टेलिकमद्वारा थप १० स्थानमा सेवा



 

काठमाडौं, (नेस)
नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याटमार्फत् दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानमा अविलम्ब सेवा सञ्चालन गर्न सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले ती स्थानमा केही हप्ता अघिदेखि सेवा सञ्चालनमा ल्याउन शुरू गरेको थियो।

तीमध्ये हुम्ला जिल्लाको चङखेली गाउँपालिकामा कात्तिक २६ गतेदेखि सेवा सञ्चालनमा ल्याएपश्चात् १० वटै स्थानमा सेवा उपलब्ध भएको छ।

हालै सेवा सञ्चालनमा ल्याइएका स्थानमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपि हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कङ्कासुन्दरी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन्। नेपाल टेलिकमले दुर्गम हिमाली जिल्लामा सेवा उपलब्ध गराउनका लागि एनटीस्याट प्रविधिको प्रयोग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्