कांग्रेसभित्रको असन्तुष्टि छताछुल्ल, प्रधानमन्त्री देउवाको अपमान



कुमार श्रेष्ठ, बाँके
नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबारदेखि पश्चिम नेपालको चुनावी अभियनमा निस्कनुभएको छ। प्रदेश ५ र ७ मा आयोजना हुने सुरक्षा गोष्ठीलाई सम्बोधन गरेर गृहजिल्लासम्म चुनावी गतिविधिमा संलग्न हुन निस्कनुभएका देउवालाई बाँकेमा भने कांग्रेस कार्यकर्ताले अपमान गरेका छन्।

पार्टी सभापति देउवा नेपालगन्ज विमानस्थलमा झरेपछि जिल्ला सभापति किरण कोइरालालगायत सानो समूह लिन पुगेको थियो। विमानस्थलमा गए पनि कोइराला विशिष्ट कक्षमा देउवालाई भेट्न जानुभएन। ‘देउवाले धेरैपटक बोलाए पनि कोइरालाले भेट्न इन्कार गर्नुभयो’, प्रत्यक्षदर्शीले भने– ‘देउवाको अपमान नै गरियो।’

विमानस्थलबाट आएपछि देउवाले प्रदेश नम्बर ५ र ६ का १६ जिल्लाका सुरक्षा अधिकारी सम्मलित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्नुभयो। लिखित छोटो सम्बोधनपछि होटलमा खाना खान पुग्नुभएका देउवा त्यसपछि पार्टी कार्यालयमा जानुभएको थियो।

पार्टी कार्यालयमा बाँकेका नेताहरू देउवामाथि खनिए। निवर्तमान सांसद अब्दुल हमिद सिद्धिकी (भोला)ले नेपालगन्ज क्षेत्र राप्रपालाई दिएर तत्कालीन पार्टी सभापति स्व. सुशील कोइरालाको नामो निसान मेटाउने काम भएको भन्दै आक्रोस पोख्नुभयो।

उहाँले देउवालाई गुटको पछाडि लागेको आरोपसमेत लगाउनुभयो। ‘प्रजातन्त्रमा फरक विचार राख्नेको सम्मान गर्नुपर्छ, तपाईंले त कोइराला पक्षधरलाई छानीछानी पाखा लगाउनुभयो’, सिद्धिकीले थप्नुभयो– ‘पार्टीमा लागेकोलाई भन्दा आफ्नालाई च्याप्ने अनि प्रजातन्त्र जोगाउनुपर्यो भनेर हुन्छ?’ ‘कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ, अधिनायकवाद आउँछ भनेर भन्नुहुन्छ, चुनावमा टिकट पार्टी सदस्य नभएकालाई, श्रीमान्–श्रीमतीले लिनुहुन्छ।’ –निवर्तमान सांसद सिद्धिकीको आक्रोश थियो।

बाँके क्षेत्र नं. ३ को प्रदेश सभा ‘ख’बाट उम्मेदवारमा सिफारिस भएका हरिभक्त उप्रेतीले पैसाको चलखेल गरेर टिकट दिलाएको भन्दै देउवाकै दायाँछेउमा बसेका केन्द्रीय सदस्य किशोरसिंह राठौरलाई कारबाही गर्न आग्रह गर्नुभयो। ‘राठौरले पैसामा बिकेर अर्को क्षेत्रबाट सिफारिस भएका व्यक्तिलाई टिकट दिलाए’, उप्रेतीले आक्रोश पोख्नुभयो– ‘यस्ता केन्द्रीय सदस्य हामीलाई चाहिँदैन, तत्काल कारबाही गर्नुस्। र, अर्को केन्द्रीय सदस्य पठाइदिनुस्।’

पुराना कार्यकर्ता सोमबहादुर थापाले एउटै व्यक्ति र शक्ति पछाडि लाग्ने व्यक्तिले मात्रै टिकट पाइरहने भए अरू व्यक्तिको पालो मरेपछि आउँछ भनेर आक्रोश पोख्नुभयो। जिल्ला पार्टी सभापति किरण कोइरालाले पनि टिकट वितरणमा एकतर्फी गरिएकामा देउवासमक्ष गुनासो गर्नुभयो। सभापति कोइरालाको नाम समानुपातिकमा पारिए पनि अन्तिममा हटाइएको थियो।

यी नेता तथा कार्यकर्ताको आक्रोश सुनेपछि सभापति देउवाले गल्ती भएको भन्दै माफी माग्नुभयो। ‘टिकट वितरणमा यस्तै भयो, तपाईंहरू चुनावमा लाग्नुस्, प्रजातन्त्रलाई जिताउनु पर्छ।’ –देउवाले भन्नुभयो। देउवाले जिल्ला सभापति कोइरालाको नाम अन्तिममा कसले हटायो आफूलाई थाहा नभएको बताउनुभयो। तीनवटा क्षेत्र रहेको बाँकेमा कांग्रेसमा देखिएको असन्तुष्टिले केही प्रभाव पार्ने संकेत देखिएको छ। तत्कालीन पार्टी सभापति सुशील कोइरालाले चुनाव लड्दै आएको नेपालगन्ज क्षेत्र राप्रपालाई दिनु, क्षेत्र नं. ३ को ‘ख’मा फरक ठाउँबाट सिफारिस भएका व्यक्तिलाई पठाएको भन्दै कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्