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा दुई प्रभावशाली नेताको कडा भिडन्त हुने भएको छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनबीच दह्रो भिडन्त हुने भएको हो।

झापा क्षेत्र नं. ३ मा पूर्वसांसद एवं कांग्रेसका कृष्णप्रसाद सिटौला र वाम गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री लिङ्देन निर्वाचनमा होमिएका छन्। आफ्नो पार्टीको खम्बाका रूपमा परिचित भइसकेका दुई नेताले यो क्षेत्रबाट फराकिलो मतान्तरले विजयी हुने ठोकुवा गरेका छन्। सिटौलाको राजनीतिक इतिहास हेर्दा ४६ सालमा बहुदल आएलगत्तै ०४८ सालको संसदीय निर्वाचनमा १ नम्बर क्षेत्रवाट एमालेका स्व. द्रोणप्रसाद आचार्यसँग ४ हजार बढी मतान्तरले सिटौला पराजित भएका थिए।

आचार्यको असामयिक निधन भएपछि सिटौलालले ०५० सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका लीला उदासीलाई ३ हजारको मतान्तरले पछि पार्दै पहिलोपटक विजय हासिल गरेका थिए। उदासी झापाका चर्चित कानुन व्यवसायी हुन् भने सिटौला पनि सक्रिय राजनीतिमा आउनुअघिसम्म वकालती पेशामा नै थिए।

त्यसै गरी ०५१ सालको मध्यावधि चुनावमा एमालेका पुष्पराज पोखरेलसँग ११ सय ४१ मतले पराजित भएका सिटौलाले पुनः ०५६ सालमा एमालेका नारायण राजवंशीलाई २२ सय ६१ मतान्तरले पराजित गराएका थिए। देशमा भएको ०६२÷०६३ को जनआन्दोलन पश्चात् संविधान निर्माणका लागि ०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीका पूर्णसिंह राजवंशीसँग पराजित भए। राजवंशीले १६ हजार ६ सय ८५ र सिटौलाले १४ हजार ९४ मत प्राप्त गरेका थिए। त्यसै गरी ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपाका तत्कालीन केन्द्रीय सदस्य तथा हालका प्रतिस्पर्धी लिङ्देनलाई पराजित गर्दै निर्वाचित सांसद भएका थिए।

सिटौलाले १४ हजार ३ सय ५५ र लिङ्देनले ९ हजार २ सय ५३ मत प्राप्त गरेका थिए। सिटौलाको इतिहास हेर्दा ४८ सालदेखि तत्कालीन १ नम्बर क्षेत्र र हाल क्षेत्र नम्बर ३ लाई आफ्नो राजनीतिको जग बनाएर खडा भइरहेका छन्। गृहमन्त्रीसमेत भइसकेका सिटौलाले झापाको दक्षिणी क्षेत्रलाई खासै वास्ता नगरेको स्थानीयले आरोप लगाइरहेका बेला उनले भने ३ अर्बभन्दा बढी बजेट ३ नम्बर क्षेत्रमा मात्रै ल्याएको प्रमाण देखाउँदै आएका छन्। माओवादीको १० वर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन र संविधान निर्माणमा महŒवपूर्ण भूमिका खेलेकाले गणतन्त्रवादीले मत दिने पक्का भएको दाबी गर्दै समानुपातिक छोडेर प्रत्यक्षमा उम्मेदवारी दिएको सिटौला बताउँछन्।

झापाको, कचनकवल, हल्दिवारी, बाह्रदर्शी गाउँपालिकासहित विर्तामोडको १० नम्बर वडा र भद्रपुर नगरपालिका का ९ र १० बाहेक ८ वटा वडा ३ नम्बर क्षेत्रमा समेटिएका छन्। हाल यो क्षेत्रमा प्रतिनिधिसभाका लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन्। त्यसै गरी प्रदेश ‘क’ र ‘ख’ मा क्रमशः ५८ हजार ८ सय १५ र ५५ हजार ७ सय ७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
गत २०६४ सालको निर्वाचनपछि सिटौलाले माओवादीलाई मूलधारमा ल्याउन व्यस्त रहेको बताएर २०७० सालको निर्वाचनमा उम्मेदवार बन्दा ‘अबचाहिँ निर्वाचन क्षेत्रको विकास र जन आवश्यकताका काम गर्न मनग्गे समय दिन्छु’ भनेरै सम्भवतः विजयी भएका हुन्। तर, निर्वाचनमा विजयी भएयता उनी योजनाका पत्रहरू बोकेर झापा आई पार्टीका स्थानीय पदाधिकारीहरूलाई हस्तान्तरण गरेपछि तिनै कागजमा लेखिएका बहुयोजना क्षेत्र नं. ३ मा ल्याएको प्रचारबाजी कार्यकर्तामार्फत गर्न लाउँदै फेरि पनि केन्द्रीय राजनीतिमा नै रमाए।

जे–जसो भए पनि अब सिटौलाभन्दा राष्ट्रिय राजनीतिक जीवन र उचाइका दृष्टिले निकै कान्छा–होचा राप्रपाका राजेन्द्र लिङ्देनसँग सिटौलाको सोझो भीडन्त हुने भएको छ। उनीहरूको भीडन्त ०७० सालमा पनि भएको थियो। लोकतान्त्रिक गठबन्धनका सिटौला समानुपातिकबाट प्रत्यक्ष उम्मेदवार हुँदा निश्चितरूपले उनको कार्यकर्ता पंक्तिमा हौसला बढेको छ। किनभने, वर्षौंदेखि ढाँटिँदै र क्षेत्रगत विकासको मामलामा अनपेक्षितरूपमा पछि पर्दै आएका यस क्षेत्रका जनता पछिल्लो चुनावी दौडमा को प्रथम हुन्छ भन्ने विषयमा प्रस्ट छन्। यस बीचमा कुनै प्रलोभनको गोलचक्कर चलेन भने राष्ट्रिय नेता सिटौलाको राजनीतिक भविष्य कष्टकर बन्न सक्ने देखिएको छ।
अर्कोतर्फ शाही कालमा जिविस झापाको सभापति भई ग्रामीण क्षेत्रमा विकासको लागि अग्रणी भूमिका निर्वाह गरेको भन्दै लिङ्देनले आफूले प्रतिनिधिसभामा उम्मेदवारी दिएको बताउँछन्। आफू निर्वाचित भएपछि २० वर्षसम्म विकास नभएको क्षेत्रमा ५ वर्षभित्र गराएर नदेखाएमा राजनीतिमा नआउने उद्घोष गरेका छन्। भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुजस्तै भएको उनले बताउँदै आएका छन्। शुरुमा सिटौला समानुपातिकमा उठ्ने र लिङ्देनलाई कांग्रेसले सघाउने पककापक्की भइसकेको थियो।

एमालेबाट पूर्वसांसद पुष्प पोखरेलको नाम पनि अघि आएको थियो। तर, अन्तिम क्षणमा आएर सिटौलाले आफ्नो क्षेत्र नछाड्ने अडान लिएपछि रातारात राप्रपालाई एमाले र माओवादीले समर्थन गरी पोखरेललाई नउठाएर लिङ्देनलाई वाम गठबन्धनमा अघि सारेपछि कांग्रेस अत्तालिएको छ। स्थानीयको मत परिणमलाई आधार मान्ने हो भने वाम गठबन्धनतर्फका उम्मेदवार लिङ्देनको फराकिलो मतान्तर रहेको देखिन्छ। गएको स्थानीय तहको निर्वाचनमा प्रमुख चार पार्टीको प्राप्त मत हेर्दा एमाले २२ हजार, राप्रपा १७ हजार र माओवादी केन्द्रको १२ हजार गरी ५१ हजार मतमा कांग्रेसले प्राप्त गरेको २० हजार मतलाई घटाएर हेर्ने हो भने मात्र ३१ हजार मत वाम गठबन्धनको रहेको देखिन्छ।

क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको तर्फबाट ‘क’ र ‘ख’ मा क्रमशः वसन्त बानियाँ र पूर्णसिंह राजवंशी रहेका छन् भने कांग्रेसबाट भूमिप्रसाद राजवंशी र भगिरथ पोदार रहेका छन्। पूर्णसिंहले ०६४ सालमा सिटौलालाई हराएका थिए भने ०७० मा एमालेका बानियाँ पनि पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्