६ प्रतिशतले मात्रै तिर्छन् कर



छैठौं कर दिवस अवसरमा पुरस्कृत उत्कृष्ट करदाता। तस्वीर ः मोनिका मल्ल/काठमाडौं

नेपाल समाचारपत्र, काठमाडौं।
ल जनसंख्याको ६ दशमलव १४ प्रतिशत अर्थात १६ लाख ३४ हजार जनताले मात्र कर तिर्ने गरेका छन्। वार्षिक रूपमा करको दायरा बढ्दै गए पनि सोही अनुपातमा करदाता भने बढ्न नसकेको देखिएको छ।

छैठांै कर दिवसका अवसरमा शुक्रबार आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २६ प्रतिशतले वृद्धि भएको देखिन्छ। तर, करको दायरामा थपिएका व्यक्ति तथा संस्थाको संख्या भने सोही अनुपातमा बढ्न सकिएको देखिँदैन। विभागले पञ्चवर्षीय रणनीतिक तथा त्रिवर्षीय सुधार योजनाअनुसार थप १ लाख करदातालाई करको दायरामा ल्याउने लक्ष्य राखेको छ। तर, पछिल्ला आर्थिक वर्षका थपिएका करदाताको तुलना हेर्दा उक्त लक्ष्य पूरा गर्न सक्ने देखिँदैन।

कर दिवसका अवसरमा नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले करको मात्रामा नभई दायरामा वृद्धि गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो। ‘कर प्रणाली सुधार गर्न अनुसन्धानमा आधारित कर नीति तर्जुमा, करदाताको आवश्यकतामा आधारित चेतनामुलक करदाता शिक्षा, र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित कर प्रणाली स्थापना गरी करको दायरा बढाउन सकिन्छ।’–मुख्यसचिव रेग्मीले भन्नुभयो।

आन्तरिक राजस्व असुली लक्ष्य २ खर्ब ३३ अर्ब ६० करोड १५ लाख रुपियाँ रहेकोमा २ खर्ब ५८ अर्ब १७ करोड ४९ लाख रुपियाँ असुल भएको देखिन्छ। तुलनात्मक रूपमा कर बढेको देखिए पनि करदाताको संख्याको वृद्धि अनुपात कम देखिन्छ। अर्थ मन्त्रालयका सचिव शंकर अधिकारीले करदाताको संख्यामा वृद्धि गर्न राजनीतिक संक्रमणको अन्त्यसँगै प्रशासनिक पुर्नसंरचना र वित्तीय पुर्नसंरचनामा मुलुक जानुपर्ने बताउनुभयो। अधिकारीले कर कानुनलाई सुधार गर्नुपर्ने, केन्द्रीय राजस्व बोर्डको गठन गर्नुपर्ने तथा अन्तर सरकारी वित्त हस्तान्तरणलाई प्रमुख मुद्दा बनाइनुपर्ने बताउनुभयो।

आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले गुणस्तरीय कर मूल्यांकनका लागि करको दायरामा विस्तार, कर प्रणालीमा आधुनिक सूचना प्रविधिको प्रयोग र विद्यमान कर प्रणालीलाई आधुनिक गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले कर तिर्नमा शून्य सहनशीलताको सिद्धान्त स्वीकार्य भएको तर करदातालाई राज्यले उचित सम्मान गर्नुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छाले ९५ प्रतिशत उद्योगी व्यापारीले कर तिर्न चाहेको र करसँग सम्बन्धित निकायले अनुगमन गर्ने मात्र नभई समन्वय पनि गर्नुपर्ने बताउनुभयो। राजस्व न्यायाधीकरणमा ५० प्रतिशत र प्रशासकिय पुनरावलोकनमा धरौटी राख्नुपर्ने व्यवस्थालाई हटाउनुपर्नेमा गोल्छाले जोड दिनुभयो। कर निरूपणका लागि स्थापी प्रकृतिको कुनै एक संस्था गठन गरिनुपर्ने र राजस्व न्यायाधीकरण ऐन २०३१ मा आवश्यक संशोधन गर्न पनि उहाँले आवश्यकता औंल्याउनुभयो।

करदाता शिक्षाको अभावमा कतिपय दुर्गम क्षेत्रका उद्योगी व्यवसायीहरूले दण्ड जरिवानासहित कारबाही भोगिरहेको भन्दै करका बारेमा निकै तल्लो तहसम्म बहस गरिनुपर्ने गोल्छाले बताउनुभयो।
केन्द्रीय बिजक अनुगमन प्रणाली लागू

कर दिवसकै अवसरमा शुक्रबारबाटै आधिकारिक रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीको पनि शुरू गरिएको शुरूवात गरिएको छ। कम्प्युटर सफ्वेयरमा आधारित उक्त प्रणालीबाट कर तिर्दा विभागलाई रियल टाइम विलिङका बारेमा जानकारी हुने विभागका महानिर्देशक किशोरजंग कार्कीले बताउनुभयो।

उक्त प्रणालीमा जोडिएका मुलुकभरीका करदाताको जानकारी केन्द्रीय कार्यालयमा उपलब्ध हुनेछ भने करको पारदर्शितामा पनि ठूलो सहयोग पुग्ने कार्कीले बताउनुभयो।
ठूला करदाता सम्मानित

छैठौं कर दिवसको अससरमा गतवर्ष आयकरमा बढी कर तिर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ। गत आर्थिक वर्षमा सूर्य नेपाल प्रालिले सबैभन्दा बढी आयकर तिरेको छ। सूर्य नेपाल गतवर्षको पनि सबैभन्दा ठूलो आय करदाता कम्पनी हो।

व्यवसायी सिद्धार्थ शमशेर जबरा चौंथोपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बन्नुभएको छ। जबरा सिप्रदी ट्रेडिङ लिमिटेडका कार्यकारी अध्यक्ष हुन। व्यापार र व्यवसायतर्फ धेरै आय कर तिर्ने कम्पनीका रूपमा पनि राणाकै कम्पनी सिप्रदी ट्रेडिङ सम्मानित भएको छ।

सबैभन्दा बढी आयकर तिर्ने निर्यातकर्ता कम्पनीका रूपमा भर्सन्ड टेक्नोलोजी देखिएको छ। त्यस्तै राष्ट्रिय बिउबिजन कम्पनी कृषि तथा पशुपंक्षी क्षेत्रतर्फ उत्कृष्ट आयकरदाताका रूपमा ठहरियो। विशेष उद्यमशीलता क्षेत्रमा हिमाल पावर लिमिटेड, सूचना प्रविधि क्षेत्रमा वल्र्ड लिंक प्रालि, पर्यटन व्यवसायमा टाईगर टप्स प्रालि र स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा त्रियोग उच्च माध्यामिक विद्यालयले सबैभन्दा बढी कर तिरेको छ। सबैभन्दा बढी मूल्यअभिवृद्धि कर (भ्याट) तिर्ने कम्पनीको सम्मान पवनकुमार इन्टरनेशनलले पाएको छ।

यसैगरी सहकारीतर्फ राष्ट्रिय सहकारी बैंक, बैंक वित्तीय संस्था तथा लघु वित्ततर्फ हिमालयन बैंक उत्कृष्ट आय करदाताको रूपमा सम्मानित भएका छन। मझौला करदातामा गोर्खा डेभलपमेन्ट बैंक र डा. उपेन्द्र देवकोटा उत्कृष्ट करदाता बन्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्