उमेर बढे पनि बर्थडे रमाइलो – हरिवंश आचार्य



रश्मी थापा

ख्यातिप्राप्त हाँस्यव्यंग्य अभिनेता हरिवशं आचार्यलाई सोमबारका दिन थप चटारो पर्यो। एक त आफ्नो होम प्रोडक्सन महसञ्चारबाट बनिरहेको फिल्म शत्रु गतेको सुटिङ। अर्को सोमबार नै ६१औं जन्म दिन। सुटिङको व्यस्तता सँगसँगै सोमबार बिहानैदेखि उनी आफ्ना शुभचिन्तक र आफन्तबाट जन्मदिनको शुभकामना लिनमा थप व्यस्त भए।

‘आजको दिन मेरा लागि व्यस्त र विशेष दिन बन्न पुग्यो। मलाई सबैभन्दा पहिले बिहानै मेरी श्रीमतीले ह्याप्पी बर्थडे टु यु भनेर विस गरिन्। मैले थ्याङ्क्यु भनें’, सोमबार नेपाल समाचारपत्रसँग कुरा गर्दै हरिवंशले सुनाए– ‘बिहान ६ बजे नै छोरा मोहित गेटमा आएर मलाई विस गर्र्यो। त्यसपछि विभिन्न साथीभाइ तथा आफन्तले देश विदेशबाट शुभकामना दिनुभयो। फेसबुकबाट मलाई जन्मदिनको शुभकामना पठाउने पनि धेरै हुनुहुन्छ। उमेर बढेको हिसाबले त झन् बुढो भइयो भनेर नरमाइलो लाग्नुपर्ने हो तर यसरी शुभकामना पाउँदा निकै रमाइलो महसुस हुन्छ। झन् बच्चा हुँदै गएको अनुभव हुन्छ ।’

फिल्म शत्रु गतेको निर्माण र छायांकनमा व्यस्त उनले छायांकनस्थलै केक काटेर जन्मदिन मनाए। ‘सानो हुँदा अहिलेको जस्तो केक काट्ने शुभकामना दिने चलन थिएन। आमाबुबाले घरमै पूजा गरिदिने, टीका लगाइदिने गर्नुहुन्थ्यो। तर ठूलो हँुदै गएपछि जन्मदिन मनाउने तरिका पनि फेरिएको छ’, हरिवंशले भने– ‘हरेक वर्ष रेडियो अडियोले हामी हाँस्य कलाकारको जन्मदिन मनाइदिने गरेको छ। यसपालि म सुटिङमा व्यस्त भएकाले यही सुटिङ स्पटमै रेडियो अडियो र साथीहरूसँग रमाइलो गर्दै जन्म दिन मनाएँ।’

हरिवंशले जन्मदिनका अवसरमा उपहार धेरै पाउँदा रहेछन्। ‘मैले बर्थडेमा उपहारहरू पाइरहेकै हुन्छु। यस पटक पनि मलाई श्रीमतीले स्विटर, छोरा मोहितले मोबाइल उपहार दिएका छन् भने वसुन्धरा भुसाल दिदी, किरण केसी दाइले पनि उपहार दिनुभएको छ। तपाईंको नेपाल समाचारपत्रले पनि मेरोबारेमा समाचार लेखिरहेको छ। यति धेरै मिडियाले मेरो बर्थडेको बारेमा समाचार बनाइरहेका छन्। यो नै मेरा लागि सबैभन्दा ठूलो उपहार हो’ –हरिवंशले खुसी प्रकट गर्दै भने।

उनी जन्मिने बेला उनको बुबाको उमेर ७३ वर्षको थियो भने उनले ६ वर्षको उमेर बुबा तथा ११ वर्षको उमेरमा आमा गुमाएका थिए। उनका बुबाले उनलाई आफू जस्तै पण्डित बनेको हेर्न चाहन्थे। त्यस कारण पनि उनको आमाले उनलाई ठमेलको वेदवेदांग विद्यालयमा भर्ना गरिदिएकी थिइन्। तर उनी भने हाँस्यव्यंग्यका क्षेत्रमा कहलिए। हरेक वर्षको जन्मदिन रमाइलो गरेर मनाउने उनी आफ्नो जीवनको जन्मदिनमध्ये एकपटक भने नरमाइलो लागेको सुनाउँछन्। ‘मेरो जीवनमा एक वर्ष नरमाइलो घटना भयो। त्यो वर्षको जन्मदिनमा रमाउन सकिनँ। तर अरु सबै बेला म आफ्नो जन्म दिनमा खुसी नै हुन्छु। मैले जन्मदिनलाई नै कुरेर कुनै पनि योजना बनाउने गरेको छैन’, हरिवंश भन्छन्– ‘किनभने कुनै पनि काम गर्न जन्म दिन नै कुर्नुपर्छ भन्ने छैन। सधैं आफ्नो काम गरिरहेको हुन्छु र आफ्नो काममा मेहनत गरि नै रहेको हुन्छु।’ पत्नी मीरा आचार्यको हृदय रोगका कारण निधन भएपछि उनले आफन्त र शुभेच्छुकको सल्लाहमा रमीला आचार्यसँग दोस्रो विवाह गरेका थिए।
आत्मकथा चिना हराएको मान्छे र सामाजिक कृति हरिबहादुरबाट लेखक बनेका उनले २०५३ सालमा तेस्रो एसएलसी उत्तीर्ण गरेपछि शुरूमा रत्नराज्य स्कुलमा लेखापालको जागिर खाएका थिए। त्यस बेला उनको तलब १ सय ३५ रुपियाँ थियो।

प्रतिक्रिया दिनुहोस्