चुनाव बिथोल्न सक्रिय बन्दै विप्लव,नगरप्रमुखको घर–जग्गा विप्लव समुहको कब्जामा



रामधन राई, खोटाङ ।
खोटाङस्थित हलेसी–तुवाचुङ नगरपालिकाका नगरप्रमुख इबन राईको घर–जग्गा तथा सम्पत्ति नेपाल कम्यूनिष्ट पार्टीले नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

गुण्डा र पैसाको बलमा चुनाव जितेर देश लुट्न लागी परेका नगरप्रमुख राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको भन्दै शनिबार राती बिज्ञप्ति टाँसेर नेपाल कम्यूनिष्ट पार्टीले उक्त घोषणा गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका नगरप्रमुख राईको घर, जग्गा तथा सम्पत्ति जनताले उपभोग गर्ने कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ । आइृतबार बिहान मात्रै आफ्नो घरको आँगनमा पार्टीको झन्डा गाडेको र घरको भित्तामा गोबरले विज्ञप्ति टाँसेको देखेको नगरप्रमुख राईको भनाई छ । राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफुहरुलाई बिनियोजन गर्न उक्त पार्टीले माग गर्दै आएको थियो ।

आफ्नो पार्टीको छुट्टै समानान्तर सरकार भएको भन्दै नगरसभा अघि पटक–पटक नगरपालिकाको आधा कार्यक्रम सञ्चालन गर्नका लागि नगरको आधा बजेट माग गरेको नगरप्रमुख राईले बताउनुभयो । नगरप्रमुख ईबन राईलाई आसन्न निर्बाचन प्रचार–प्रसारमा नहिँड्न समेत सो पार्टीले चेतावनी दिँदै आएको बताईएको छ । ‘चुनाब प्रचारप्रसारमा नहिँड्नु भनेर मलाई थ्रेट दिएका थिए’, राईले भन्नुभयो–‘मलाई मात्र किन पटक–पटक थ्रेट दिईरहेका छन्, मलाई थाहा छैन ।’

नगरप्रमुख राई प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुख (सिडिओ) लाई जानकारी गराएर निर्वाचन प्रचार प्रसारमा हिँडेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्