संगीतमा त्यो सपना सार्वजनिक



 

रचनाकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक सञ्जीव पराजुलीको त्यो सपना नामक गीति अडियो एल्बम शनिबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि गीतकार दिनेश अधिकारी, चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्य, गायिका टीका प्रसाईं, गीतकार होमनाथ न्यौपाने, उनको मातापिता, संगीतकार दीपक भट्टराई, उनका मातापिता, गायक सञ्जिव पराजुली तथा उनका मातापिताले संयुक्त रुपमा एल्बम विमोचन गरेका थिए। कार्यक्रममा बोल्दै गीतकार अधिकारीले आ–आफ्ना काममा व्यस्त रहँदा पनि गीतसंगीतलाई गरेको माया प्रशंसायोग्य रहेको चर्चा गरे। ‘म धेरै एल्बम विमोचनमा सहभागी भइसकेको छु, त्यसैले पनि भन्न सक्छु कि यिनमा कला नै छ। यिनी आफ्नै कलाले अगाडि जान्छन् भन्नेमा दुई मत छैन’ –गीतकार अधिकारीले भने।

कार्यक्रममा गायक सञ्जिव पराजुलीले आफ्नो अघिल्लो गीत नाई मलाई थाहा छैन मन पराइदिएकोमा धन्यवाद दिँदै यो एल्बम पनि स्रोताले मन पराउने विश्वास व्यक्त गरे।
एलबममा त्यो सपना, पहिलो भेटैमा, हिट हिट गीत, मेरी मायालु तथा वेदनाले बोलका कुल ५ गीत समावेश छन्। पहिलो भेटैमा बोलको गीतमा सञ्जिवलाई गायिका टीका प्रसाईंले साथ दिएकी छिन् भने हिट हिट बोलको गीतमा मिस्टर प्रिन्स र गायिका अनु शाक्यको स्वर रहेको छ।

कार्यक्रममा गायक सञ्जिव पराजुलीले त्यो सपना र मेरी मायालु एकल तथा पहिलो भेटैमा गीतलाई गायिका टीका प्रसाईंसँग लाइभ गाएका थिए। कार्यक्रममा पहिलो भेटैमा बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो भने सोमबार उक्त भिडियो युट्युबमा पनि सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्