फोरम नेपालको घोषणापत्र सार्वजनिक, संविधान संशोधन मुख्य चुनावी एजेण्डा



  • तेस्रो गठबन्धन बनाउने तयारी
  • वामप्रति आक्रामक, लोकतान्त्रिक गठबन्धनप्रति

नरमबीपी साह, काठमाडौं

प्रतिनिधि र प्रदेशसभाका निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सार्वजनिक गरेको घोषणापत्र वाम गठबन्धनप्रति आक्रामक बनेको छ। नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन संविधान संशोधनको पक्षमा रहेकाले कांग्रेसप्रति फोरम नरम देखिएको छ। तर नयाँशक्तिसहितका दलहरू मिलेर तेस्रो गठबन्धन बनाउनुपर्ने पक्षमा फोरमको घोषणापत्र देखिएको छ।

दुवै ठूला पार्टीलाई यथास्थितिवादीको संज्ञा दिइएको छ। कांग्रेस सैद्धान्तिक रूपमा लोकतान्त्रिक समाजवादी भए पनि राजनीतिक रूपमा यथास्थितिवादी रहेको घोषणापत्रमा उल्लेख गरिएको छ। एमाले नाममा कम्युनिस्ट भए पनि राजनीतिक रूपमा यथास्थितिवादी नै रहेको उल्लेख गरिएको छ। यी दुवै पार्टीका कारण अग्रगामी संविधान बन्न नसकेको आरोपसमेत लगाइएको छ।

संविधान संशोधनको मुद्दामा कांग्रेस सकारात्मक रहेकाले मुलुकलाई निकास दिने पक्षमा एमालेभन्दा कांग्रेसको विचार प्रगतिशील रहेको भन्दै प्रशंसासमेत गरिएको छ। माओवादी केन्द्र प्रगतिशील पार्टी भए पनि हाल आएर एमालेको सहयोगी पार्टी भएको भन्दै आलोचना गरिएको छ।राजपासँग दुई नम्बर प्रदेशमा सहकार्य भएको भन्दै दुई नम्बर प्रदेशमा राजपा र फोरमको सरकार बन्ने दाबीसमेत गरिएको छ।

केही स्थानमा नयाँ शक्तिसँग तालमेल भएको भन्दै उनीहरूसँग मिलेर राष्ट्रिय स्तरको संघीयता पक्षधर तेस्रो धारको गठबन्धन निर्माणको तयारी गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

संविधान संशोधनको विषयलाई फोरमले मुख्य चुनावी एजेन्डा बनाउँदै विभिन्न बुँदाहरूमा संशोधनको माग गरेको छ। विभिन्न पार्टीहरूले संविधानलाई उत्कृष्ट संविधान भनेकोप्रति फोरमले आलोचना गरेको छ।सीमा हेरफेरका विषयमा संविधानको धारा २७४ ले लगाएको बन्देजको विरोध गर्दै समावेशी समूहमा १७ वटा समूह बनाएर समावेशी सिद्धान्तलाई विकृत गरेको आरोप लगाइएको छ।
समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने प्रतिशत ६० बाट ४० मा झारेको भन्दै त्यसको विरोध गरिएको छ। फोरमले मधेस र थरुहट प्रदेशसहित ११ प्रदेशको अवधारणासमेत राखेको छ।
यता नेपालमा विवादित बन्दै आएको ‘राष्ट्र–राज्य’ र ‘राज्य राष्ट्र’का विषयमा फोरमले आफू बहुराष्ट्रिय राज्यको पक्षमा रहेको वकालत गरेको छ। मधेसवादी दलले बहुराष्ट्रिय राज्यका कुरा उठाउँदा मुलुक विभाजन हुन सक्ने शंकालु दृष्टिकोणले हेरिने गरेको घोषणापत्रमा उल्लेख छ।

चुनावी घोषणापत्रमा बहुराष्ट्रिय राज्यको पक्षमा आफ्नो दल रहेको उल्लेख गरेको छ। फोरमको घोषणापत्रमा भनिएको छ– ‘हाम्रो पार्टी बहुराष्ट्रिय राज्यको पक्षमा रहेको छ भने यथास्थितिवादी दलहरू एकल जातीय राज्यले अपनाउने राज्यको पक्षमा रहेका छन्।’नेपाली राजनीतिक दलहरूले राष्ट्रियताको परिभाषा नै गलत ढंगले गर्दै आएको घोषणापत्रमा आरोप लगाइएको छ। बहुलतायुक्त राष्ट्रवादको विकास गर्नेसमेत उल्लेख गरिएको छ। फोरमले बहुभाषिक नीतिलाई अगाडि सारेको छ। नेपाली भाषाको नाममा पर्वतीय–गोर्खा भाषा लाद्न खोजेको भन्दै विरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्