प्लस टु – पछिको शिक्षा



ईश्वरराज ढकाल

माध्यामिक शिक्षा (प्लस टु) तह पूरा भएपछि बल्ल विद्यार्थीको भविष्यको बाटो प्रस्ट हुन थाल्छ। अझ भनौं, भविष्यको रेखा कोर्ने कार्यको थालनी हुन्छ। हुन त विद्यार्थीले प्लस टुमा भर्ना हुँदाखेरी नै भविष्यको लक्ष्यका बारेमा सोचिसकेका हुन्छन्, तर प्लस टुको नतिजाले मात्र उनीहरुको सोचाइका खाकाले सार्थकता पाउने गर्दछ। एसएलसी परीक्षाको नतिजाका आधारमा भविष्यमा चिकित्सक बन्ने लक्ष्य लिएको हुनसक्दछ, तर प्लस टुमा चाहेजस्तो नतिजा प्राप्त हुन नसक्दा विद्यार्थीको बाटो अन्यत्र मोडिन सक्दछ। अनि विज्ञान विषय लिएर उच्च शिक्षा अध्ययन गर्ने यात्रा शुरु हुन्छ वा संकाय परिवर्तन गरेर स्नातक तहमा भर्ना हुने निष्कर्षमा विद्यार्थी पुग्दछन्। त्यसैले विद्यार्थीको भविष्य प्लस टुको नतिजाका आधारमा हुन्छ भन्न सकिन्छ।

सही सुझाव वा परामर्शको अभावमा विद्यार्थीले गलत निर्णय लिन पनि सक्दछन्। स्वदेशमै पढ्ने वा विदेशतर्फ लाग्ने ? होटेल व्यवस्थापन विषय लिने वा बीबीएमा भर्ना हुने ? नर्सिङ पढ्ने वा बीएससीका लागि भर्ना हुने ? शिक्षाशास्त्र विषय लिएर अध्यापक बन्ने वा व्यवस्थापन विषय लिएर कुशल व्यवस्थापक बन्ने ? सरकारी क्याम्पसतर्फ लाग्ने वा निजी शिक्षण संस्थामा भर्ना हुने ? लगायतका विषयमा निर्णय लिन विद्यार्थीलाई पक्कै पनि सजिलो हुँदैन। यी कुराहरु विद्यार्थीको बौद्धिक तथा आर्थिक क्षमतामा निर्भर गर्दछ। विषय छनोटमा केही हदसम्म सामाजिक तथा पारिवारिक भूमिका पनि जोडिन आउँछ। नेपालमा स्नातक तहमा चिकित्सा विज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेदिक, संस्कृत र कानुन संकाय छन्। अन्य विषयमा स्नातक तह उत्तीर्ण गरेकाले मात्रै कानुनको स्नातक तहमा भर्ना हुन पाइन्छ।

कस्ता छन् विषय
विद्यार्थी संख्याका आधारमा सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय हो। शिक्षा मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी विद्यार्थी भर्ना त्रिविमा भएका छन्। ठूलो विश्वविद्यालय भएर होला त्रिविमा पढ्ने विद्यार्थीको संख्या ह्वात्तै बढेर गएको छ। त्रिविले स्नातक तहमा नर्सिङ, आयुर्वेद (बीएएमएस), एमबीबीएस, बीबीए, बीसीए (हाल चार वटा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालित) बी फार्मेसी, बी फर्मा, बीएन, बीई (सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्स), बी टेक, बीएससी टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, बीएससी न्युट्रिसन एन्ड डाइटिटिक्स), बीएससी एजी, बीएससी फरेस्ट, बीबीए, बीए, बीएडलगायतका विषय सञ्चालन गर्दै आएको छ। अहिले अधिकांश विश्वविद्यालयले स्नातक तहमा सेमेस्टर प्रणाली लागू गरिसकेका छन्।

६–६ महिनामा परीक्षा लिने भएर होला व्यवस्थापन संकायको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको पाइन्छ। काठमाडौं विश्वविद्यालयले बीएससी इन एप्लाइड फिजिक्स, बीएससी फार्मेसी, बीएससी इन इन्भाइरोमेन्टल साइन्स, बीएससी इन हुमन बाइलोजी, बीई (सिभिल, कम्प्युटर, मेकानिकल, जियोम्याटिक्स), बीए बुद्धिस्ट इस्टडिज, बीए फाइन आर्टस्, एमबीबीएस, बीएससी नर्सिङ, बीडीएसलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, केयूले स्नातक तहमा व्यवस्थापन विषयमा अध्यापन शुरु गरिसकेको छैन। गत वर्ष केयूमा स्नातक तहमा ८ हजार विद्यार्थी भर्ना भएका थिए। पूर्वाञ्चल विश्वविद्यालयको झन्डै १ सय २५ क्याम्पसमध्ये तीन वटामात्र आङ्गिक छन्, बाँकी सबै सम्बन्धन प्राप्त छन्। यस विश्वविद्यालयले बीए एलएलबी, बीबीए, बीएचएम, बीटीटी (ट्राभल एन्ड टुरिज्म), बीएफडी (फेसन डिजाइ), बीएमटी (मेडिया टेक्नोलोजी), बीजेएमसी (जर्नलिज्म एन्ड मास कम्युनिकेसन्स), बीई (सिभिल, कम्प्युटर, आर्किटेक्ट, बायोमेडिकल), बीएससी बायोटेक्नोलोजी, बीपीएच, बीएससी नर्सिङ, बी फार्मेसीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पोखरा विश्वविद्यालयले बीई (सिभिल, सिभिल एन्ड रुरल, सफ्टवेयर, आर्किटेक्ट), पब्लिक हेल्थ, नर्सिङ, फर्मास्युटिकल्स साइन्स, बीबीए, बीएचएम, बीसीआईएस, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट, ब्याचलर अफ डेभलपमेन्ट स्टडिजलगायतका विषयमा पठनपाठन गर्दै आएको छ। पोखरा विश्वविद्यालयले गत वर्ष स्नातक तहमा झन्डै १५ हजार विद्यार्थी भर्ना लिएको थियो।

कृषि तथा वन, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि शैक्षिक कार्यक्रम शुरु गरेका छन्। कृषि तथा वन विश्वविद्यालयले बीएससी एजी, बीएससी फरेस्ट्री तथा बीएससी भेटनरी साइन्स एन्ड एनिमल हस्वेन्डरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीबीएस, बीए, बीएससी तथा बीएड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीएड, बीबीएस, बीए र बीएससी कम्प्युटर साइन्स विषयमा पठनपाठन शुरु गरेका छन्। सुप विश्वविद्यालयले बीबीएस र बीए ४ वर्षे अनर्स कार्यक्रम चलाएको छ भने यस वर्षबाट बीएससी र बीई सिभिल कार्यक्रम शुरु गर्दै छ।

भर्ना समय
प्लस टुको नतिजासँगै विश्वविद्यालय तथा प्रतिष्ठानहरुले नयाँ विद्यार्थी भर्नाको आह्वान गर्ने गरेका छन्। अझ त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानले नयाँ भर्नाको विज्ञापन गरी भर्ना सकेको अवस्था छ। कतिपयको भर्ना प्रक्रिया आगामी पुस⁄माघसम्म चलिरहेको हुन्छ। नाम चलेका शिक्षण संस्थाले भने भर्ना प्रक्रिया सकेर मंसिरदेखि पढाइ शुरु गर्ने तयारी गरेका छन्।
शुल्क र छात्रवृत्ति
विश्वविद्यालय र विषयपिच्छे शुल्क फरक–फरक हुन्छ। आङ्गिक क्याम्पसमा तुलनात्मकरूपमा कम खर्चमै अध्ययन गर्न सकिन्छ। सम्बन्धन लिएका निजी कलेजहरु बढी महँगा छन्।

नेपालमा सबैभन्दा महँगो शिक्षा एमबीबीएस हो। एमबीबीएस तह अध्ययन गर्दा करिब ४५ लाख रुपियाँ खर्च लाग्छ। इन्जिनियरिङ विषय अध्ययन गर्दा सरदर ८ लाख रुपियाँ लाग्छ। इन्जिनियरिङमा विद्यार्थीको सबैभन्दा बढी चाप सिभिल, आर्किटेक्ट र कम्प्युटरमा हुन्छ। सबैभन्दा कम खर्चिलो शिक्षा त्रिविको मानविकी र शिक्षाशास्त्र हो। विज्ञान, व्यवस्थापनलगायतका संकायमा विषय र कलेज हेरी १० हजारदेखि ५ लाख रुपियाँसम्म खर्च लाग्न सक्दछ।

यसबाहेक नेपालका निजी कलेजहरुले पनि विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउने गरेका छन्। निजी शिक्षण संस्थाहरुले ‘बार्गेनिङ’ लाई छात्रवृत्तिका रूपमा परिभाषित गर्ने गरेका छन्।

विदेशी सम्बन्धनका कलेज
नेपालमा विदेशी विश्वविद्यालय तथा संस्थाबाट सम्बन्धन लिएर सञ्चालित कलेजहरु पनि थपिँदै छन्। विदेशी विश्वविद्यालयमा भर्ना भई पढ्ने चाहनालाई घरपरिवारमै बसेर पूरा गर्न सकिन्छ। अझ विदेशमा गई अध्ययन गर्दा लाग्ने कुल खर्चको सरदर १० प्रतिशत रकममा नेपालमा खुलेका विदेशी सम्बन्धन प्राप्त कलेजमा अध्ययन गर्न सकिन्छ। त्यस्ता शिक्षण संस्था करिब ८० वटा पुगे पनि स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने कलेजहरु करिब २६ वटा छन्।

यी कलेजहरुले बीसीए, बीबीए, बीकम, बीएससी एफडी, बीटीएम, बीएससी बीटी, बीएचएम, बीएजेएम, बीएससी आईटी, बीएससी कम्प्युटिङ, बीएससी मल्टिमिडिया टेक्नोलोजी, बीबीएमलगायतका विषयहरु उपलब्ध गराएका छन्। शिक्षा मन्त्रालयले मलेसिया, सिंगापुर, भारत, यूके, अमेरिका, स्विजरल्यान्ड, अस्ट्रिया, अस्ट्रेलिया, फिलिपिन्स, थाइल्यान्डका विश्वविद्यालयहरुका सम्बन्धन प्राप्त कलेजहरुलाई अनुमति दिएको छ। यस्ता कलेजहरुमा अध्ययन गर्न विषय र विदेशी संस्थाअनुसार ३ देखि १२ लाख रुपियाँसम्म खर्च लाग्छ।
दूर शिक्षाबाट पनि
दूर शिक्षाका माध्यमबाट पनि स्नातक तह अध्ययन गर्न सकिन्छ। विदेशी विश्वविद्यालयका कार्यक्रमहरु अनलाइनमाध्यमबाट पनि अध्ययन गर्न सकिन्छ। दूर शिक्षाका माध्यमबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाहरु करिब १० वटा पुगिसकेका छन्। उनीहरुले बढीजसो भारतीय विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्ने गरेका छन्। काठमाडौं विश्वविद्यालयले शिक्षाशास्त्र विषयमा पनि दूर शिक्षाका माध्यमबाट पठनपाठन गर्दै आएको छ। त्रिविले पनि दूर शिक्षाको माध्यमबाट कक्षा सञ्चालन गरेको छ।

किन पढ्ने म्यानेजमेन्ट
कुनै पनि व्यापारीक कार्यालय होस् वा वित्तीय संस्था सबैले अर्थसँग जोडेका कामका लागि बीबीए वा बीबीएस पढेका विद्यार्थी नै खोजेका हुन्छन्। १२ सकेर बसेका विद्यार्थीको पहिलो रोजाइ बीबीएस वा बीबीएतिर नै हुन्छ। व्यस्थापन संकायअन्तर्गत बीबीए, बीबीएस, बीएचएम, बीआईटी, बीडीएचएम विषयमा माग बढी भएर होला विद्यार्थीको आकर्षण यस्तै विषयमा हुन्छ। विदेश जान लालायित विद्यार्थीले पनि राम्रो काम पाउने आशमा यस्तै विषय छनोट गर्ने गरेका छन्।

आर्थिक क्षेत्रमा लगानी गर्नेको संख्या बढ्दै गएपछि बीबीएस, बीबीए, बीएचएमलगायतका व्यवस्थापनको विषयमा पढ्ने विद्यार्थीको संख्या पनि ह्वात्तै बढेको त्रिविका उपकुलपति प्राडा तीर्थ खनिया बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘यो वर्ष सम्बन्धन र आंगिक गरी त्रिविअन्तर्गत व्यवस्थापन संकायमा अध्ययन गर्नेको संख्या १ लाख ३० हजार छन्। गतवर्षको तुलनामा यो वर्ष व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीको संख्या ३४ प्रतिशतले बढी छ। त्रिविमा करिब ३ लाख ९८ हजार विद्यार्थी अध्ययनरत छन्। पहिला शिक्षा र मानविकी संकायमा विद्यार्थीको घुइँचो बढेको थियो।’ गोल्डेनगेट कलेजका सीईयो रमेश सिल्वाल भन्नुहुन्छ– ‘उद्योग कलकारखाना, सर्भिस सेन्टर, बैंक वित्तीय संस्था बढेको र विदेशमा जाने अवसर पाउने भएर पनि होला ती विषयमा भर्ना हुने विद्यार्थीको संख्या बढेको छ। तीमध्ये पनि बीबीएस र बीबीए पढ्ने विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।’
स्नातक तहमा पढाइ हुने बीबीएस अर्थात् ब्याचलर इन बिजनेस स्टडिज विषय आजभोलि निकै लोकप्रिय बनेको छ। वि.सं. २०३० बाट नेपालमा व्यवस्थापन विषय भित्रिएको हो।

पहिला त्रिभुवन विश्वविद्यालयले मात्र व्यवस्थापन विषयको पढाइ शुरु गरेको थियो। अहिले काठमाडौं, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयले समेत यस विषयको कक्षा सञ्चालन गर्दै आएको छ। त्रिविले शुरुमा व्यवस्थापन विषय स्नातक तहमा २ वर्षे बी कमबाट संकायको शुरुआत गरेको थियो। अहिले ३ वर्षीय बीबीएस र समेस्टरअन्तर्गत बीबीएको कक्षा सञ्चालन गर्दै आइरहेको छ। त्रिविले वि.सं. २०५४ बाट खारेज गर्यो र २०५५ देखि त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा बीबीएस संकायको नयाँ कार्यक्रम लागू गर्यो।

व्यवस्थापन विषयबारे ज्ञान दिनका लागि बीबीएसको पढाइ शुरु गरेको हो। बी कममा एकाउन्ट विषयलाई मात्र लक्षित गरिएको थियो। व्यवस्थापन संकायअन्तर्गत नेपालमा बीबीएस पढाइ हुने कलेजहरुको संख्या सरकारी, निजी र पब्लिक गरी ३ सयको हाराहारीमा छ।
बीबीएस तहको कक्षा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजले समेत सञ्चालन गर्दै आइरहेका छन्। नेपालमा मल्पी, इस्लिङ्टन, हेराल्ड, द ब्रिटिस, नामी, प्रेसिडेन्सियल, लर्डबुद्ध एजुकेसन फाउन्डेसनलगायतका कलेजमा समेत विदेशी बीबीए संकायको कक्षा सञ्चालन हुँदै आएको छ। बीबीएका लागि त्रिभुवन विश्वविद्यालयको शंकरदेव, नेपाल कमर्स क्याम्पस र पब्लिक युथलगायतका करिब १५ वटा आंगिक कलेजमा यो विषय पढाइ हुन्छ। २०५८ देखि बीबीएसको पढाइ शुरु गरिएको हो।

अहिलेसम्म करिब ४९ हजारले बीबीए र बीबीएस तहको पढाइ गरेका छन्। वास्तवमा प्रयोगात्मक कक्षा सञ्चालन हुने भएर होला बीबीएको स्कोप बढ्न थालेको। बीबीएभन्दा पनि बीबीएसको माग बढ्दै गएको छ। गोल्डेनगेट कलेका सीईओ रमेश सिलवालले बीबीएसमा पढ्ने ६० र बीबीएका ४० प्रतिशतले रोजगारको अवसर पाउने गरेको दाबी गर्नुभयो। उहाले भन्नुभया– बीबीएमा नयाँ विषय थपेपछि बीबीएस पढाउने कलेजले समेत इन्टर्नसिपको व्यवस्था गरेको छ। नयाँ टेस्ट दिन भन्दै अधिकांश निजी कलेले बीबीएसको सुधार गर्दै गएका छन्। सेमेस्टर प्रणलीमा पढाइ हुने, ग्रेड्रिङमा नतिजा, शैक्षिक क्यालेन्डरअनुसार चलेको, अनिवार्यरूपमा इन्टर्नसिपको व्यवस्था भएकाले पनि बीबीएको पढाइ बढ्दै गएको छ।

अहिले त्रिविले व्यवस्थित गर्ने भन्दै बीबीएको सम्बन्धन दिएको छैन। बीबीएस १ हजार ४ सय पूर्णाङ्कको थियो। ४ वर्षे बीबीएससँगै ४ वर्षे बीबीएको पनि २ हजार पूर्णाङ्क कायम गरेको छ।

 

विदेशमा छाप छोड्दै नेपालको एकमात्र
शैक्षिक संस्था मल्पीः सुमन्त झा
आजभोलि नेपालको शिक्षा क्षेत्रको कुरा गर्ने हो भने एकदमै दयनीय अवस्थामा छ । जसको मुख्य कारण राजनैतिक अस्थिरता हो। शिक्षा क्षेत्रमा परेको राजनीतिक प्रभाव हो। राजनीतिक अस्थिरता र प्रभावका कारण आज लाखौं विद्याथी विदेश पलायन भइरहेका छन्। अर्को मुख्य कारण यहाँका शैक्षिक संस्था सेवामुखी हुनुको साटो व्यवसायीमुखी हुनु पनि हो। यी सबका बीच बालुवाटारस्थित मल्पी इन्टरनेसनल कलेजले नेपालको शिक्षा क्षेत्रमा एउटा छुट्टै छाप छोडेको छ। नेपाल मात्र नभएर विदेशमा पनि यसको प्रभाव पर्दै गएको पाइन्छ।

जहाँ हामी अर्कोतर्फबाट हेर्दा उच्च शिक्षाका लागि भारत, बंगलादेश, चीन, बेलायत तथा युरोपका विभिन्न देशमा जाने गरेका छौं। त्यस्तै उच्च शिक्षाका लागि भारत, चाइना, तिब्बत, रसियाबाट पनि मल्पी आइरहेका छन्। मल्पी स्कुलबाट शुरु गरेको आज मल्पी इन्टरनेसनल कलेजसम्म पुगिसकेको छ जहाँ बीबीए, बीबीए, बीआई जस्ता स्नातक कोर्सहरु अध्यापन भइरहेका छन् । आउँदा दिनमा एमबीए, एमबीए इन आईटीका लागि योजना शुरु गरिसकेको छ। यदि यसरी नै अघि बढेमा भोलिका दिनमा मल्पीलाई मल्पी विश्वविद्यालयको रूपमा स्थापना गर्ने धेरैको चाहना छ। मल्पी इन्टरनेसनल कलेजले बजारका लागि विभिन्न क्रियाकलापमा विद्यार्थीलाई समावेश गराएमा बजारका लागि उपयुक्त हुने देखिएको छ।
इन्टरर्नसिप र प्लसमेन्ट जस्ता सुविधा दिएर विद्यार्थीको भविष्य सुनिश्चित देख्ने गरेको पाइन्छ। मल्पी इन्टरनेसनल कलेजले विद्यार्थीमा अनुशासन, सामाजिक उत्तरदायित्व, बजार अनुसन्धान र विकास जस्ता विषय समावेश गराई स्ट्यान्डर कायम गरेको छ। यसैका कारण होला मल्पी नेपालको उत्कृष्ट शिक्षालयको रूपमा विकास भएको पाइन्छ।

नेपालमा सबैभन्दा महँगो शिक्षा एमबीबीएस हो। एमबीबीएस तह अध्ययन गर्दा करिब ४५ लाख रुपियाँ खर्च लाग्छ। इन्जिनियरिङ विषय अध्ययन गर्दा सरदर ८ लाख रुपियाँ लाग्छ। इन्जिनियरिङमा विद्यार्थीको सबैभन्दा बढी चाप सिभिल, आर्किटेक्ट र कम्प्युटरमा हुन्छ। सबैभन्दा कम खर्चिलो शिक्षा त्रिविको मानविकी र शिक्षाशास्त्र हो। विज्ञान, व्यवस्थापनलगायतका संकायमा विषय र कलेज हेरी १० हजारदेखि ५ लाख रुपियाँसम्म खर्च लाग्न सक्दछ।

प्रतिक्रिया दिनुहोस्