एनआरएनए अध्यक्ष भवन भट्ट साढे १३ करोड नबुझाएर बेपत्ता



काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रिया एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । तर, एक साताभित्र बुझाउनुपर्ने बाँकी रकम नबुझाएको भट्ट बेपत्ता भएपछि निगम अन्योलमा परेको छ ।

म्याद गुज्रिसक्दासम्म सम्पर्क पनि नभएपछि निगमका लागि बोइङ–७५७ फेरि टाउको दुखाइको विषय बनेको छ । ३–४ पटकसम्म गरिएको बोलपत्र आह्वानको उपलब्धि अहिले आएर घाममा सुकेको छ । आगामी बोर्ड बैठकबाट उक्त विमानबारे निर्णय लिने तयारी निगमको रहेको स्रोत बताउछ ।

निगमले भट्टलाई १४ लाख ६० हजार अमेरीकी डलर अर्थात् १५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गरेको थियो । त्यसमध्ये डेढ करोड रुपैयाँ बुझाएका छन भने बाँकी १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ ।

सन् १९८७ मा खरिद गरिएको उक्त विमानको मर्मत खर्च बढ्दै जाने र लागतअनुसार नाफा पनि नहुने देखेपछि निगमले बिक्री गर्ने निर्णय लिएको हो । नयाँ इन्जिन फेर्न मात्र एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

उक्त विमान चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । बोइङ ७५७–२०० सिरिजको विमानको दर्ता नम्बर हो, नाइन एन–एसीए । उक्त विमानले हालसम्म ८६ हजार चार सय १० घण्टा उडान भरेको छ ।

प्रतिक्रिया दिनुहोस्