वैदेशिक रोजगारीमा २६ करोड ठगी



 

रोविन पौडेल, काठमाडौं

वैदेशिक रोजगारीमा जाने नेपाली ठगिने क्रम बढेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकले करोडौंको ठगी हुने गरेको देखाएको छ।

विभागको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकअनुसार यस अवधिमा २६ करोड रुपियाँभन्दा बढी ठगी भएको देखाएको छ। यस अवधिमा व्यक्तिगत र संस्थागत रूपमा ५ सय ५० ठगीको उजुरी विभागमा परेका छन्। उक्त उजुरीबाट २६ करोड २० लाख ९० हजार १ सय ८२ रुपियाँको बिगो रकम दाबी गरिएको छ। चालू आवको असोजमा मात्रै १ सय ३२ वटा उजुरी विभागमा परेका छन्। त्यसबाट ७ करोड ९७ लाख ६२ हजार ८ सय ४५ रुपियाँको ठगी भएको दाबी गरिएको छ।

व्यक्तिगततर्फ ठगीको उजुरीतर्फ साउनमा १ सय १८, भदौमा ९० र असोजमा ६३ वटा उजुरी परेका छन्। त्यस्तै संथागततर्फ क्रमशः १ सय १२, ९८ र ६३ रहेको छ। वैदेशिक रोजगार कम्पनी, एजेन्ट, कन्सल्टेन्सीलगायतका माध्यमबाट ठगी हुने गरेको विभागले जनाएको छ। यस अवधिमा परेका व्यक्तिगत उजुरी २ सय ७७ र संस्थागत उजुरीको संख्या २ सय ७३ रहेको छ।

वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार संस्थागतरूपमा आएको उजुरीमा कम्पनीले कामदारलाई भनेको काम तलब तथा सुविधा नदिएको, सम्झौता भन्दा अर्कै कम्पनीमा पठाएको तथा अलपत्र पार्ने गरेको प्रवृत्तिका उजुरी छ।

विभागका अनुसार संस्थागत ठगीको तुलनामा व्यक्तिगत रूपमा हुने ठगी साढे दुई गुणा बढी छ। पहिलो तीन महिनामा व्यक्तिगतरूपमा १८ करोड ५४ लाख ३२ हजार ७ सय ९१ रुपियाँ ठगी भएकोमा संस्थागत रूपमा ठगीविरुद्ध ७ करोड ६६ लाख ५७ हजार ३ सय ९१ रुपियाँ आर्थिक नोक्सानी भएको दाबी गरिएको छ।

व्यक्तिगततर्फ भने अमेरिका क्यानाडा लगिदिन्छु भन्दै १५–२० लाख रुपियाँ असुल्ने घटना विभागमा आउने गरेका छन्। तीमध्ये अधिकांशलाई अदालतमा मुद्दा चलाइएको उहाँको दाबी छ। ‘सरकरले तोकको रकमभन्दा म्यानपावर कम्पनीलाई बढी तिर्ने तथा भने अनुसारको काम नपाइएको भन्ने खालका उजुरी पनि उत्तिकै छन्।’ अधिकारीले भन्नुभयो।

दर्ता भएका ५ सय ५० उजुरीमध्ये ३ सय ५ उजुरीको फरफारक भएको विभागले जनाएको छ। छिनोफानो हुनेमा व्यक्तिगततर्फ ६५ र संस्थागततर्फ २ सय ४० रहेका छन्। त्यस्तै संस्थागततर्फ आर्थिक नोक्सानीको मुद्दाबाट ४१ लाख रुपियाँ जरिवाना गर्ने निर्णय विभागले गरेको छ।

प्रतिक्रिया दिनुहोस्