विद्यालय पुनर्निर्माणमा २६ अर्ब



ईश्वरराज ढकाल, काठमाडौं
भूकम्पले ध्वस्त भएका विद्यालय पुनर्निर्माणमा २६ अर्ब रुपियाँ सकिएको छ। विद्यालय भवन पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइले हालसम्म २ हजार ७ सय विद्यालय भवन पुनर्निर्माणको काम खर्च भएको जनाएको छ।

एकाइ प्रमुख सहसचिव इमनारायण श्रेष्ठले भूकम्पले ध्वस्त ७ हजार ९ सय २३ वटा विद्यालय भवन पुनर्निर्माण गर्दा उक्त रकम सकिएको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म १ हजार ३ सय निर्माणको चरणमा रहेको, ५ सय छनोटको प्रक्रियामा र १ हजारको सूची तयारीको अवस्थामा रहेको जानकारी दिनुभयो। ‘यो वर्ष हामी थप १ हजार विद्यालय भवन पुनर्निर्माण गर्ने तयारी गरिरहेका छांै।’ –उहाँको दाबी छ।

प्राविधिक कठिनाइ, सामग्रीको अभाव र केही स्थानमा राजनीतिका कारण भवन पुनर्निर्माण समस्या परेको जानकारी गराउँदै कुनै समस्या नभए अबको तीन वर्षमा सम्पूर्ण विद्यालय भवन निर्माण सम्पन्न भइसक्ने बताउनुभयो। सरकारले समयमै बजेट उपलब्ध गराए अबको तीन वर्षमा पुनर्निर्माणको काम सक्ने दाबी एकाइको छ।

सरकारले रकम विनियोजनलाई कस्तो प्राथमिकतामा राखेको छ त्यहीअनुसार काम शुरू हुने श्रेष्ठले जानकारी दिनुभयो। स्थानीय तहको निर्वाचनपछि आएका स्थानीय प्रतिनिधिले विद्यालय भवन पुनर्निर्माण गर्न प्राथमिकता दिएका कारण अहिले समयमै भवन निर्माण कार्य भइरहेको एकाइको भनाइ छ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण केही जिल्लामा विद्यालय भवन पुनर्निर्माण स्थगित भएका छन्। धादिङ, नुवाकोट, सिन्धुपाल्चोकलगायतका करिब एक दर्जन जिल्लाको विद्यालय भवन पुनर्निर्माणको काम ठप्प भएको छ। काम ठप्प भएका जिल्लामा पुनर्निर्माण प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको जानकारी गराउँदै एकाइ प्रमुख श्रेष्ठले भन्नुभयो– ‘निर्वाचन वा अन्य कुनै पनि बहानामा विद्यालय भवन पुनर्निर्माणमा अवरोध नगर्न सबैलाई आग्रह गरिरहेका छौं।’

भूकम्पले ध्वस्त भएकामध्ये दुई र तीनकोठे गरी विद्यालय पुनर्निर्माण हुन लागेको हो।

सरकारले रकम नदिँदा यो हिउँदमा पनि लाखौं विद्यार्थी टिनको अस्थायी टहरामा पढ्न बाध्य भएका छन् भने कोही खुला आकाशमा बसेर पढिरहेका छन्। रकम कबुल गरेकामध्ये एनजीओ र विद्यालय व्यवस्थापन समितिमार्फत् निर्माण गरिएको विद्यालय भवन मात्रै पुनर्निर्माण भइरहेको छ। अब विद्यालय व्यवस्थापन समितिमार्फत् विद्यालय भवन पुनर्निर्माण गर्दा ४० अर्ब रुपियाँ खर्च हुने र टेन्डरमार्फत् पुनर्निर्माण गर्दा त्यसको डबल झन्डै ८० अर्ब रुपियाँ खर्च हुने अनुमान एकाईले गरेको छ। विद्यालय व्यवस्थापन समितिमार्फत् विद्यालय भवन निर्माण गर्दा सरकारलाई समेत सहज हुने श्रेष्ठको भनाइ छ।

उहाँले एडीबी र जाइकासँग सम्झौता भएका १ सय २७ वटा विद्यालय पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। एकाईका प्रमुख श्रेष्ठले भारत र चीन सरकारले सम्झौता गरेका विद्यालय भवन पुनर्निर्माणको क्रममा रहेको जानकारी गराउँदै भन्नुभयो– ‘दातृ निकायको सहयोगले गर्दा पनि विद्यालय भवन पुनर्निर्माणले तीव्रता पाएको हो।

भारतले नेपाल सरकारसँग सम्झौता गरेर मात्रै पुनर्निर्माण गर्ने र चीनले विस्तृत अध्ययनपछि मात्रै निर्माण शुरू गर्ने जनाएको थियो। तीमध्ये भारत सरकारको काम अघि बढ्ने तयारीमा रहेको छ। तथ्यांकअनुसार ध्वस्त भएका विद्यालय भवन पुनर्निर्माण गर्न १ खर्ब ६७ अर्ब रुपियाँ लाग्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्