भागबण्डा मिलाउन एआइजीको दरबन्दी थप !



काठमाडौं ।  नेपाल प्रहरीमा एआईजीको संख्या १६  पुग्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भागबन्डा मिलाउन एआईजीको संख्या थप गरेको हो । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले नेपाल प्रहरीमा थप दुई एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

यसअघि गृहमन्त्री जनार्दन शर्माको पालामा ११ एआईजीको दरबन्दी कायम गरेर बढुवा गरिएको थियो भने त्यसलगत्तै सुटुक्क २ एआइजीको दरबन्दी थप गरिएको थियो । त्यसबेला थपिएको दरबन्दीमा बढुवा गर्न शक्तिकेन्द्रको भागबण्डा नमिलेपछि दुई जना एआईजीको दरबन्दी भने रिक्त थियो। हाल कार्यरत ११ एआइजी, बिचमा थपिएको दुई रिक्त पद र सोमबार थपिएको दरबन्दी सहित प्रशासनतर्फका एआइजीको संख्या १५ र प्राविधिक समुहका एक एआइजी समेत गर्दा नेपाल प्रहरीमा एआइजीहरुको संख्या १६ पुग्ने भएको छ।

उच्च स्रोतका अनुसार रिक्त चार  एआईजी पदमा बढुवा गर्नको लागि गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले बढुवा सिफारिसको तयारी थालेको छ। डीआईजीहरु  मधुप्रसाद पुडासैनी, हेमन्तबहादुर पाल, पंकज श्रेष्ठ र माधवप्रसाद नेपालको बढुवा गर्नको लागि आइजीपी प्रकाश अर्याल, प्रधानमन्त्री शेरबहादुर देउवा र गृहसचिव मोहनकृष्ण सापकोटाबीच गोप्य सहमती भईसकेको स्रोतको दावी छ। अघिल्लो बढुवामा छुटेका गोविन्द निरौला र सुदिप आचार्य यसपटको बढुवामा छुट्ने पक्कापक्की देखिएको उच्चस्रोतको दावी छ।

प्रतिक्रिया दिनुहोस्