राजावादी पनि गठबन्धनमा



 

नेपाल समाचारपत्र
काठमाडौं
वाम गठबन्धनसँगै विभिन्न दिशामा छरिएका राजावादीहरू पनि राजसंस्था पुनःस्थापनाका लागि भन्दै संयुक्त मोर्चा बनाउनेतिर लागेको पाइएको छ।

नेकपा (एमाले) र माओवादी केन्द्रको वाम गठबन्धनले राजनीतिक धुव्रीकरणलाई गति दिएसँगै राजवादीहरू पनि आफ्नो शक्ति मजबुत पार्न संयुक्त मोर्चा बनाउनेतर्फ सक्रिय भएका हुन्। यसै क्रममा राष्ट्रवादी तथा राजावादीहरूको आइतबार भएको भेला र छलफल सोही सक्रियताको उपज रहेको राजावादीहरू बताउँछन्।

राजसंस्था पुनःस्थापना संघर्ष समितिको पहलमा ललितपुरमा भएको भेलामा कमल थापाको राप्रपा नेपाल, प्रकाशचन्द्र लोहनीको राष्ट्रवादी पार्टीलगायत विभिन्न पार्टी र संस्थामा आबद्ध राजावादीहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार भेलामा राष्ट्रवादी नागरिक समूह, राष्ट्रिय एकता प्रजातान्त्रिक पार्टी, मातृभूमि संरक्षण नेपाल, स्वतन्त्र राष्ट्रवादी समूहलगायत एक दर्जनभन्दा बढी संस्था, पार्टीका प्रतिनिधिहरू उपस्थिति रहेका थिए।

‘मुलुकमा कम्युनिस्ट शासन ल्याउन जसरी वामपन्थीहरू एक ढिक्का भए, त्यसरी नै राजासहितको लोकतन्त्रका लागि राजवादीहरूको सहकार्य, कार्यगत एकता आवश्यक रहेको छ’ –संयोजक विश्वन्तर शाक्यले कार्यगत एकताको आह्वान गर्दै भेलामा भन्नुभयो।

सो अवसरमा राष्ट्रिक एकता प्रजातान्त्रिक पार्टीका अध्यक्ष शरदचन्द्र दाहाल, विश्वहिन्दु महासंघका सहकोषाध्यक्ष राधेश्याम थापालगायतले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताका लागि राजसंस्थाको विकल्प छैन भन्ने कुरा एक दशकको मुलुकको अवस्थाले पुष्टि गरिसकेको भन्दै देशलाई बचाउन अब राजसंस्था पुनःस्थापनाबाहेक अरू विकल्प नभएकोमा केन्द्रित गर्दै आ–आफ्नो धारणा राख्नुभयो।

उनीहरूले आफ्नो व्यक्तिगत अहं, संकीर्णतालाई त्यागेर देश जनताको हितका लागि राजसंस्था पुनःस्थापनाको खातिर सबै एकजुट हुन बेला आएको बताएका थिए।

‘स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले बाँडेका सपना छ महिना नबित्दै जनतामा निराशा छाएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले पनि जनताको वास्तविक समस्या सम्बोधन नहुने संकेत देखा परेको छ’, समितिका संयोजक शाक्यले भन्नुभयो– ‘अहिलेको अवस्था राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने उचित समय हो।’
‘नेतृत्व नभए जस्तो देखिएको छ। त्यसैले अब समय आयो जस्तो लाग्दछ– जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु भन्ने पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो अभिव्यक्तिसँगै हौसिएका राजावादीहरू केही सातायताको विभिन्न गतिविधिसँगै संयुक्त मोचा बनाउनतर्फ केन्द्रित भएका थिए। यसै क्रममा बिहीबार ललितपुर राष्ट्रवादी समूह, शुक्रबार भक्तपुरमा मातृभूमि संरक्षण नेपालले दीप प्रज्वलनसँगै र्याली निकालेको थियो।
पछिल्लो पटकको राजावादीको सक्रियता गणतन्त्र, संघीयता र अधिकार धेरै भएको स्थानीय तहको नाराले कष्टकर हुँदै जनताको दैनिकीलाई माथि उकास्न सिन्कोसमेत भाँच्न नसकेको प्रमुख राजनीतिक दलका नेताहरूको कमजोरीका परिणतका रूपमा सर्वसाधारणले लिएका छन्।

प्रतिक्रिया दिनुहोस्