सम्पर्क विहीन पनडुब्बीको व्यापक खोजी



ब्युनर्सआयर्स, (एजेन्सी)
अर्जेन्टिनी नौसेनाले शनिबार तीन दिनदेखि सम्पर्कविहीन २४ जना चालकदलका सदस्य रहेको आफ्नो एउटा पनडुब्बीको साउथ एटलान्टिकमा खोजी शुरू गरिएको जानकारी दिएको छ।
अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्रीले सान हुवाँ नामक उक्त पनडुब्बीलाई यथाशीघ्र पत्तालगाउन सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोतहरू परिचालन गरिएको बताएका छन्।

एउटा नासा अनुसन्धान विमान यसको खोजीमा जुटेको छ। अर्जेन्टिनाको समुद्री तटदेखि ४ सया ३० किमि दूरीमा पनडुब्बी बेपत्ता भएपछि बेलायतलगायत अन्य राष्ट्रहरूले खोजीकार्यमा सहयोग गर्न प्रस्ताव राखेका छन्। पत्रकार सम्मेलनमा नौसेनाका प्रवक्ता एनरिक बाल्बीले भनेका छन्– ‘हामीले पनडुब्बीसँग भिजुअल वा रडार सम्पर्क गर्न सकेका छैनौं।’

डिजेल र विद्युत्बाट चल्ने सो पनडुब्बी दक्षिण अमेरिकाको दक्षिणी पुछारमा रहेको उसुआइयाको नियमित मिसनबाट राजधानी ब्युनर्सआयर्सको दक्षिणमा रहेको मार डेल प्लाटास्थित आफ्नो अखडामा फर्कंदै थियो। यसले बुधबार बिहान अन्तिमपटक नौसैनिक कमान्डसँग सम्पर्क गरेको थियो।

अर्जेन्टिनाको एउटा डेस्ट्रोयर युद्धपोत र अन्य दुईवटा सशस्त्र गस्ती युद्धपोत पनडुब्बीको पछिल्लो पोजिसन क्षेत्र दक्षिणपूर्वी भाल्देज प्रायद्वीपमा खोजी कार्यमा लागिरहेका छन्। तर अझैसम्म त्यसको कुनै सुराकसमेत भेटिएको छैन। बाल्बीले अहिले त्यसको खोजी र उद्धारकार्य संयुक्तरूपमा अघि बढाइएको जानकारी दिएका छन्।

सम्भवतः ऊर्जा आपूर्ति बन्द भएकाले पनडुब्बीले सञ्चार सम्पर्क कायम गर्न नसकेको अनुमान गरिएको छ। तर यदि सञ्चार विच्छेद भएको खण्डमा प्रविधिअनुसार सो पनडुब्बी पानीको सतहमा देखापर्नु पर्दथ्यो। राष्ट्रपति माक्री र सरकार चालकदलका परिवारसँग नियमित सम्पर्कमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्