‘शेरबहादुर देउवा कांग्रेस पार्टीका अन्तिम प्रधानमन्त्री’



काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर १० र २१ गतेको निर्वाचनपछि कांग्रेसले सरकार चलाउने अवसर कहिल्यै नपाउने बताएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस पार्टीबाट अन्तिम प्रधानमन्त्री भएको ओलीको टिप्पणी छ ।

बुधवार गोरखाको पालुङटारमा वामपन्थी गठवन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले ठीकै बुझेको छ, अब कम्युनिस्ट सरकार आइसकेको छ । शेरबहादुर देउवा कांग्रेस पार्टीका अन्तिम प्रधानमन्त्री हुन्, त्यो पनि पुस अन्तिमसम्म ।’

अध्यक्ष ओलीले लोकतन्त्र जोगाउन कांग्रेसको आवश्यकता नरहेको पनि बताए । ‘लोकतन्त्र प्राप्तीका लागि भएका आन्दोलनमा ज्यूँदाहरुसँग लड्ने हामी छौं । लोकतन्त्र मासेर खाँदैनौं,’ ओलीले भने, ‘हिजोका कठिन आन्दोलनमा हाम्रो बयान सुनेर न्यायाधीशहरु यो लेख्न मिल्दैन भन्थे । तर हामीले राजतन्त्रविरुद्ध लड्न छाडेनौं ।’

ओलीले मंसिर १० र २१ गते वामपन्थीको आँधी आउने र त्यसले कांग्रेसको रुखलाई ढाल्ने समेत जिकिर गरे । ‘मंसिर १० र २१ गते वामपन्थी आँधी आउँछ । त्यो तुफानले थोत्रो रुखलाई बढार्नेछ,’ ओलीले भने ।

कांग्रेसको समर्थनमा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईप्रति टिप्पणी गर्दै ओलीले भने, ‘नयाँ शक्तिका अध्यक्षबाहेक सबैलाई मैले एमालेमा समावेश गरिसकेँ । बाँकी कोही छैन । बबुरा अध्यक्ष लिएर कांग्रेसले प्रजातन्त्र जोगाउने रे ! कर्कलोलाई बञ्चरो चलाउन जरुरी छैन ।’

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाली जनतासँग भोट माग्न बाबुराम भट्टराईसँग नैतिक अधिकार नभएको बताए । ‘बाबुराम भट्टराईसँग भोट देउ भन्ने नैतिक आधार छ ? कुन नैनिकताको आधारमा भोट माग्दै हुनुहुन्छ ?’ प्रचण्डले भने, ‘प्रतिक्रियावादीसँग साँठगाठ  गरेर  गोरखालीसँग भोट माग्ने नैतिक आधार कसले दियो ?’

माओवादी अध्यक्ष प्रचण्डले गोरखामा पनि एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीसँग आफ्नो भेटवार्ता निश्चित भइसकेको अवस्थामा उनको हत्या भएको बताए । कम्युनिस्ट आन्दोलनको भविश्यका लागि एउटै कम्युनिस्ट केन्द्र बनाउनु जरुरी रहेको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्