राष्ट्रपतिको आग्रहले बम परिवार खुसी



नेपाल समाचारपत्र
काठमाडौं
अदालतबाट मृत्युदण्डको सजाय पाएर हाल संयुक्त अरब इमिरेट्स (यूएई)को जेलमा रहेका नेपाली अमरबहादुर बमको रिहाइका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका उच्च अधिकारीलाई आग्रह गर्नुभएको छ।

वैदेशिक रोजगारका सिलसिलामा यूएई पुगेका दार्चुलाको तत्कालीन धारी गाविसका बम विगत १४ वर्ष अघिदेखि यूएईको जेलमा छन्। सो मुलुक पुगेको ३ दिनपछि भएको एक हत्याकाण्डमा बमसमेत सहयोगी रहेको ठहर गर्दै त्यहाँको अदालतले उनलाई मृत्युदण्डसहितको सजाय सुनाएको थियो।

विभिन्न चरणमा बमको रिहाइका लागि नेपालले पत्राचार गरे पनि सुनुवाइ भएको छैन। यूएई भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका उच्च अधिकारीसँगको भेटवार्तामा बमको रिहाइका लागि आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ४ दिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले मंगलबार र बुधबार त्यहाँका राजकुमार शेख मोहम्मद विन अल जाहेद नाहिद, प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मुक्तुमलगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो। भ्रमण टोलीमा संलग्न आपूर्तिमन्त्री जयन्त चन्दले बम रिहाइबारे राष्ट्रपतिले ध्यानाकषर्ण गराउनुभएको र सोबारे छिट्टै यूएईले सकारात्मक खबर पठाउने बताउनुभयो।

यसैबीच यूएईको ४ दिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी बिहीबार स्वदेश फर्कनुभएको छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका उच्च अधिकारीसँग नेपालको स्वास्थ्य, शिक्षा, व्यापार, पर्यटन, कृषि, वैकल्पिक ऊर्जा, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी भित्त्याउन सकिने सम्भावनाबारे छलफल गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्