सिंगापुरद्वारा व्यापार सम्बन्ध निलम्बन



सिंगापुर, (एजेन्सी)
संयुक्त राष्ट्र संघ र संयुक्तराज्य अमेरिकाले विवादास्पद आणविक हातहतियार कार्यक्रम चलाएका कारण कडा नीति लिइइको उत्तर कोरियासँग सिंगापुरले शुक्रबार सम्पूर्ण व्यापार सम्बन्ध निलम्बन गरेको छ।

सिंगापुुर भन्सार कार्यालयहरूले ८ नोभेम्बरदेखि उत्तर कोरियाबाट नै सिंगापुरतर्फ आउने र उत्तरतर्फ जाने सम्पूर्ण सरसामानमाथि प्रतिबन्ध लगाइएको र सो प्रतिबन्ध उल्लंघन गर्नेलाई आर्थिक जरिवाना र अधिकतम दुई वर्ष लामो कारावास सजाय हुने जनाइसकेका छन्।

उत्तर कोरियाले आफ्नो छैठौं आणविक परीक्षण गरेपछि संयुक्त राष्ट्र संघले उत्तरमाथि नाकाबन्दी लगाएको थियो। उत्तर कोरियासँग शून्य दशमलव दुई प्रतिशत मात्र व्यापार गरे पनि सन् २०१६ मा सिंगारपुर प्योङयाङको आठौं सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको थियो। प्योङयाङको सबैभन्दा ठूलो आर्थिक सहयोगी मुलुक चीनसँग उत्तरको सबैभन्दा बढी परिमाणमा व्यापार हुँदै आएको छ।

संयुक्त राष्ट्र संघको पछिल्लो नाकाबन्दीको लक्ष्यमा सिंगापुरका दुईवटा व्यापारिक कम्पनी र अन्य थुप्रै व्यापारीहरू परेका छन्।

सन् २०१६ को जनवरीमा संयुक्त राष्ट्र संघले प्योङयाङमाथि लगाइँदै आएको नाकाबन्दी उल्लंघन गरी क्युबाबाट आएको हातहतियारको सिपमेन्ट उत्तर कोरियातर्फ पठाएको आरोपमा सिंगापुरको चिन्पो सिपिङ कम्पनीलाई १ लाख २५ हजार ७ सय अमेरिकी डलर जरिवाना गरिएको थियो। अमेरिका र संयुक्त राष्ट्र संघले लामो समयसम्म नाकाबन्दी लगाइएपछि उपभोग्य वस्तुको अभावको कारण अन्ततः उत्तर कोरियाले घुँडा टेकेर आणविक कार्यक्रम रोक्ने अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्