शहीदको नाममा भोट माग्दै मधेसी दल



बीपी साह, जनकपुरधाम
तिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी अभियानमा लागेका मधेसवादी दलहरू आन्दोलनका क्रममा शहीद भएकाहरूलाई भजाएर भोट माग्न थालेका छन्। चुनावी सभा र घरदैलो कार्यक्रममा मधेस आन्दोलनको सम्झना दिलाउँदै मतदाताहरूलाई रिझाउने कोसिस मधेसी दलहरूले गरेका छन्।

मधेसी दलको चुनावी सभाको मञ्चहरूमा मधेस आन्दोलनका शहीदहरूको तस्वीर राखेर सभाकै शुरूमा मौनधारण र त्यसपछि शहीदको फोटोमा माल्यार्पण गर्नु अनिवार्यजस्तो बनेको छ। सभामा मधेसी दलका उम्मेदवार वा नेताले भाषणको शुरूमै मधेस आन्दोलनका शहीदको चर्चा गर्नुका साथै शहीदका कुरा गरेर मतदातालाई भावुक बनाउने प्रयाससमेत गरेका छन्।

कांग्रेस, एमाले, माओवादी नेतृत्वको सरकारले मधेसीहरूको छाती र टाउकोमा ताकेर गोली हान्न लगाएको आरोप लगाउँदै नेताहरूले गैरमधेसी दललाई मतदान नगर्न आग्रहसमेत गर्ने गरेका छन्। बुधबार जनकपुरधामको लोहनामा आयोजित चुनावी सभामा राजपाका नेता राजेन्द्र महतोले भने– ‘मधेसी जनताले मधेसका लागि ज्यान दिन्छन् तर मधेसी दललाई मत दिँदैनन्। अब मधेसीमाथि गोली चलाउनेलाई मधेसीले मत दिनुहुँदैन।’

सभामा महतोले शहीदको नाममा मतदाताहरूलाई सपथसमेत खुवाउन भ्याउनुभएको थियो। महतोले शहीदको नाम बारम्बार लिएर सहभागीलाई भावुक बनाउँदै मत माग्ने प्रयाससमेत गर्नुभएको थियो।

यता राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले पनि महेत्तरीको २ नम्बर दुईबाट उम्मेदवारी दिनुभएको छ। उहाँले आफ्नो पम्प्लेटमा शहीदको फोटो राख्नुभएको छ।

त्यसै गरी बुधबार नै महोत्तरीको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्रको ‘ख’ अन्तर्गत बलबा नगरपालिका २ बर्दियामा राजपाले चुनावीसभाको आयोजना गरेको थियो। उक्त सभालाई पूर्वमन्त्री एवं सो क्षेत्रकी प्रदेशसभाका उम्मेदवार सुरिता साहले सम्बोधन गर्नुभएको थियो।
सभा शुरु हुने बित्तिकै साहले मधेस आन्दोलनका शहीदको चर्चा गर्नुभयो र मधेश आन्दोलनका शहीदको सपना साकार गर्न राजपालाई भोट दिनुपर्ने बताउनुभयो। गैरमधेशवादी दलले मधेसीको हत्या गरेको आरोप लगाउँदै ‘हत्यारा दल’ हरूलाई भोट नदिन आग्रह गर्नुभयो।

रामसागर रामस्वरूप बहुमुखी क्यम्पसका पूर्वप्राध्यापक परमेश्वर कापडीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मधेसी दलको एजेन्डा जनताले बुझेका छन्। त्यसकारण उनीहरू आफ्नो एजेन्डाभन्दा सेन्टिमेन्टको भोट लिन चाहेका छन्। शहीद र आन्दोलनको नाममा सेन्टिमेन्टल भोट नै मधेशवादी दलको मुख्य भोट हो। त्यसकारण उनीहरूले शहीदको चर्चा बढी गर्छन्।’

मधेसका अन्य जिल्लाहरूमा पनि मधेसी दलका उम्मेदवारहरूले पहिले शहीदको कुरा उठाउँदै भोट माग्ने गरेका छन्। राजपाका संयोजक महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भाषणमा मधेस आन्दोलनका शहीदहरूको कुरा गरी मतदातालाई रिझाउने प्रयास गरेका छन्।

मधेसमा सांगठनिक काम गर्न नसकेका मधेसवादी दलले लहर र भावनात्मक मतले चुनाव जित्दै आएको कापडी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्