बीपीका कथामा यौनमनोविश्लेषण



केशव अधिकारी
वि.सं. १९७२ मा भारतको वनारसमा जन्मेका विश्वेश्वरप्रसाद कोइराला राजनीति र साहित्य दुबैका सङ्गम मानिन्छन्। आफ्ना पिता कृष्णप्रसाद कोइरालाले समाज सेवा गरेको आरोप लगाएर राणा सरकारले सर्वस्व हरण गरी स्वदेशबाट लखेटिदिएपछि छिमेकी भारतमा शरण लिन पुग्नुपर्ने बाध्यताले उनलाई नेपालका राणाशासकदेखि निकै रिस उठेको थियो।

त्यही कारणले भारतमै बसेर आफ्नो राजनीतिक पृष्ठभूमि तयार पार्न थाले। जसको परिणाम २००७ सालको राजनीतिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेल्दै राणाशासनको अवसान गराउन राजनीतिका तर्फबाट महत्वपूर्ण योगदान दिए। त्यसपछिको सरकारका उनी गृहमन्त्री बनेर नेपालको राजनीतिमा महत्वपूर्ण योगदान दिएका छन्।

बीपीको खास नाम विश्वेश्वरप्रसाद कोइराला भए पनि उनलाई कसैले बीपी बाबु, कसैले सान्दाजु, यस्तै नामले पुकार्दथे। उनी भारत भूमिमा जन्मेर हुर्केका हुनाले उनको पहिलो लिखित साहित्य भनेको पनि हिन्दी भाषामै लेखिएको थियो। उनी विशेष गरेर भारतीय साहित्यकार पे्रमचन्दबाट अधिक प्रभावित भएका थिए।

उनै प्रेमचन्दले सम्पादन गर्ने हंस नामको पत्रिकामा बीपीका घोसला, पथिकजस्ता कथाहरू छापिएका थिए। यसरी पत्रिकामा आफ्ना कथा छापिएका देखेपछि उनको मनमा अझै हौसला मिल्न पुग्यो। पछि नेपाली भाषामा पनि कथा लेख्नुपर्छ भनेर उनलाई हौसला दिने काम भने सूर्यविक्रम ज्ञवालीले गरेका थिए। वि.सं. १९९२ मा चन्द्रवदन नामको नेपाली कथा पनि छापियो।

यसरी नेपाली साहित्य सिर्जनाको महान् यज्ञमा उनी होमिन पुगे। शायद उनले राजनीतिक पृष्ठभूमि तयार नगरी विभिन्न विधामा साहित्य लेखनकै साधनामा लागेका भए नेपाली भाषाका महान् साहित्यकार बन्न सक्ने थिए होलान् भनेर अनुमान लगाउन सकिन्छ।

सङ्ख्याका दृष्टिले हेर्ने हो भने बीपीका एक कथासङ्ग्रह दोषी चश्मा र चार उपन्यास (तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ र मोदी आइन्) रहेका छन्। साहित्य सिर्जनाको आरम्भमा उनले मनोवैज्ञानिक र यौन मनोविश्लेषणवादी कथाहरू लेखेका छन्। कथा लेखनको पछाडि मात्र उपन्यास लेखनको यात्रालाई अगाडि बढाएका छन्। दोषी चश्मा उनको कथा सङ्ग्रहको नाम हो। यस सङ्ग्रहमा जम्मा १६ वटा मौलिक, मनोवैज्ञानिक र यौनमनोविश्लेषण गरिएका कथा रहेका छन्।

बीपीको कथासङ्ग्रहको शीर्षककै रूपमा रहेको दोषी चश्मा कथा यौनमनोविश्लेषणवादी कति पनि नभएर शुद्ध मनोविश्लेषणवादी मात्र रहेको छ भने कर्नेलको घोडा, पवित्रा, मधेसतिर आदि कथाहरूमा ज्यादै राम्ररी यौनको मनोविश्लेषण गरिएको छ। उनी पश्चिमी साहित्यकार सिगमन्ड फ्रायडबाट अधिक प्रभावित भएर यस्ता कथा लेख्न पुगेका थिए भनेर टिप्पणी गर्न सकिन्छ।
बीपीका यौनमनोविश्लेषणवादी कथामध्ये ‘कर्नेलको घोडा’ कथा निकै उत्कृष्ट कथा मानिन्छ। यस कथामा करिब ४५ को उमेरमा दौडँदै गरेका एकजना कर्नेलले एउटी २० वर्षकी युवती विवाह गर्छन्। विवाह गरेपश्चात् कर्नेलदेखि तरुनी कर्नेल्नी प्रायजसो खुशी रहेकी देखिन्नन्।

जसको कारण २० वर्षकी तरुनी नारीभित्र उर्लेको यौनतिर्खालाई ४५ वर्षको उमेर पार गर्दै गरेका कर्नेलले कसरी तृप्त बनाउन सकून् ? आफूले यौनतिर्खालाई सन्तुष्टि दिन नसकेपछि कर्नेल्नीलाई खुशी पार्न कर्नेलले अनेक कपडा वा अन्य भौतिक सुविधा थपेर पनि कर्नेल्नीलाई खुशी पार्न खोज्छन्। यौनतिर्खा मेटाउने नाममा एकदिन कर्नेलले प्रयास गर्दै गरेका बेला कर्नेल्नीले उनलाई सजिलैसँग अर्कोतिर पल्टाइदिन्छिन्। त्यसपछिका दिनमा त कर्नेल्नी अझै उग्ररुपमा रिसाउन थाल्छिन्। कर्नेलले फकाउने प्रयास गर्दा पनि केही लाग्दैन।

समय बित्दै जाँदा कर्नेल्नी कर्नेलको तबेलामा बाँधेको तरुनो घोडाको स्याहारसुसारमा तल्लीन हुन थाल्छिन्। उनलाई बूढा कर्नेलको त्यति वास्ता लाग्दैन तर घोडाको चाकरमा त्यति धेरै दिलचस्पी लिएकी हुनाले कर्नेलले सम्झाइ–बुझाइ गर्न खोज्छन्। कर्नेल्नीले कर्नेलको कुरा सुन्नै मान्दिनन्। बरु त्यसको साटो ‘मलाई जे गर्दा सन्तुष्ट हुन्छ म त्यही गर्छु, मलाई किन रोक्नु ?’ भनेर उल्टो कर्नेललाई नै थर्कमान पार्छिन्।

समय बित्दैै जाँदा तरुनो घोडा कर्नेल्नीसँग राम्रैसँग रत्तिइसकेको हुन्छ। एकदिन कर्नेल कतै जानलाई घोडामा सवार हुन्छन्। तर पहिलेको सुधो घोडाले उनलाई लडाइदिन्छ र कतै जानै मान्दैन। यो दृश्य गर्वका साथ हेरिरहेकी कर्नेल्नीले कर्नेललाई घोडाले लडाइसकेर उठ्न खोज्दा सहयोग गर्नुको साटो आफैँ घोडाको पिठ्यूँमा फूर्तिसाथ चढेर सजिलैसँग घोडा दौडाउन लाग्छिन्। कर्नेल साहेबले उनलाई विस्फारित नेत्रले हेरिरहेका हुन्छन्। कर्नेल्नीले घोडा ल्याएर रोकी ओर्लनासाथ कर्नेलले घोडालाई तत्कालै गोली ठोकेर मार्छन्।

कर्नेल्नीको दैनिकको स्याहारसुसारले गर्दा घोडा कर्नेल्नीप्रति क्रमशः आकर्षित हुँदै गएको हुनाले कर्नेलप्रतिको उनको इष्र्या बढ्दै गएको कुरा देखाइएको छ। यसलाई केवल यौनविश्लेषण मात्र भन्न मिल्दैन। बरु परिस्थितिले सिर्जना गरेको यो वातावरणले आममानिसको मनोवैज्ञानिक अवस्था यस्तै हुन्छ भन्दा सही होला।

अझ गहिरो विश्लेषण गर्दा के देखिन्छ भने, तरुनी आइमाई भनेको ज्यादै उर्वर भूमिसरह हो। उक्त उर्वर भूमिले सधैँ हराभरा हुनखोज्छ। त्यो उर्वर भूमिलाई सही बीउविजन छरेर हराभरा बनाउन नसक्ने पुरुष के पुरुष ? हुनसक्छ, बरु त्यस वृद्ध पुरुषको तुलनामा तन्नेरो घोडा नै अधिक उर्वरशील रहेको छ। त्यसकारण तारुण्यको मदले सताएकी कर्नेल्नीले तरुनो घोडाको स्याहार गरेर पाउने सन्तुष्टि नै ‘कर्नेलको घोडा’ कथाको अभिष्ट बनेको छ।

बीपीको अर्को यौनमनोविश्लेषणवादी कथा ‘पवित्रा’ हो। यस कथामा एकजना अधबैंसे महिलालाई एक युवक कर्मचारी केशवदेवले भान्से बाहुनीको रूपमा आफ्नो घरमा राखेका छन्। पवित्रा आफैँमा निकै कुरुप छन्। उनका आँखा तानिएका, घाँटी गाँडले नराम्रो देखिएको, देबे्र गोडो दाहिनेभन्दा छोटो भएकोले खोच्याएर हिँड्नुपर्ने अवस्थाकी छन्।

केशवदेवले पवित्रालाई माथि बुइँगलको एउटा कोठामा सुत्ने ठाउँ दिएका छन्। केशवदेव एक्लै हुँदा उनको घरमा पवित्राले कसरी प्रवेश पाइन् भन्ने कुरा स्वयम् केशवदेवलाई पनि थाहा छैन। त्यति कुरुप र पाकी महिलाको स्थानमा अर्की भर्भराउँदी तरुनी नोकर्नी वा भान्से पनि राख्न सक्थे होलान् तर पवित्रामाथि अन्याय हुने मानसिकताले त्यसो गर्न सकेका छैनन्।

केशवदेवको घरमा पवित्राले काम गरेको निकै वर्ष बिते। केशवदेवका मन पर्दा खानेकुरादेखि लिएर अन्य कुरामा पनि के–कस्ता रुचि छन् भनेर पवित्रालाई यावत् कुरा थाहा भइसकेका छन्। केशवदेवले पवित्रालाई केवल भान्से बाहुनी, नोकर्नी वा केको स्थान दिएर वा कुन दृष्टिले हेर्थे भन्ने कुरा अलिकति पनि सङ्केत पाइन्न। तर पवित्राले भने आफ्नो उमेर, आफ्नो कुरुपता सबै बिर्सेर उनको अचेतन मनले केशवदेवलाई एक मालिक नठानेर आफ्नै श्रीमान् वा आफ्नै मान्छेको रुपमा लिन थालिसकेकी छन्।

जसको उद्घाटन जब केशवदेवले आफ्नो विवाहको कुरा पक्का गर्दछन् त्यसपछि पवित्रालाई आकाश लडेर आफूलाई किचेको अनुभव हुनथाल्छ। पवित्राको त्यस बेलाको चोटलाई उनले क्वाँक्वाँ रोएर पखालेकी छन् भने चेतन मनको दुनियाँले के भन्ला भन्ने लाजले तत्कालै गल्ल हाँसेकी छन्। अचेतन मनले आफू अब केशवदेवको जीवनबाट निकै टाढा पुगेको अनुभूति भइरहेको छ। जसको प्रकटरुपमा उनी केशवदेवसँग आफूले सो घरमा बसेर काम गरेदेखिको एकमुष्ट तलब रकम माग गर्छिन्।

केशवदेवले छक्क पर्दै दिएको पैसाबाट सुनका राम्रा चुरा सुनारेलाई बनाउन लगाएर केशवदेवकी नयाँ दुलहीलाई अर्पण गर्छिन्। त्यस बेलामा पनि उनको अचेतन मनले आफू केशवदेवकी कुनै भान्छे बाहुनी वा नोकर्नी नभएर कोही आफन्त भएको कुरा सिद्ध गर्न खोज्दै छन्।

बीपीको यो कथा पनि शुद्धरूपमा यौनमनोविश्लेषण गरिएको नभई हरेक मानवको चेतन र अचेतन मनको अवस्था र त्यस अवस्थाबाट सिर्जना हुने अस्थिरताले के–कस्ता क्रियाकलापहरू गरेर प्रकट हुँदा रहेछन् भन्ने कुरा उदाङ्गो पार्न खोजेको छ। आखिर जे भए पनि नेपाली साहित्यका प्रखर साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यको भण्डारमा नौलो आयामको रूपमा मनोविश्लेषण र यौनमनोविश्लेषणवादी कथा, उपन्यास आदि थपेर समुन्नत बनाउने काम गरेका छन्।

यसै सार्थक प्रयासले उनलाई राजनेताका साथै विशिष्ट साहित्यकारका रूपमा उच्च दर्जामा दर्ज गरेर राखिएको छ। उनी अलि लामो समय बाँच्न सकेका भए शायद नेपाली साहित्यको ढुकुटी अझै समृद्ध बन्ने थियो होला तर मृत्युको अगाडि कसैको केही सीप नचल्ने भएकोले स्मृतिका पानामा उनी जीवित रहनेछन्।

प्रतिक्रिया दिनुहोस्