निःशुल्क शिक्षाको माग गर्दै हजारौं विद्यार्थी सडकमा



लन्डन, (एजेन्सी)
बेलायतको सेन्ट्रल लन्डनस्थित बेलायती संसद्अगाडि ६० वटा कलेजका १० हजारभन्दा बढी विद्यार्थीले र्याली निकालेका छन्। विद्यार्थीहरुले सरकारले विश्वविद्यालय र कलेजमा ग्र्याजुएसनको पढाइ निःशुल्क गर्न माग गर्दैै उक्त र्यालीको आयोजना गरेका हुन्। विद्यार्थी प्रदर्शनकारीहरुले नाराबाजी गर्दै हावामा रातो रंग फ्याँकेर विरोध गरेका थिए।

उनीहरुले आगामी हप्ता संसद्मा हुने बजेट सत्रमा सरकारले विद्यार्थीका लागि निःशुल्क शिक्षाको घोषणा हुनुपर्ने बताए। शिक्षा सबैका लागि हुनुपर्ने, सम्पन्नका लागि मात्र हुन नहुने नाराबाजी गरेका थिए। बेलायतमा अन्डर ग्र्याजुएट डिग्रीका लागि एक विद्यार्थीलाई १० हजार पाउन्ड खर्च लाग्छ।

३ वर्षमा करिब ३० हजार पाउन्ड शुल्क तिर्नुपर्ने हुन्छ। बेलायतमा पढाइ विश्वको सबैभन्दा महँगो मानिन्छ। एक सर्वेक्षणले करिब २० प्रतिशत नागरिकको आधा तलब बच्चाको पढाइ शुल्क तिर्नमा खर्च हुन्छ। लन्डन सेन्ट्रल स्कुलकी २० वर्षीया नताशा रायनले भनिन्– ‘मेरा अभिभावक मेरो पढाइ शुल्क बेहोर्न असमर्थ छन्। त्यसैले मलाई पढाइसँगै काम पनि खोज्नुपरेको छ।’

सञ्चारमाध्यमका अनुसार यो बेलायतको अहिलेसम्मकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन हो। यति धेरै विद्यार्थी आफ्नो माग पूरा गर्न सरकारलाई दबाब दिनका लागि सडकमा ओर्लेको पहिलो घटना हो। विपक्षी लेबर पार्टीले विद्यार्थीको मागमा समर्थन गरेको छ। लेबर नेता जेर्मी कार्बाइनले सरकारले विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्