हरिरीको राजीनामाले संकटमा फसेको मध्यपूर्व



 

बेरुत, (एजेन्सी)
लेबनानका प्रधानमन्त्री साद हरिरीले राजीनामा दिएपछि मध्यपूर्व क्षेत्र एक ठूलो संकटतर्फ बढिरहेको संकेत दिएको छ।

इस्लामिक स्टेट बिस्तारै बिस्तारै समाप्त हुने सम्भावना बढ्दै गएपछि साउदी अरेबिया र इरान युद्धको भाषा बोलिरहेका छन्। यही संकटले मध्यपूर्व क्षेत्रलाई घेर्ने सम्भावना बढिरहेको छ। साउदी अरेबिया र इरानबीचको संघर्षमा लेबनान केन्द्रविन्दु बनेको छ।
केही दिनअगाडि मात्रै हरिरीले साउदी अरेबियाको यात्राका क्रममा अप्रत्यासित रूपमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामाको असर पूरै क्षेत्रमा देखिरहेको छ। लेबनानका धेरैजसो नागरिक हरिरीले साउदी अरेबियाको दबाबमा आएर राजीनामा दिएको विश्वास गर्छन्। त्यसैले उनीहरू साउदी अरेबियासमक्ष हरिरीलाई फिर्ता गर्न माग गरिरहेका छन्।

हरिरी कहिलेसम्ममा लेबनान फर्कने हुन् भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन। यद्यपि लेबनानी राष्ट्रपति मिसेल आउन र अन्य वरिष्ठ राजनेताहरूले पनि उनलाई फिर्ता आउन अपिल गरेका छन्। लेबनान नागरिकहरू हरिरीलाई साउदी अरेबियामा नजरबन्दमा राखिएको हुन सक्ने र उनलाई जबरजस्ती राजीनामा दिलाएको आशंका व्यक्त गरिरहेका छन्।

राष्ट्रपति आउनले पनि अहिलेसम्म हरिरीको राजीनामा स्विकार गरेका छैनन्। हरिरीले टेलिभिजनमार्फत् आफ्नो राजीनामा घोषणा गरेपछि सार्वजनिक रूपमा अहिलेसम्म केही बोलेका छैनन्। यो घटनालाई सुन्नी नेतृत्व गरिरहेको साउदी अरेबिया र सिया प्रभुत्व रहेको इरानबीच जारी संघर्षका रूपमा लिइएको छ।

लेबनानमा शक्तिशाली हिज्बुल्ला सिया आन्दोलनलाई इरानको समर्थन प्राप्त छ। उसले लेबनान र त्यस क्षेत्रमा तनाव बढाउनका लागि साउदी अरेबियालाई जिम्मेवार ठहर्याएको छ। लेबनानका पूर्वप्रधानमन्त्री र हरिरीका पिता रिफक अल हरिरीको हत्या सन् २००५ मा एक कार बम विस्फोटमा भएको थियो। उक्त विस्फोटका लागि हिज्बुल्लालाई जिम्मेवार ठहर्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्