बहुउद्देश्यीय भवन निर्माणका लागि महायज्ञ शुरू



भक्तपुर, (नेस)।
बहुउद्देश्यीय सामुदायीक भवन निर्माणका लागि भक्तपुर नगरपालिका–५ भेलुखेलमा आजदेखि श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ शुरू भएको छ। भेलुखेलमा पुस्तकालय, क्लब, हललगायतका विभिन्न सामुदायीक कार्यका लागि उपयोग गर्न मिल्ने गरी भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको आयोजक समितिका संयोजक चरण द्यौलाले जानकारी दिनुभयो।

प. रामकृष्ण उपाध्यायबाट कथा वाचन हुने महायज्ञ आगामी ७ गते सम्पन्न हुनेछ। महायज्ञबाट भवन निर्माणका लागि आवश्यक पर्ने करिब रु. ३० लाख संकलन गर्ने लक्ष्य राखिएको आयोजक समितिका व्यवस्थापक बाबुरत्न द्यौलाले जानकारी दिनुभयो।

महायज्ञको पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभएको थियो। उहाँले भक्तपुर चौतर्फी रुपमा धार्मिक क्षेत्रले घेरिएको जिल्ला भएकाले यस जिल्लालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नु आवश्यक रहेको औंल्याउनुभयो। यसअघि बिहान महायज्ञ स्थलबाट निकालिएको कलश यात्रा भक्तपुर नगरपालिकाको विभिन्न क्षेत्रको परिक्रमा गर्दै महायज्ञस्थल पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्